भालेपोथी (स्त्री–पुरुष) बीच संसर्ग भई निश्चित महिनामा कुनै पनि प्राणीले जन्म लिन्छ । सानो हुँदा उसलाई आमाबुबाको माया र साथको आवश्यक पर्छ । आफैँ खानेकुरा खोजेर खान सक्ने वा जीवन चलाउनसक्ने भएपछि गुँड (बास) छाडेर आफ्नो बाटो लाग्छ । मानिसबाहेकका पशुपक्षीमा यो क्रम चलिरहन्छ ।
मानिसमा यो लागु हुँदैन । स्त्रीपुरुषबीच संसर्ग भई नौ महिनामा शिशु जन्मिन्छ । जन्मसँगै आमाको मायासँगै बुबाको छत्रछायाको आवश्यकता हुन्छ । उसको हुर्काइमा परिवारका अन्य सदस्यको पनि भूमिका हुन्छ । उसलाई हजुरबुबा–हजुरआमा काका–काकी दाजु–दिदी लगायतको साथ र माया पनि आवश्यक पर्छ । यसबाहेक पनि फुपु मामालगायतका नातासम्बन्ध पनि महत्वपूर्ण हुन्छ । सबैको माया र साथ पाएर ऊ विस्तारै हुर्किन्छ । बढ्छ । उमेर भएपछि विवाह हुन्छ । नयाँ नाता जोडिन्छ पतिपत्नीको । सनातन वैदिक धर्मले विवाहलाई स्त्री–पुरुषबीच मन–हाड– मासु–रगत एक हुने प्रक्रिया भनेको छ ।
पहिलेपहिले विवाह गर्दा १० पुस्ता हेर्नुपर्छ भन्ने मान्यता थियो । रक्तदेखि चरित्रसम्म सबै पक्षबाट शुद्धताको खोजी गरिन्थ्यो । अहिले पनि तीन पुस्ताको नाम त विवाहको संकल्पमै आउँछ, ‘फलानोको पनाति (पनातिनी), फलानोको नाति (नातिनी) र फलानोको छोरा (छोरी) फलानो र फलानोबीच विवाह संस्कार भयो ।’ विवाह संस्कारपछि फेरि चल्छ, सृष्टि प्रक्रिया । यसरी विवाह सम्पन्न भएपछि धर्मपूर्वक गृहस्थ जीवन अघि बढाउँदै सन्तान प्राप्त गर्ने र उनीहरूलाई उचित संस्कारले युक्त बनाउने निर्देश छ । सानातन शास्त्रले सन्तान (छोराछोरी) लाई आफ्नै (बाबुआमाकै) स्वरूप मानेको छ ।
सनातन समाजमा पारिवारिक नाता सम्बन्धको ठूलो अर्थ र महत्त्व छ । वेदादि शास्त्रले पनि पारिवारिक नातासम्बन्धको ठूलो महिमा गाएका छन् । आफूलाई जन्म दिने र हुर्किने वा बढ्ने क्रममा विभिन्न भूमिका खेल्ने नातासम्बन्धका सदस्यहरूप्रति सधैँ अनुगृहीत रहने र उनीहरूप्रति सबै कर्तव्य पूरा गर्न निर्देश गरिएको छ । वैदिक धर्मअनुसार कुनै पनि व्यक्तिले आफ्नो पितृ र मातृकुलप्रति गर्नुपर्ने धेरै कर्तव्य हुन्छन् । यसमा पनि सबैभन्दा महत्वपूर्ण मानिन्छ, मातापिता र सन्तानबीचको नाता । सन्तानलाई जन्माउन हुर्काउन गरेको दुःखको सम्मान गर्दै उहाँहरूलाई हरतरहले सम्मान गर्नुपर्ने खुशी राख्नुपर्ने बताइन्छ । पितृदेवो भव, मातृदेवो भव जस्ता वचन यसैको उदाहरण हो ।
सन्तानलाई संस्कार
आफ्नो कुलमा जन्मिएको सन्तानलाई मातापिताले बास–गाँस–कपासका साथै र मायाको छहारी दिनुपर्छ नै, उनीहरूलाई स्वस्थ बनाउन र उचित शिक्षाको व्यवस्था मिलाइदिएर योग्य बनाउन प्रयासरत रहनुपर्छ । यी सबै भईकन संस्कार पाएन भने मानिसको जीवन नै निरर्थक हुन्छ । त्यसैले वैदिक धर्ममा विभिन्न प्रकारका संस्कारको व्यवस्था गरिएको छ । नामकरण, अन्नप्रासन, कर्णवेध, व्रतबन्ध र विवाह जस्ता संस्कार मातापिताले नै गरिदिने विधान छ । यसरी पितामाताबाट नै पाएर नै कुनै पनि व्यक्ति संस्कारयुक्त बन्छ । कर्तव्य–अकर्तव्य छुट्याउन सक्ने बन्छ । धर्मपूर्वक जीवनयापन गर्नसक्ने हुन्छ । कुनै पनि व्यक्तिले गरेका कर्तव्यको शिक्षा तलको पुस्ताले पनि लिइरहेको हुन्छ । त्यसैले पितामाताले सन्तानप्रति गर्नुपर्ने र सन्तानले पितामाताप्रति गर्नुपर्ने कर्तव्यपालनामा कहिल्यै चुक्न नहुने निर्देश छ ।
हामी यो लोकमा मात्र होइन परलोकमा पनि विश्वास गर्छौँ । दिवंगत भइसकेका परिवारका सदस्यको नाममा श्रद्धा अर्पण गर्छौँ । विशेषगरी बुबाआमा दिवंगत भएको तिथिमा श्राद्ध गर्छौँ । वर्षको एकपटक पितृपक्ष (आश्विन कृष्ण) मा तीनपुस्ताको सम्झना गछौँ (घरतर्फ र मावलीतर्फको ) । यसको अर्थ हामीले जीवित हुँदा मात्र होइन, मृत्युपछि पनि हाम्रा पुर्खाप्रति अनुगृहित भइरहनुपर्छ ।
चाडपर्वले सम्झाउने नाता
हाम्रा कतिपय पर्व परिवारका वा नातासम्बन्धको महत्त्व दर्शाउन र त्यसलाई नवीकरण गराउनकै लागि मनाइन्छ । वैशाख कृष्ण औँसीमा आमाको र भाद्र कृष्ण औँसीमा बुबाको सत्कार गर्ने, उहाँहरूको मुख हेर्ने लौकिक परम्परा छ । यसले आमाबुबा जीवित हुँदा नै उहाँहरूप्रति गर्नुपर्ने कर्तव्य बोध गराउँछ । बडादशैँमा घरका ज्येष्ठ सदस्य (क्रमशः हजुरबा, हजुरआमा, बुबा–आमा) को हातबाट टीका लगाइन्छ । उहाँहरूबाट आशीर्वाद ग्रहण गरिन्छ । त्यसपछि अन्य सम्बन्धका नातागोताकहाँ टीका लगाउने चलन छ ।
विवाह गरेर टाढा पुगेका दिदीबहिनीलाई माइतीले तीजका लागि अनिवार्य बोलाउने (पहिले त लिन जाने चलन थियो । सम्भव भएसम्म दाजुभाइको साथ लागेर जाने चलन थियो) यस्तै भाइटीका (भ्रातृ द्वितीया)का लागि दिदीबहिनीले दाजुभाइलाई निम्तो गर्छन् । यससँगै दाजुभाइले दिदीबहिनीको घरमा पुगेर उनीहरूको सत्कार ग्रहण गर्ने चलन छ । तीज र स्वस्थानी व्रतजस्ता पर्व पतिपत्नीको सम्बन्धलाई मजबुत बनाउने पर्व हुन् । हरेक व्रत तथा अनुष्ठानमा पारिवारिक सुखशान्तिको कामना गरिन्छ । पारिवारिक सदस्यको निरोगिता सफलता र दीर्घायुका लागि देवता–पितृसँग आग्रह गरिन्छ ।
नाता–सम्बन्धको महत्त्व
प्रत्येक नातासम्बन्धको आफ्नै महत्त्व हुन्छ । प्रत्येक नातासम्बन्धमा एकले अर्कालाई गर्नुपर्ने व्यवहार फरक–फरक हुन्छ । उदाहरणका लागि बुबाले छोरालाई गर्ने र बुहारीलाई गर्ने व्यवहार फरक हुन्छ । दाजुले बहिनीलाई गर्ने व्यवहार र बहिनीज्वाइँलाई गर्ने व्यवहार एकै हुँदैन । जेठाज्युले बुहारीलाई गर्ने र देवरले भाउजुलाई गर्ने व्यवहारमा भिन्नता हुन्छ । यी प्रत्येक नाताको आ–आफ्नै गरिमा हुन्छ । आधुनिकता वा पश्चिमा संस्कृतिको प्रभावमा अचेल यी नातासम्बन्धबीचको महत्त्व धुमिल हुँदै गएको देखिन्छ ।
कतिपयले रगतको नाताभन्दा भावनाको नाता ठूलो हुन्छ भनेर प्रचार गरेको पनि पाइन्छ । कुनै व्यक्तिलाई परेको विशेष घटनाकै आधारमा पारिवारिक नातासम्बन्धको मूल्याङ्कन हुँदैन । अचेल हाम्रो मूल्य र मान्यताविपरीत पारिवारिक नाता सम्बन्धमा विचलन आउन थालेको छ । ‘विवाह (संस्कार) को औचित्य छैन’ भन्दै ‘लिभिङ टुगेदर’, ‘अडप्ट बेबी’ जस्ता विषयलाई प्रोत्साहन गरिरहेका छन् । आफू सक्षम छँदाछँदै पनि यस्ता संस्कार संस्कृतिप्रति अनास्था हुनु सनातन समाजको मूल्यमान्यता विपरीत हो ।
पूर्वीय समाजमा यस किसिमको परिकल्पना छैन । एउटा बुझ्नैपर्ने कुरा के हो भने विवाह संस्कार स्त्रीपुरुषको शारीरिक आवश्यकता पूरा गर्ने प्रक्रिया मात्र होइन । यसले धर्मसंस्कृतिको पालनाका साथै सामाजिक सुव्यवस्थामा समेत भूमिका खेलेको हुन्छ । पारिवारिक सम्बन्धप्रतिको अनास्था र क्रृत्रिम पद्धतिको चाहना वा प्रयोगले समाजलाई अस्थिर बनाउँछ । त्यसैले प्रत्येक व्यक्तिले हाम्रो धर्मसंस्कृति, संस्कार, पारिवारिक मूल्यमान्यता र आफ्नो कर्तव्यलाई बुझेर अघि बढ्नु पर्छ ।
केही नबुझ्ने पशुपक्षीले त आफ्नो वंश फैलाउनका लागि ऋतुकालमा संसर्ग गरी सन्तान उत्पादन गरिरहेका हुन्छन् भने मानिस त सृष्टिकै उत्तम र विवेकशील प्राणी, आफ्नो वंश अविरल फैलाउने इच्छा नहुने कमै होलान् । यसका लागि नातासम्बन्धको महत्त्व बुझेर विधिपूर्वक संस्कार सम्पन्न गरी सन्तान जन्माउने र तिनलाई संस्कारयुक्त बनाउनेमा प्रयत्नरत हुनुपर्छ । बढ्दो आधुनिकताले धुमिल बनाउँदै गरेको नातासम्बन्धको महत्त्वलाई पुनर्जीवन दिनुपर्छ ।
लेखक समाज र संस्कृतिबारे अध्ययनमा रुचि राख्छन् ।