नेभिगेशन
दृष्टिकोण

विषाक्त मदिराको मार

कुवेतमा केही दिनअघि विषाक्त मदिरा सेवनका कारण १६ नेपालीको मृत्यु भएको खबरले सबैलाई दुःखी बनाएको छ । कुवेतस्थित नेपाली दूतावासले उक्त दुःखद घटनामा ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएको जनाएको छ ।

समाचारमाअनुसार कुवेतमा अवैधरूपमा उत्पादित घरेलु मदिरा सेवन गर्दा ती नेपालीहरूको मृत्यु भएको बताइएको छ । त्यस्ता मदिरामा प्रायः मेथानोल नामक विषादीयुक्त रसायनको प्रयोग हुन्छ । मेथानोलको उपयोग इन्धन, रंग, रसायन वा कडा फोहोर सफा गर्ने पदार्थ हो । तर सस्तो र सजिलो तरिकाले रक्सी बनाउन यसको प्रयोग गरिँदा मान्छेले अनाहकमा ज्यान गुमाउन बाध्य हुनु परिरहेको छ । मेथानोलयुक्त मदिरा सेवन गर्दा शरीरमा गम्भीर प्रतिक्रिया हुन्छ, जसले आँखाको दृष्टि गुम्ने, मस्तिष्कले काम गर्न नसक्ने, कलेजो र मृर्गौलाले काम गर्न नसक्ने र अन्ततः मृत्यु हुने सम्भावना उच्च हुन्छ ।

कुवेतमा मदिरा सेवन प्रतिबन्धित छ र यसको उल्लंघन गर्नेले कडा सजायको भागीदार हुनुपर्छ । तर, प्रवासी नेपाली लगायतले अवैधरूपमा घरेलु मदिरा बनाउने र सेवन गर्ने गर्दा ज्यान जोखिममा पर्ने गरेको छ । विषादीयुक्त मदिरा प्रयोगको मुख्य कारण हो, सस्तो, सजिलो र लुकाउन सकिने उत्पादन । विशेषतः कुवेतमा मदिरा खरिद–बिक्री गैरकानूनी भएकाले पनि त्यहाँ मानिसहरू घरेलुरूपमा यस्तो रक्सी उत्पादन गर्ने गर्दछन् । यस समस्याको समाधान सहज नहोला, तर यसलाई त्यत्तिकै छोड्न पनि मिल्दैन । एउटा त श्रमिक समुदायमा व्यापक सचेतना अभियान चलाउनु नै उपयुक्त हुन्छ ।

त्यो कामलाई प्रविधिको उपयोगले सहज बनाउने हुँदा, चाँडै गर्न सकिने त्यो काममा कुनै विलम्ब गर्नु मनासिव हुँदैन । त्यसबाहेक राजदूतावासले प्रवासी नेपालीहरूलाई सुरक्षित रहन प्रोत्साहित गर्नु उसको दायित्व पनि हो । प्रवासमा रहेको श्रमिकहरूका सामाजिक वृत्तलाई क्रियाशील बनाई मदिरा सेवनजस्ता जोखिमपूर्ण व्यवहारबाट सुरक्षित रहन प्रोत्साहित गर्नुपर्दछ ।

विषादीयुक्त मदिरा सेवनले पार्ने प्रभाव एक व्यक्तिमा मात्र सीमित हुँदैन, यो त परिवार, समाज र राष्ट्रको भविष्यलाई गम्भीर असर पार्ने विषय हो । एक त नेपाली युवाहरू रोजगारीको लागि विदेशिनु दुःखद छ, अर्कोतिर विदेशिएका युवापुस्ता विषाक्त मदिरा सेवनका कारण परदेशमा मृत्युवरण गर्न पुग्नु झन् पीडादायी छ । घरको बनिबुतोको आधार बनेका ती युवाहरूको यस्तो दुःखद समाचारले तीनको परिवारमा कत्रो वज्रपात पु¥याउला ? यो पीडाका एक होइन, अनेक दुःखद आयाम छन् ।

नेपालमा पनि बेलाबेलामा विषाक्त मदिराको मारमा परेर मानिसहरूले अनाहकमा ज्यान गुमाएको दुःखद समाचारहरू प्रकाशित हुने गरेको छ । एक त मदिरा सेवन आफैंमा हानिकारक छ, त्यसमाथि पनि विषाक्त मदिरा सेवन त सोझै विषपान सरह हो । कुवेतमा घटेको यस घटनाले विदेशी भूमिमा पसिना बगाउन बाध्य युवा शक्तिहरूलाई रोजगार सम्बन्धी जोखिम मात्र नभएर विषाक्त मदिराको जोखिम पनि रहेको पुष्टि भएको छ ।

ती युवा शक्तिलाई कसरी विषाक्त मदिराको जोखिमबाट जोगाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ । कुवेतमा १६ नेपालीले विषाक्त मदिरा सेवन गरेर ज्यान गुमाएको घटनाले हामीलाई अब सतर्क हुनुपर्छ भन्ने ठूलो पाठ सिकाएको छ ।

यसै पनि विदेशमा काम गर्दाका बखतमा विभिन्न घटना, दुर्घटनामा परेर नेपालीहरूले ज्यान गुमाउने क्रम बढ्दो छ । त्यस क्रममा विषाक्त मदिरा पनि श्रमिक नेपालीको मृत्युको कारक बन्न पुग्यो भने त्यो कसैगरी सह्य हुन सक्दैन । जुन कुरालाई रोक्दा भवितव्य हुँदैन भने त्यो कुरा रोक्नलाई सबै क्षेत्र र तहबाट प्रयत्न हुनुपर्दछ । यो उनीहरूको ज्यान जोखिम, परिवारको विचल्ली र राष्ट्रको बेइज्जतीको कुरा पनि हो । त्यसैले, रोजगारीमा जानुअघि सरकारले उनीहरूलाई विशेष परामर्श दिने व्यवस्था गर्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्