नेभिगेशन
राजनीति
ठगीको पासो एसएमसी एप्स

धेरै कमाउने लोभमा पैसा डुब्नेको रुवाबासी

५० हजार जनाभन्दा बढी ठगिएको अनुमान, ६५ करोडभन्दा बढी ठगिएको दाबीसहित उजुरी

काठमाडौं । हिजोआज धेरै ‘एसएमसी’ नामक मोबाइल एप्समार्फत ठगी बढेपछि प्रहरीले यसको सूत्र खोजिरहेको छ । सजिलै पैसा कमाइने प्रलोभन दिने उक्त एप्सले हजारौं प्रयोगकर्तालाई ठगेको छ । यो एप्सबाट ठगीमा परेकाहरू दिनहुँ प्रहरीको साइबर ब्युरो धाइरहेका छन् ।

आइतबारसम्म २ हजार १ सयवटा हाराहारी उजुरी साइबर ब्युरोमा परेको छ भने पाँच हजारभन्दा बढी बैंक खाता रोक्का राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारी भन्छन्, ‘अहिले करिब पाँच हजार बैंक एकाउन्टको जाँच गरिरहेका छौं । यी सबै एकाउन्टका शंकास्पद विवरणमाथि अनुसन्धान भइरहेको छ ।’

प्रहरीको अनुमान अनुसार यो एप्समार्फत ५० हजारभन्दा बढी नेपाली ठगिएका छन् । एक जनाबाट तीन हजारदेखि ६५ लाख रुपैयाँसम्म ठगी भएको छ । साइबर ब्युरोमा हालसम्म मात्र ६५ करोडभन्दा बढी ठगिएको दाबीसहित उजुरी दर्ता भइसकेका छन् भने उजुरी आउने क्रम रोकिएको छैन ।

‘एसएमसी’मार्फत ठगीमा परेकाहरू व्यक्तिगत र सामूहिक रूपमा दैनिक रूपमा साइबर ब्युरो धाइरहेका छन् । त्यही भीडमा धरानकी गीता (नाम परिवर्तन) पनि छिन् । साथीभाइको कुरामा लोभिएर उनले ‘एसएमसी’बाट पैसा कमाउन सुरु गरिन् ।

एप्सले भनेअनुसार दोस्रो स्तर (के– २)का लागि उनले ९ हजार ९०० रुपैयाँ ‘रिचार्ज’ गर्नुपर्‍यो । केही भिडियो हेरेबापत दैनिक ३३० रुपैयाँ र महिनामै ९ हजार ९०० कमाइ हुने भन्दै एप्सले देखाएको आश्वासन अनुसार एक महिनापछि उनले त्यो पैसा निकासी पनि गरिन् । कमाइ देखेपछि उनी झनै ढुक्क भइन् । ‘यही बाटोले पैसा कमाइन्छ रहेछ’ भन्ने विश्वास बढ्यो ।

त्यसपछि उनले स्तर बढाउँदै गइन् । के–२ बाट के–३ मा उक्लिइन् । केवल उनी मात्र होइन, परिवारका सदस्य र आफन्तहरूलाई पनि यही स्किममा जोड्न थालिन् । केहीको त लगानी समेत आफैंले गरिदिइन् । अहिलेसम्म ११ जनालाई ‘एसएमसी’मा जोड्दा उनको झन्डै १० लाख रुपैयाँ सकिएको छ ।

५० वर्षीया गीता भन्छिन्, ‘कमाउने लोभले परिवारैलाई जोडेको थिएँ । दुई बुहारीलाई के–१, एक भदै र तीन छोरीलाई के–३, छोरालाई के–४ मा बनाइदिएको थिएँ । मेरो चाहिँ अहिले के–५ को आइडी छ । एक साथीलाई के–२ र अरू दुई जनालाई के–४ बनाएको थिएँ । अरू त सबै मेरै परिवार हुन्, तर ती दुई जना बाहिरकाले अप्ठ्यारो पार्लान् जस्तो लाग्छ ।’

उनलाई अरूले अप्ठ्यारो पार्ने चिन्ता त छँदै थियो, तर अहिले आफ्नै परिवारको सदस्यहरूले पनि गाली गर्न थालेका छन् । छोरीहरूले सुरुमा धेरै आग्रह गरेर ‘नलाग्नु, नलाग्नु’ भने पनि कमाइको लोभमा उनले सुनेनन् । त्यसले फसेपछि छोरीहरूले पनि गाली गर्न थालेका छन् ।

‘छोरीहरूले खर्च गर्नु है भनेर पैसा पठाइदिएका थिए । आमाको मन त हो, अलिकति बढाइदिन्छु, पछि उनीहरूलाई नै काम लाग्ला भनेर खाइनखाइ लगानी गरिरहेँ । तीनै छोरीलाई के–३ को खोलिदिएँ । त्यसपछि बुहारीहरूले ‘हेला गर्‍यो भन्लान्’ भनेर के–१ खोलिदिएँ । अहिले त छोरीहरूले नै गाली गर्छन् । अस्पताल जाने पैसा समेत त्यहीँ खाइयो । सब डुब्यो ।’ यतिमै समस्या सकिँदैन । दिनहुँ साइबर ब्युरो धाइरहेकी उनलाई अब उल्टै आफ्नैविरुद्ध उजुरी पर्ने हो कि भन्ने अर्को डर छ । अपरिचित व्यक्तिहरूले फोन गरेर ‘साइबर ब्युरोमा उजुरी दिन्छु’ भन्दै धम्की दिन थालेका छन् । गीता भन्छिन्, ‘तपाईँले गर्दा म एसएमसीमा फसेँ, उजुरी दिन आएको छु, डिएसपीले कल गर्नुहुन्छ भनेर धम्क्याउँछन् । तर म उनलाई चिन्दिनँ । मैले कसैलाई जबर्जस्ती जोइन गराएकी पनि होइन । मेरो घरमा आउने एक साथीले जोइन गरेका थिए, उनी त त्यो साथीमार्फत आएको रहेछ ।’

गीता मात्र होइन, भोजपुरकी सरिता (परिवर्तित नाम)को अवस्था त झनै भयावह छ । उनले ५१ लाख रुपैयाँभन्दा बढी गुमाएकी छन् । दुई महिनाअघि नै चीन जानुपर्ने उनी हिजोआज एक झोला बैंक स्टेटमेन्ट बोकेर साइबर ब्युरो धाउँदैछिन । उनले उक्त एप्समा २६८ जनालाई मेम्बर बनाएकी थिइन्, तीमध्ये धेरैलाई त आफैंले पैसा हालेर लगानी गरिदिएकी थिइन ।

‘सुरु–सुरुमा त कमाइ हुथ्यो, त्यसैले धेरै कमाउने लोभमा सबै लगानी गरेँ । अहिले सबै डुब्यो,’ उनले भनिन्, ‘धेरैलाई त मैले आफ्नै पैसाले मेम्बर बनाएकी थिएँ । दिदीबहिनीहरूले ‘गरिखाउन्’ भनेर लगानी गरिदिएको थिएँ । तर अहिले सब सकियो । सबैका उजुरी लिएर साइबर ब्युरो धाइरहेकी छु।”

साइबर ब्युरो धाउँदै गरेकी ओखलढुंगाकी अञ्जना (परिवर्तित नाम)लाई अहिले कलेजको फी कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको छ । फी तिर्न घरबाट पठाएको पैसा सबै एसएमसीमै डुबेको छ । घरमा थाहै नदिई उनले भाइ र आफ्नै नाममा के–३ का दुईवटा आइडी खोलेकी थिइन् । तर, आइडी खोलेको एक महिना नपुग्दै एसएमसी नै डुब्यो ।

गीता र सरिताको समूहमै भेटिएकी अञ्जनाले पीडा पोखिन्, ‘बुबाआमाले खाइनखाइ छोराछोरी पढाउन भनेर गाउँबाट पैसा पठाउनुभयो, यहाँ चाहिँ कमाउने लोभमा सब डुब्यो । घरमा कसैलाई थाहा छैन, अब के गर्ने ? साइबर ब्युरोमा उजुरी त हालेकी छु, तर पैसा फिर्ता आउने आशै छैन । आउँछ कि आउँदैन, केही पत्तो छैन ।’

धेरै फस्नेमा गृहिणी

एसएमसीमार्फत ‘धेरै कमाउने’ लोभमा फस्नेहरूमध्ये महिलाको संख्या अत्यधिक छ । अनुसन्धानमा संलग्न साइबर ब्युरोका एक प्रहरीका अनुसार उजुरी दिनेमध्ये ७० प्रतिशतभन्दा बढी महिला छन् । आफ्नो खर्च आफैं जुटाउने उद्देश्यले केही महिलाले त ऋण नै खोजेर त्यसमा लगानी गरेको पाइएको छ ।

एसएमसीमा लगानी गर्ने धेरैका श्रीमान् विदेशमा छन् र उनीहरूले पठाएको पैसा श्रीमानलाई थाहै नदिई ‘धेरै कमाइन्छ’ भन्ने लोभमा एसएमसीमा लगानी गरी फसेका छन् । त्यसैले श्रीमान् र घरपरिवारले थाहा पाएपछि विश्वास गुम्ने, झगडा हुने र घरायसी सम्बन्धमै दरार पर्न सक्ने डरले धेरै पीडितहरू दोहोरो मानसिक तनावमा छन् ।

मुख्य टार्गेट सहरभन्दा गाउँ

यो एसएमसीबाट गाउँ सहर र प्रदेशसम्म ठगिएका छन् । तर, सबैभन्दा धेरै गाउँमै ठगिएको पाइएको छ । विशेषतः कोशी प्रदेशका खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, तेह्रथुम र इलामका गाउँहरूमा धेरैजसो ठगी भएका छन् । त्यस्तै रोल्पामा पनि यसरी धेरै जना फसेको पाइएको छ । एक पीडितका अनुसार रोल्पामा मात्रै यसबाट ६ सय जनाभन्दा बढी ठगीमा परेका छन् ।

अहिले काठमाडौंको साइबर ब्युरोमा उजुरी दिन आउने धेरै मानिसहरू पनि दसैंतिहारमा गाउँ जाँदा आइडी खोलेका थिए । ओखलढुंगाकी अञ्जना भन्छिन्, ‘तिहारमा गाउँ गएको थिएँ । गाउँमा सबैले ‘खोल खोल, कमाइ राम्रो हुन्छ’ भने । भाइ दसैंमा गाउँ गएको थियो, त्यसले त्यतिबेलै आइडी बनाएर एकपटक पैसा पनि निकाल्यो ।

त्यसपछि मैले पनि कमाइ हुन्छ भन्ने विश्वास लागेर आइडी खोलेँ ।’

अञ्जनाजस्तै गाउँ गएका बेला आइडी खोलेर फसेका भोजपुरका एक सञ्चारकर्मी पनि साइबर ब्युरोमै भेटिए । उनले भने, ‘तिहारमा गाउँ गएको थिएँ, एक प्राध्यापकको कुरा मानेर आइडी खोलेँ । सुरुमै यो स्क्याम हो कि भनेर शंका लागिरहेको थियो, तर उहाँको कुरा काट्न नसक्दा फसेँ ।’

यसमा प्रहरीदेखि सरकारी सेवाका अधिकृतसम्म फसेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका एक उच्च तहका एक कर्मचारीले एक लाख भन्दा बढी डुबेको बताए । उनले पनि गाउँ गएकै बेला के–४ आइडी खोलेकी थिइन् । उनले भने साइबर ब्युरोमा उजुरी दिएकी छैनन् ।

पीडित भन्छन् – प्रहरीले थर्कायो

धेर आउने लोभमा पैसा डुबेपछि एसएमसी पीडितहरू आत्तिएका छन् । धेरजना गाउँमा भएकाले उजुरी दिन सकिरहेका छैनन् । त्यसैले काठमाडौँमा रहेका केही पीडितहरूले सहजीकरण गर्दै गाउँका पीडितलाई साइबर ब्युरोको नम्बरसमेत उपलब्ध गराइदिएका थिए । तर ती नम्बरमा फोन गर्दा प्रहरीले उल्टै ‘गैरकानूनी काम कसले गर्न लगायो ?’, ‘हामीलाई सोधेर पैसा बुझाएको हो?’ भन्दै थर्काएको पीडितहरूको गुनासो छ । काठमाडौँमा रहेका पीडितहरूको एक टोली आइतबार साइबर ब्युरो पुगेर उक्त गुनासो डीएसपी सुन्दर तिवारीसमक्ष राखेको थियो । तर, उनले ‘हामी सबै काम थाती राखेर यसै एसएमसीमा लागिपरेका छौँ, हाम्रो मेल दिनुहोस्, फोन गराउनु भन्दा उजुरी मेलमा पठाउन लगाउनुहोस्’ भन्दै सुझाव दिएर फर्काएका छन् ।

ठगको ‘मास्टरमाइन्ड’

एसएमसीमार्फत हजारौँलाई ठग्ने व्यक्तिहरू जो–कुनै भए पनि ‘आपराधिक मास्टरमाइन्ड’ भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत बताउँछन् । एप्लिकेसन बनाउँदै ठग्ने प्रयोजनको लागि बनाइएको देखिन्छ ।

उक्त एप्लिकेसन २०८१ चैत ७ मा डेभलप गरेको खुलेको छ । सुरुमै त्यसमा ‘फेक ड्यायाबोर्ड’ बनाइएको छ । जेठ २९ गते उनीहरूले चितवनमा एसएमसी नेपाल कम्पनी सोनम खातुनको नाममा दर्ता र साउन ११ गते कम्पनी उद्घाटन गरेको समेत देखिएको छ । असार र साउनसम्म एप्लिकेसनको प्रचारप्रसार निकै गरेका थिए । त्यतिबेलासम्म करिब ७० हजारले उक्त एप्लिकेसन डाउनलोड गरेको देखिन्छ ।

साउनको अन्त्यतिर गुगल प्ले–स्टोरबाट एप हटेपछि मान्छेहरूबाट ठूलो मात्रामा पैसा उठाउन थालेको पाइएको छ । भदौ, असोज र कात्तिकमा उनीहरूले सबभन्दा धेरै रकम संकलन गरको देखिन्छ । सुरु–सुरुमा कमाइ हुने भन्दै केही व्यक्तिलाई पैसासमेत फर्काइदिएको देखिन्छ । केही सदस्यलाई खसीदेखि सुन, स्कुटर र आइफोन प्रो–म्याक्ससम्म उपहार दिइएको थियो । यस्तै, एसएमसीले लगानी गरको देखाउन केही रेस्टुरन्ट र मार्टहरूमा एसएमसीको ब्यानर टाँसेर फोटो समेत खिचाएका थिए । यसले सर्वसाधारणको विश्वास जित्न र उनीहरूलाई फसाउन सजिलो बनाएको थियो ।

यसमा धेरैले लगानी गर्नुको अर्को कारण थियो– अवसरको लोभ र दबाब । के–३ खाता हुनेहरूलाई एक/दुई महिनाभित्र के–४ मा अपग्रेड हुनुपर्ने दबाब हुन्थ्यो । त्यसका लागि अरूलाई सदस्य बनाउनुपथ्र्यो, नत्र एकाउन्ट नै बन्द गरिने चेतावनी दिइन्थ्यो । त्यसकारण धेरैले आफ्नो एकाउन्ट अपग्रेड गरेको पाइएको छ ।

त्यस्तै, ‘अझै ठूलो अवसर पर्खिरहेको छ’ भन्दै लोभ देखाउने गरिएको थियो । बेलाबेला अपग्रेडको समय तोकेर र कोटा सीमित गरेर सदस्यहरूलाई लोभ्याइन्थ्यो । त्यसैले यसमा धेरैले लगानी गरेका थिए । केहीले बोनस र तलब समेत पाएका थिए, तर ती रकम कहाँबाट आएको भन्ने थाहा हुँदैनथ्यो, सिधै उनीहरूको खातामा आउँथ्यो । धेरैले लगानी गरेपछि फेरि कर भन्दै पैसा माग्न थाल्यो । पैसा पनि निस्कन छाड्यो । त्यसपछि भने धेरैलाई आफू ठगिएको महसुस भयो । र, न्यायको लागि साइबर ब्युरो धाउन थाल्यो । केही त कर समेत बुझाए, तर पैसा आएन ।

उक्त अनलाइन एपमा लगानीका लागि कम्पनीले ९ वटा लेयर बनाएको छ । के–१ देखि के–९ सम्म लगानी गर्नेले पाउने रकम पनि फरक–फरक छ । जति धेर लगानी उति धेरै कमाइ हुने कम्पनी प्रलोभन देखाएको छ ।

प्रहरीको आग्रह

एप्सको किसिमको ठगी बढ्दै गएपछि नेपाल प्रहरीको साइबर ब्युरोले प्रलोभनमा नपर्न भन्दै सचेत गराएको छ । ब्युरोका अनुसार यो ठगीमा सुरुमा छिटो पैसा कमाउन सकिने तथा साथीलाई रिफरल गरेर थप बोनस समेत पाउन सकिने किसिमका प्रलोभन देखाइन्छ । त्यसपछि अकाउन्ट रिचार्ज गर्नुपर्ने, कर तिर्नुपर्ने लगायतका बहाना बनाई ठगी गर्ने प्रवृत्ति देखिएको ब्युरोले जनाएको छ । यस किसिमका ठगीबाट बच्न अपनाउनुपर्ने सावधानी समेत ब्युरोले सुझाएको छ ।

जसअनुसार कम्पनी तथा संस्थाको पृष्ठभूमि राम्रोसँग अध्ययन गर्न, कम्पनीको भौतिक ठेगाना, रोजगारदातासँग फेसबुक मेसेन्जर, ह्वाट्सएप तथा टेलिग्राममा मात्र कुराकानी हुन्छ कि प्रत्यक्ष भेटेरै अन्तर्वार्ता दिन मिल्छ ? कम्पनीसँग कारोबार गर्दा कम्पनीको नभई कुनै व्यक्तिगत खातामा लेनदेन गर्दै हुनुहुन्छ ? आदि कुरामा विचार गर्न र अनलाइन पढेका सबै कुरा साँचो नहुने कुरा ख्याल राख्न ब्युरोले अनुरोध गरेको छ ।

कम्पनीको ह्यान्डबुकमा यस्तो थियो लगानीको लेबल र कमाइ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्