काठमाडौं, १ भदौ - व्यवस्थापनको नेतृत्व चयनमा सरकारले राजनीतिकरण गर्न नछाडेको नेपाल विद्युत् प्राधिकरणको मुनाफा घटेको छ । आर्थिक वर्ष २०८१/८२ को मुनाफामा ठूलो गिरावट आएको हो ।
अघिल्लो आव १४ अर्ब ४६ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको प्राधिकरणको मुनाफा गत आव ९ अर्ब ६ करोड ७० लाख रुपैया“मा झरेको छ । मुनाफा ३७.३२ प्रतिशत (५ अर्ब ३९ करोड ५० लाख रुपैयाँ) घटेको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ४०औं वार्षिकोत्सव समारोहमा आइतबार सार्वजनिक गरेको वित्तीय विवरण छ ।
अघिल्लो आवका तुलनामा गत आव मुनाफा घट्नुमा कारण प्राविधिक रहेको उनको जिकिर छ । विदेशी मुद्राको विनिमय दरमा भएको वृद्धि एवम् भारतलाई बिक्री गरिएको अफपिक आवरको विद्युत्को प्रतियुनिट दर न्यून रहेको कारण गत आव प्राधिकरणले गर्ने मुनाफामा गिरावट आएको कारण उनले बताए ।
‘गत आर्थिक वर्षमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी ३ महिनाभन्दा बढी समय बन्द हुन पुग्यो । सुक्खायाममा पनि मह“गो दरमा विद्युत् आयात गरेर आपूर्ति व्यवस्थापन गर्नु पर्यो,’ उनले भने, ‘विदेशी मुद्राको विनिमयदरमा आएको परिवर्तनले पनि विद्युत् प्राधिकरणको नाफामा गिरावट आयो ।’
विशेषगरी, नेपाली रुपैयाँको तुलनामा जापानी ऐनमा भएको वृद्धिले प्राधिकरणको आम्दानीमा असर गरेको उनले बताए । साथै, प्राधिकरणको खर्चमा भएको वृद्धिले पनि नाफा कम हुन पुगेको उनले बताए । गत आव मुनाफा घटे पनि प्राधिकरणले चालु आवमा १५ अर्ब रुपैयाँभन्दा बढी मुनाफा आर्जन गर्ने दाबी शाक्यले प्रस्तुत गरे ।
सरकारले विद्युत् प्राधिकरणलाई दिने बजेट घटाउँदै लगेकाले प्रसारण तथा वितरण प्रणालीका आयोजनामा लगानी बढाउन ऋण लिने तयारी भइरहेको उनले बताए । प्राधिकरणले अघिल्लो आव १४ अर्ब ४६ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । गत आवको मुनाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा झरेको छ । यो अघिल्लो आवका तुलनामा ३७.३२ प्रतिशत कम हो ।
यस्तै, प्राधिकरणको कुल सम्पत्ति भने बढेको छ । ६.२ ले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो । सरकारी अनुदान, सडक बत्ती अनुदान तथा ट्रंक लाइनको बक्यौताबाहेक प्राधिकरणको औसत संकलन अवधि ४५.८४ दिन छ । विद्युत् प्राधिकरणले ५ एम्पियर क्षमतासम्मका करिब २० लाख ७३ हजार ५१४ ग्राहस्थ ग्राहलाई कुल १७ करोड ६७ लाख ११ हजार युनिट विद्युत् निःशुल्क उपलब्ध गराएको थियो । विद्युत् प्राधिकरणको औसत बिक्री दर प्रति युनिट ९.४४ रुपैयाँ छ ।
अनलाइन भुक्तानीमार्फत अघिल्लो आव २७ अर्ब ४४ करोड रुपैयाँ संकलन भएकोमा आव २०८१/८२ मा यस्तो रकम ३४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
४३४ मेगावाट विद्युत् प्रसारण प्रणालीमा थप
आव २०८१/८२ मा राष्ट्रिय प्रसारण प्रणालीमा ४३४ मेगावाट विद्युत् थपिएको छ । प्राधिकरणका सहायक कम्पनीमार्फत निर्माण भएका एवम् निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् तथा सौर्य आयोजनाबाट उत्पादित बिजुली प्रसारण प्रणालीमा थपिएको हो । थपिएको विद्युत्मध्ये प्राधिकरणका सहायक कम्पनीका आयोजनाको १५३.५ मेगावाट उत्पादन थपिएको शाक्यको वार्षिक प्रतिवेदनमा छ ।
निजी क्षेत्रका आयोजनाबाट २८०.५ मेगावाट विद्युत् प्रसारण प्रणालीमा थपिएको छ । गत आव चिलिमे जलविद्युत्को सहायक रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरेको १११ मेगावाटको रसुवागढी, साञ्जेन जलविद्युत् कम्पनीले अन्तर्गत ४२.५ मेगावाटको साञ्जेन आयोजना प्रसारण प्रणालीमा जोडिएको छ ।
प्राधिकरणको सहायक चिलिमे मध्यभोटेकोशी कम्पनीद्धारा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी आयोजनाको निर्माण सम्पन्न भई परीक्षणको अन्तिम चरणमा छ । राहुघाट (४० मेगावाट), तनहुँ जलायश (१४० मेगावाट), त्रिशूली–३ ‘बी’ (३७ मेगावाट), रोल्वालिङ (२२ मेगावाट), तामाकोशी पाँचौं (९९.८ मेगावाट), माथिल्लो मोदी ‘ए’ (४२ मेगावाट), माथिल्लो मोदी (१८.२ मेगावाट) लगायत आयोजना पनि प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको छ ।
यस्तै, निजी क्षेत्रले सञ्चालन गरेका आयोजनाहरूको संख्या २०४ पुगेको छ । यी आयोजनाहरूको कुल जडित क्षमता २ हजार ९२९ मेगावाट छ । ४ हजार ३०३ मेगावाटका १४२ वटा आयोजनाहरू वित्तीय व्यवस्थापन सम्पन्न भई निर्माणका चरणमा छन् ।
४ हजार २०३ मेगावाटका १४८ आयोजना निर्माण चरणको विभिन्न प्रक्रियामा छन् । प्राधिकरणले गत आव ३१ वटा आयोजनाको ९३२ मेगावाट जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । १७० मेगावाटका ८ वटा सौर्य विद्युत् आयोजनाको पनि पीपीए गरिएको छ ।
यससंगै प्राधिकरणले पीपीए गरेका निजी क्षेत्रका आयोजनाको संख्या ४९४ पुगेको छ । यी आयोजनाको जडित क्षमता ११ हजार ४३६ मेगावाट पुगेको शाक्यले वार्षिकोत्सव समारोहमा बताए ।
२५३ सर्किट किलोमिटर प्रसारण लाइन थप
प्राधिकरणले आव २०८१/८२ मा २५३ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरी प्रसारण प्रणाली विस्तार गरेको छ ।
गत आव सर्किट २५३ किलोमिटर थप भई प्रसारण लाइनको कुल लम्बाइ ६ हजार ७६० सर्किट किलोमिटर पुगेको छ । अहिले २ हजार ३४ सर्किट किलोमिटर प्रसारण लाइनका आयोजना निर्माणाधीन अवस्थामा रहेको पनि शाक्यले बताए ।
यस्तै, प्राधिकरणको सबस्टेसन क्षमता पनि १ हजार ७३ एमभीए थप भई कुल १४ हजार १२३ एमभीए पुगेको छ । ६ हजार ३३८.५० एमभीए क्षमताका सबस्टेसनहरू विभिन्न जिल्लामा निर्माणाधीन छन् ।
गत आर्थिक वर्षभरमा न्यू खिम्ती–बाह्रबिसे ४०० केभी, चिलिमे–त्रिशूली २२० केभी, न्यू बुटवल–बर्दघाट २२० केभी, ढुंगेसा“घु–वसन्तपुर २२० केभी र ढल्केवर–लोहरपट्टी १३२ केभी प्रसारण लाइन निर्माण पुरा भई सञ्चालनमा आएका छन् ।
मार्किचोक, उदिपुर र बाह्रबिसे २२०/१३२ केभी सबस्टेसन, ढल्केवर–लोहरपट्टी १३२ केभी, मूलपानी १३२÷११ केभी सबस्टेसन, प्रसौनी १३२÷११ केभी सबस्टेसन र अमलेखगञ्ज १३२/६६/११ केभी सबस्टेसन पनि निर्माण सम्पन्न भई सञ्चालनमा आएको शाक्यले जानकारी दिए । मलेखु १३२/३३ केभी सबस्टेसनको विस्तार सम्पन्न भएको छ ।
यस्तै, गत आव ४७३ एमभीए क्षमता बराबरका १४ वटा ३३/११ केभी सबस्टेसन र ९ हजार ३३६ सर्किट किलोमिटर वितरण लाइन थप भएको छ । त्यस्तै ३३८ एमभीए क्षमता बराबरको ३ हजार १५१ वटा वितरण ट्रान्सफर्मरहरू थप गरिएको शाक्यले बताए ।
वितरण लाइनहरूको कुल लम्बाइ २ लाख १८ हजार ६६ सर्किट–किलोमिटर र वितरण सबस्टेसनको क्षमता २९९७ एमभीए नाघेको छ । मिटरिङ तथा बिलिङ प्रणालीमा स्मार्ट मिटर तथा स्मार्ट ग्रिड प्रविधिको प्रयोग गरी एडभान्स मिटरिङ इन्फ्रास्ट्रक्चर (एएमआई) लागू गरिएको छ ।
वैदेशिक व्यापारबाट साढे ४ अर्ब नाफा
प्राधिकरणले गत आव बर्खायाममा भारत र बंगलादेशमा विद्युत् निर्यात गरी १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको छ ।
प्राधिकरणले भारतसँग पावर एक्चेन्ज मार्केट (डे–अहेड र रियल टाइम मार्केट), मध्यम अवधि द्विपक्षीय सम्झौता तथा भारत–नेपाल विद्युत् आदान–प्रदान संयन्त्रमार्फत विद्युत् निर्यात गरी यति आम्दानी गरेको हो ।
प्राधिकरणले आयातको तुलनामा बढी विद्युत् निर्यात गरेको बताउ“दै शाक्यले सुक्खायाममा विद्युत् आयात गर्दा १२ अर्ब ९ करोड रुपैयाँ खर्च देखाएको छ । विद्युत् आयातभन्दा परिमाणका हिसाबले बढी निर्यात भएकाले ४ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन भएको बताए ।
हालै विद्युत् प्राधिकरणले प्रस्ताव गरेका ३० वटा जलविद्युत् केन्द्रहरूलाई विद्युत् निर्यातको अनुमति दिएको र अब निर्यात हुने विद्युत् परिमाण १०१० मेगावाट पुगेको पनि शाक्यको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
विद्युत् जडित क्षमता ३६०० मेगावाट
राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जडित क्षमता ३६०० मेगावाट पुगेको छ । गत आव राष्ट्रिय प्रसारण प्रणालीमा यति विद्युत् जोडिएको हो । यो वर्ष राष्ट्रिय प्रसारण प्रणालीमा १५ हजार ६४१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएको जानकारी कार्यकारी निर्देशक शाक्यले दिएका छन् ।
राष्ट्रिय प्रसारण प्रणालीमा अहिले उपलब्ध विद्युत्मध्ये निजी क्षेत्रले निर्माण गरी उत्पादन गरिरहेका आयोजनाको हिस्सा ५५ प्रतिशत छ । प्राधिकरण एवम् तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत छ । सुक्खायाममा मागको अनुपातमा आपूर्ति अपुग भएको ११ प्रतिशत विद्युत् भारतबाट आयात गरी आपूर्ति व्यवस्थापन गरिएको शाक्यले बताए ।
मुलुकको आन्तरिक विद्युत् खपत अघिल्लो आजका तुलनामा १०.७ प्रतिशत बढेर ११ हजार ३१९ गिगावाट घण्टा पुगेको पनि उनले जानकारी दिए । भारततर्फ भएको विद्युत् निर्यात गत आव अघिल्लो आवका तुलनामा २२.३३ प्रतिशत बढेको छ ।
नेपालबाट २ हजार ३८० गिगावाट घण्टा विद्युत् निर्यात हुँदा पछिल्लो १ वर्षमा १७१२ गिगावाट घण्टा विद्युत् आयात गरिएको छ । गत आर्थिक वर्षमा नेपालले आयातभन्दा बढी विद्युत् निर्यात गरेको छ ।
यो वर्ष ६६८ गिगावाट घण्टा खुद विद्युत् निर्यात भएको शाक्यले बताए । गत आवको असार १८ मा प्राधिकरणको प्रसारण प्रणालीमा विद्युत्को उच्च माग २ हजार ९०१ मेगावाट रेकर्ड भयो । जसमध्ये २ हजार २१४ मेगावाट स्वदेशमै खपत भएको भयो भने ६८७ मेगावाट भारततर्फ निर्यात भएको प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय प्रसारण उपयोग गर्ने ग्राहक ५७ लाख नाघे
देशभरमा ९८ प्रतिशत विद्युतीकरण हुँदा ५७ लाख घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पहुँच पुगेको छ । गत आव प्राधिकरणको ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशत वृद्धि भई ५७ लाख १ हजार ग्राहकमा पुगेको हो ।
यो संख्यामा सामुदायिक ग्रामीण विद्युतीकरणमार्फत सेवा लिइरहेका झण्डै ४ लाख ७० हजार ग्राहकहरू समावेश छैनन् । कुल ग्राहक संख्यामध्ये घरेलु ग्राहकहरूको हिस्सा ९१.०८ प्रतिशत, औद्योगिक ग्राहकको हिस्सा १.२३ प्रतिशत तथा अन्य ग्राहकहरूको हिस्सा ७.६९ प्रतिशत छ । प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ४२० युनिटबाट बढेर ४६५ युनिट पुगेको छ ।
विद्युत् चुहावटमा ०.४७ प्रतिशतले कमी आई गत आव १२.२६ प्रतिशत कायम भएको शाक्यले बताए । प्राधिकरणको औसत विद्युत् बिक्री प्रति ग्राहक १८७३ युनिटबाट वृद्धि भई गत आव प्रति ग्राहक १९७८ युनिट पुगेको छ ।
१ खर्ब २५ अर्ब बढी आम्दानी
विद्युत् प्राधिकरणले गत आव विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख आम्दानी गरेको छ । भारत तथा बंगलादेशमा गरेको निर्यात बापतको १७ अर्ब ४७ करोड १० लाख रुपैयाँसहित यति आम्दानी गरेको शाक्यले बताए । यो आम्दानी गत आव अघिल्लो आवका तुलनामा ८.४६ प्रतिशतले बढी हो ।
अन्य स्रोतबाट प्राप्त आम्दानीसहित गत आव कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ थियो । गत आव प्राधिकरणको कुल सञ्चालन खर्च ९७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ । विद्युत् खरिद बापतको मात्र खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा ११.७३ प्रतिशत वृद्धि भई ७७ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
मुख्य खर्चहरूमा उत्पादनतर्फ २ अर्ब ७ करोड रुपैयाँ, प्रसारणतर्फ ३ अर्ब २४ करोड, वितरणतर्फ १२ अर्ब २२ करोड र रोयल्टीतर्फ १ अर्ब ८४ करोड रुपैयाँ छ । साथै, यी खर्चहरूको अलावा ब्याज खर्च, ह्रास कट्टी खर्च, वैदेशिक विनिमयमा भएको नोक्सानीसहित गत आवको कुल खर्च १ खर्ब २९ अर्व ८१ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।