भैरहवा, १ भदौ - सरकारले भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि विस्तारको योजना अघि बढाएपछि व्यापारमा फाइदा हुने भन्दै होटल रेस्टुरेन्टमा अर्बौं लगानी गरेका व्यवसायी अहिले निराश छन् । सरकारले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बिजनेस दिन नसक्दा निराशा बढेको हो ।
व्यवसायीहरूका अनुसार विमानस्थल नचल्दा आफूहरूको अर्बौं लगानी डुबेको र थुप्रै होटल बैंक लिलामीमा चढिसकेको बताएका छन् । आइतबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको छलफलमा व्यवसायीहरूले सरकारसँग विमानस्थल सञ्चालन गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।
उनीहरूले सरकारले नसक्ने भए निजी क्षेत्रलाई जिम्मा दिएर भए पनि विमानस्थल सञ्चालन गर्नुपर्ने माग राखे । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजेशकुमार अग्रवालले ढिलाइ नगरी विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवास्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि संघर्ष नभएर सहजीकरण गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उनले विमानस्थल सञ्चालन पर्यटन मन्त्रालयको एकल जिम्मेवारी नभइ अर्थ, परराष्ट्र, गृह, श्रमलगायत मन्त्रालयको पनि भूमिका आवश्यक पर्ने बताए ।
मन्त्री पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा भैरहवा र पोखरा विमानस्थलप्रति भारतको नकारात्मक दृष्टिकोण अन्त्य, अन्तर्राष्ट्रिय उडानका लागि रुट अनुमति र क्षेत्रीय उडान विस्तारको विषय एजेन्डामा रहेको जानकारी दिए । उनले सञ्चालनविहीन विमानस्थल निजी क्षेत्रलाई दिने व्यवस्था हवाइ ऐनमा गर्न लागिएको बताए । स्थानीय तहका प्रतिनिधिहरूले सरकारी उदासिनताका कारण विमानस्थल नचलेको भन्दै तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
नगर प्रमुख इस्तियाक अहमद खाँले लुम्बिनीको ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय एयरलाइन्स ल्याउन सकिने सुझाव दिए । महाप्रबन्धक प्रतापबावु तिवारीले श्रम, भिसा र म्यानपावरका लागि काठमाडौं धाउनुपर्ने समस्याले अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । उनले नेपाल एयरलाइन्समार्फत नियमित उडान सुरु गर्नुपर्नेमा जोड दिए ।
गत वर्ष ५ वटा एयरलाइन्सले छोटो समय उडान गरे पनि पछिल्ला पाँच महिनादेखि विमानस्थल सुनसान छ । सरोकारवालाहरूले गौतम वुद्ध जन्मस्थल नजिकै बनेको विमानस्थल सञ्चालन नभए मुलुककै हवाइ उड्डयन क्षेत्रमा संकट देखिने चेतावनी दिएका छन् ।