नेभिगेशन
अर्थतन्त्र

राष्ट्रिय औद्यौगिक प्रदर्शनी बुटवलमा हुने

काठमाडाैं । रुपन्देही उद्योग संघको आयोजनामा आगामी पुस ३ देखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनीः कृषि, प्रविधि तथा पर्यटन महोत्सवको आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा हुने यो महोत्सवको नारा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ राखिएको छ ।

प्रदर्शनीको उद्देश्य स्वदेशी उत्पादनको प्रोत्साहन र औद्योगिक व्यवसायको संरक्षण, सम्वद्र्धन र विकासमा जोड दिनु रहेको बताइएको छ । प्रदर्शनीका बारेमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग सघंका अध्यक्ष तथा प्रदर्शनी मूल समिति संयोजक कृष्णप्रसाद पराजुलीले भने, ‘देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण र सम्वद्र्धन जरुरी छ । यसका लागि स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आवश्यक छ ।’

‘प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग सोझो सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास छ’ उनले भने ।

२०४५ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रदर्शनीमा यसपटक ‘मेक इन नेपाल’ अभियानलाई प्रवर्द्धन गरिनेछ । प्रदर्शनीमा स्वदेशी उत्पादनहरू, नयाँ प्रविधिहरू, कृषि उत्पादन, पर्यटन प्रवर्द्धन र कला संस्कृतिको जगेर्नासम्बन्धी पाँच सय भन्दाबढी स्टल राखिनेछन् । यस प्रदर्शनीमा १० वटा पेभिलियन रहनेछन्, जसमा विभिन्न क्षेत्रका उत्पादनहरू र सेवाहरू प्रस्तुत गरिनेछन् ।

बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने यस महोत्सवमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी, छाला, जुत्ता, खाद्यान्न, सूचना प्रविधि लगायतका विभिन्न उद्योगका उत्पादनहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनीमा आठ लाख दर्शक आउने र ३० करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ ।

रुपन्देही उद्योग सघंले २०५३ सालदेखि प्रदर्शनी आयोजना गर्दै आएको छ । यस महोत्सवले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र नयाँ उद्योग स्थापना गर्न सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्