‘नाडा अटो शो २०२५’ आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपालका अटोमोबाइल प्रेमी र व्यवसायीहरूका लागि नाडा नयाँ र नवीनतम सवारी साधनको अवलोकन गर्ने, उद्योगका प्रवृत्ति बुझ्ने र व्यापारिक सम्भावनाहरूको मूल्यांकन गर्ने उत्कृष्ट प्लेटफर्म हो । यस वर्षको नाडा अटो शोले अटोमोबाइल क्षेत्रको प्रगति र प्रविधिको नयाँ आयाम प्रस्तुत गर्दै, अवलोकनकर्ताहरूका लागि नयाँ अनुभव दिने लक्ष्य राखेको छ । नेपालमा अटो उद्योगको वृद्धि र नवप्रवर्तनको संकेत दिने यस प्रदर्शनले ग्राहकको चासो मात्रै बढाउने होइन नयाँ प्रविधिमा आकर्षित गर्ने प्रयास गर्नेछ । यस वर्षको शोको मुख्य आकर्षण, प्रदर्शकहरूको विविधता र सवारी उद्योगमा देखिएका नयाँ प्रविधि र प्रवृत्ति हुनेछन् । यसले नेपाली अटोमोबाइल बजार र व्यवसायिक समुदायका लागि महत्वपूर्ण अवसरको रुपमा काम गर्छ भन्ने स्पष्ट चित्र प्रस्तुत गर्ने विश्वास गरिएको छ । यसै सन्दर्भमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीसँग हाम्रा सहकर्मी धना ढकालले गरेको संवाद :
१७औं संस्करणको नाडा अटो शोको तयारी कस्तो भइरहेको छ ?
नाडा अटो शो २०२५ को तयारी निकै मजबुतरूपमा अघि बढिरहेको छ । स्टल बुकिङ पूरा भइसकेको छ, ३० भन्दा बढी प्रमुख ब्राण्डहरूको सहभागिता सुनिश्चित भएको छ । प्रदर्शनी स्थल भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरमा व्यवस्थित बनाउन आवश्यक प्रविधि, सुरक्षात्मक तथा व्यवस्थापकीय काम भइसकेको छ ।
नाडा अटो शोको मुख्य आकर्षण के रहेको छ ?
यसपटकको मुख्य आकर्षण नेपालमै पहिलोपटक प्रदर्शनीमा ल्याइने डीपलको उड्ने ट्याक्सी र युनीट्री रोबोट्स रहनेछ । साथै, विद्युतीय गाडीका नयाँ मोडलहरू, अत्याधुनिक प्रविधि, स्मार्ट मोबिलिटी समाधान र भिन्टेज मोटर शोले दर्शकलाई विशेष अनुभव दिनेछन् ।
प्रदर्शनीमा कति अवलोकनकर्ता आउने अनुमान छ ?
विगतका वर्षहरूको अनुभव हेर्दा यसपटक १ लाखभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गर्ने अनुमान गरिएको छ । शो केवल प्रदर्शनी नभई परिवार, व्यवसायी र युवापुस्तालाई आकर्षित गर्ने मेलाका रूपमा स्थापित हुँदै गएको छ । हामीले यसपटक विद्युतीय सवारीलाई महत्व दिएकाले अवलोकनकर्ताले नयाँ अनुभव पाउने विश्वास गरेका छौ ।
नयाँ ब्राण्ड कति संख्यामा सार्वजनिक हुनेछन् ?
यसपटक करिब १५ भन्दा बढी नयाँ मोडल (दुईपांग्रे र चारपांग्रे) सार्वजनिक हुँदैछन् । जसमा विशेष रूपमा इलेक्ट्रिक मोडलहरूको बढी उपस्थिति रहनेछ । अहिले नेपाली बजारमा विद्युतीय गाडीमा आकर्षण बढ्दै गएको छ । त्यसैले हामीले विद्युतीय गाडीका नयाँ प्रविधि र मोडलका गाडीलाई प्रदर्शनीमा स्थान दिएका छौं ।
प्रदर्शनी अवधिमा अवलोकनकर्ता आउने जाने त भइ नै रहन्छ । तर तपाइहरूले चलाउने छलफल सत्रमा के कस्ता विषयहरू समावेश गरिएका छन् ?
यस अवधिमा हामीले विभिन्न विषयमा छलफल तथा सेमिनार गर्ने भएका छौं । खासगरी विद्युतीय गाडीको प्रवद्र्धन, चार्जिङ इन्फ्रास्ट्रक्चर, भविष्यको स्मार्ट मोबिलिटी, वित्तीय सहुलियत तथा उपभोक्ता सुरक्षा सम्बन्धी विषयमा सेमिनार आयोजना गरिनेछ । यसले नीति निर्मातादेखि उपभोक्ता र व्यवसायीसम्म सबै सरोकारवालालाई प्रत्यक्ष संवादमा ल्याउनेछ ।
यो प्रदर्शनीले देशको अर्थतन्त्र सुधारमा कसरी प्रभाव पार्नेछ ?
शोमार्फत प्रत्यक्षरूपमा अर्बौंको कारोबार हुने अपेक्षा गरिएको छ । साथै, यसले रोजगार सिर्जना, आयात-व्यापार प्रवर्धन, पर्यटक आकर्षण र कर संकलनमा सकारात्मक योगदान दिनेछ । यसले अटोमोबाइल क्षेत्रको समग्र अर्थतन्त्रमा गति दिनेछ । अटोमोबाइल बिजनेस बढ्दा बैंकिङ गतिविधि पनि बढ्ने छ । बैंकबाट ऋण लिएर गाडी किन्नेहरू धेरै हुन्छन् । अहिले कर्जाको माग बढ्न नसकिरहेको अवस्थामा गाडी बिक्री धेरै हुँदा बैंकहरूको बिजनेस पनि बढ्न सक्छ । त्यसैले, यसको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ भन्ने विश्वास हामीले गरेका छौं ।
हिजोआज विद्युतीय गाडी आयात बढी नै देखिन्छ । यो शोमा विद्युतीय सवारीले मात्रै स्थान पाउने त होइन ?
नेपालमा अहिले विद्युतीय गाडीको हिस्सा तीव्ररूपमा बढिरहेको छ । आयात भएका नयाँ सवारीमध्ये ७५ प्रतिशतभन्दा बढी विद्युतीय गाडी नै छन् । यसपटकको अटो शोमा पनि ७० प्रतिशतभन्दा बढी मोडलहरू विद्युतीय हुनेछन्, बाँकीमा पेट्रोलियम मोडल र हाइब्रिड सवारी रहनेछन् ।
मर्मत–सम्भार तथा ग्यारेज अभावबारे नाडाले के गरिरहेको छ ?
उपभोक्ताको चासोलाई ध्यानमा राख्दै, नाडाले आयातकर्ताहरूसँग मिलेर बिक्री भइसकेपछिको सेवालाई प्रभावकारी बनाउने विषयलाई सधैं प्राथमिकतामा राखेको छ । हाल विभिन्न विद्युतीय गाडी आयात गर्ने कम्पनीहरूले नेपालभरि सर्भिस केन्द्र विस्तार गरिरहेका छन् र नाडाले यसलाई थप संस्थागत गर्न पहल गरिरहेको छ ।
सरकारको अहिलेको मौजुदा नीति अटोमोबाइल्स क्षेत्र मैत्री छ त ?
यो वर्ष सरकारले कर संरचना (भन्सार शुल्क र अन्तशुल्क) स्थिर राखेर सकारात्मक सन्देश दिएको छ, जसले व्यवसायमा स्थिरता ल्याएको छ । साथै, विद्युतीय गाडीको प्रवद्र्धनमा सरकारले प्रोत्साहन, चार्जिङ स्टेशन विस्तार र पूर्वाधार विकासको योजना ल्याएको छ । यो नीतिले अटोमोबाइल क्षेत्रमा दीर्घकालीन लाभ पुर्याउने अपेक्षा गरिएको छ ।