नेभिगेशन
राजनीति

संकटका बेलामा ढल्ने होइन, अड्ने साहस जुटाउनुपर्छ (महाधिवेशन उद्घाटनमा केपी ओलीको संवोधन)

म सम्झिरहेको छु, ३ महिनाअगाडिका ती कहालीलाग्दा दिनहरू जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो, जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो, र एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो, पुराना पार्टीहरू सकिए, नेताहरूका दिन गए । एमालेको सान्दर्भिकता समाप्त भयो ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएयता हामीले ७७ वर्ष व्यतीत गरेका छौं । म हाम्रो पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलगायत ती सबै अग्रजहरू, सहिदहरू, योद्धाहरू र आन्दोलनमा वर्णन नै गर्न नसकिने कष्ट सहनुहुने न्यायप्रेमी जनसमुदायप्रति हार्दिक श्रद्धा अर्पण गर्न चाहन्छु, जसको बलिदानबिना हामी यहाँ आइपुग्नै सक्दैनथ्यौं । हामी उहाँहरूको आदर्श र बलिदानलाई कहिल्यै बिर्सनेछैनौं । 

हामीले कहिल्यै गल्ती गरेनौं या हामीबाट कमजोरी भएन भन्ने होइन, तर हाम्रो निष्ठा, समर्पण र इमानप्रति हामीलाई गौरव छ । पार्टीको यही बलिदानी संघर्षका बलमा आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको छ । सात सालको क्रान्तिमा कम्युनिष्ट पार्टी भर्खरै स्थापना भएको र यसको नेतृत्वदायी भूमिका नहुँदा क्रान्ति अधुरो रह्यो । २०४६ सालमा कम्युनिष्ट पार्टी सबल र संयुक्त नेतृत्व गर्ने ठाउँमा विकसित भएको थियो, आन्दोलनले राजाको निरंकुशता र पञ्चायती तानाशाहीलाई अन्त्य ग¥यो । २०६२÷०६३ मा कम्युनिष्ट पार्टी नेतृत्वदायी भूमिकामा रह्यो, तसर्थ राजतन्त्र अन्त्य भयो, गणतन्त्रको स्थापना भयो र जनताको हातले संविधान लेखियो । त्यतिबेला अरू पार्टीहरूका भूमिका तपाईंहरूको सम्झनामा ताजै छन् । त्यसैले भन्न सक्छौं– कम्युनिष्ट पार्टी जति–जति बलियो हुन्छ, त्यति–त्यति लोकतन्त्रले पूर्णता पाउँछ । राष्ट्रिय स्वाभिमान सुदृढ हुन्छ । समृद्धिको यात्रा अगाडि बढ्छ । आज हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य हासिल गर्न अगाडि बढ्न चाहन्छौं ।

तर हामी माथिका प्रहार पनि कम्ती छैनन् । हामी भन्छौं– देशहरू भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो । जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन भन्छौं । हामी हिंसा या युद्ध समाज परिवर्तनको साधन हुन सक्दैन भन्छौं, जनताको मन जितेर शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ भन्छौं । हामीमाथि प्रहार हुन्छ । हामी विविधता र बहुलता हाम्रो सम्पदा हो, दूरी बढाउने विषय होइन भन्छौं । हामीमाथि प्रहार हुन्छ । हामी सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौं । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।

हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौं । सशस्त्र द्वन्द्व, संक्रमणकाल र भूकम्पजस्ता चुनौतीबीच मुलुकले गरिरहेको प्रगतिलाई देख्छौं । कमजोरीलाई पनि महसुस गर्छौं । मुलुक बन्छ र बन्दैछ भन्ने भरोसा राख्छौं । निराशा र नकारात्मकताका अभियन्ताहरूलाई यो मन पर्दैन । अनि फेरि, हामीमाथि प्रहार हुन्छ । हामी कमजोर भयौं भने मात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले गणित मिलाइरहेका छन् । हामी नढलुँञ्जेल, हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान सिधै रहन्छ । 

त्यसैले हामीमाथि आक्रमण भइरहेको छ । हामीविरुद्धका शक्तिहरू विभिन्न रंगमा अगाडि आउँछन्– कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर । कलर÷कलरमा– कलर रेभोलुसन भन्दै देखापर्छन् । तर तिनको भित्री लक्ष्य एउटै छ– हामीलाई विभाजन गर्ने, कमजोर बनाउने, अलमल्याउने र दिशाहीन बनाउने ।

हामीले संविधान जारी ग¥यौं, त्यसपछिको तीव्र प्रतिक्रियाले भन्छ– हामीले लिएको अडान कतिलाई मन परेको थिएन । भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैं हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन । सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन । यही कारणले, बारम्बार हाम्रो पार्टी प्रहारको निशानामा परेको छ । आखिर खयरको बोटमा कसले ढुंगा हान्छ र ? ढुंगाको चोट खाने त बाटो छेउको आँपको बोटले त हो नि । 

यति धेरै प्रहार सहेपछि पनि यो पार्टी सतिसालझैं ठिंग कसरी उभिरहन्छ ? यति धेरै शक्ति कहाँबाट आउँछ ? यस प्रश्नको उत्तर म यही मैदानमै खोज्न चाहन्छु । एकछिन– आफ्नै गाउँठाँउमा, सहरका टोलटोलमा, टारीको छेउमा, ओडारको चिसोमा बसेर संगठन जोगाइरहेका आफ्नै साथीहरू सम्झनुस् त ! त्यसपछि आफैं महसुस गर्नुहुनेछ– संकटका बेलामा ढल्ने होइन, अड्ने साहस यस पार्टीले यत्तिका वर्ष कहाँबाट बटुलेको रहेछ ?

भदौ २३÷२४ को घटनालाई सम्झौं न । भदौ २४ को त्यो उन्माद के असन्तुष्ट समूहको प्रदर्शन मात्रै थियो ? कि त्यसको आडमा अर्को ठूलो खेल चलिरहेको थियो ? त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै थियो ? कि त्यसभित्र राज्यको मेरुदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ? भ्रममा पर्नै हुन्न– स्थिरताको वाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन । संसद्बाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो । तर यो त संविधान, संवैधानिक प्रक्रिया र ७ दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पु¥याउने दीर्घ तयारीसहितको गम्भीर षड्यन्त्र थियो । 

तर यसो भनिरहँदा एउटा कुरा स्पष्ट पारौं– सामाजिक सञ्जाल खुला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस्– जेनेरेसन–जेड या नवयुवाहरूले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन । यी त हामी स्वयंले वर्षौंदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका एजेण्डा थिए । सामाजिक सञ्जाल बन्द गर्ने होइन– कानूनी दायराभित्र, देश र नागरिकको सुरक्षाको हिसाबले नियमन गर्ने मात्रै हाम्रो चाहना थियो । 

नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने बचन दिएका थिए । प्रशासनले अनुमति पनि दिएकै थियो । तर दुःखको कुरा– त्यो कार्यक्रममा घुसपैठ भयो । विभिन्न स्वार्थ समूह प्रवेश गरे । अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौं र निषेधित क्षेत्र तोड्दैनौं भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद् भवनमा आगजनी र तोडफोड गर्न दुरुत्साहन गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्त्वका कारण युवा–विद्यार्थीहरूको ज्यान जाने दुःखद एवम् अकल्पनीय परिस्थिति सिर्जना भयो ।

भदौ २३ गते गोली लागेर ज्यान गुमाएका युवा, भदौ २४ गते अराजक भीडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइते युवाहरू, परिवारका सदस्यहरू, पीडित बुबाआमा, दिदीबहिनी, दाजुभाइ, सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछु– शरीर र मन दुवैको चोट चाँडै निको होस् भन्ने कामना गर्दछु । 

भदौ २३ गते शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक हुँदा सिर्जित दुःखद परिणामप्रति गम्भीर हुँदै, तत्कालीन गृहमन्त्रीले राजीनामा गरिसक्नुभएको थियो । त्यसै दिनको मन्त्रिपरिषद्को बैठकबाट घटनाको छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने निर्णय पनि भइसकेको थियो । असामान्य परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील थियो ।

तर राज्यविरुद्ध आक्रमणको योजना बनाएका तत्त्वहरूलाई यी कदम पर्याप्त भएनन् । उनीहरूलाई त देश दहन गर्ने अगुल्टो चाहिएको थियो । परिणामतः भदौ २४ को भयानक दिन देशले भोग्नुप¥यो । कार्यपालिकाका वडा कार्यालयदेखि केन्द्रीय प्रशासनिक भवनसम्म, व्यवस्थापिकाका पालिकादेखि संघीय संसद भवनसम्म, र न्यायपालिकाका जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म, राज्यका तीनवटै अंगमाथि एकैसाथ आक्रमण गरियो । दलीय व्यवस्थाका आधारस्तम्भ पार्टीका कार्यालयहरू ध्वस्त पारिए । 

होटल, व्यापारिक प्रतिष्ठान र व्यावसायिक व्यक्तिहरूका निजी सम्पत्ति ध्वस्त पार्दै अर्थतन्त्रको मेरुदण्ड भाँचियो । शान्ति–सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि भयानक प्रहार भयो, कुटपिट मात्रै होइन, निर्ममतापूर्वक हत्यासमेत गरियो । १२ सयभन्दा बढी हतियार खोसिए, झण्डै एक लाख गोलीगठ्ठा र विविध सामग्री लुटिए । सुरक्षाकर्मीका पोशाक मात्र लुटिएनन्, तिनको अपमान र दुरुपयोगसमेत गरियो । 

जेलको ढोका फोरेर १४ हजारभन्दा बढी कैदीबन्दी भगाइए । नेता÷कार्यकर्ताहरूका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइयो । यसरी, राष्ट्रपति भवनदेखि सिंहदरबारजस्ता राष्ट्रिय सम्पदाहरू, सहिदका सालिक, लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवनसमेत १६ सयभन्दा बढी संरचना एकैपटक आगो, ढुंगा र लुटपाटको निसाना बने । यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि भए ।

त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन् । ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खल्बल्याउने र गम्भीररूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए । जतिबेला, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै ‘आन्दोलन,’ ‘विद्रोह’ र ‘क्रान्ति’का रूपमा महिमामण्डित गरिँदै थियो, त्यही भिडको फुटेज देखाएर, कोही सत्ता, कोही सौदा, र कोही सहानुभूति बटुल्दै थिए । त्यतिबेला एमाले मात्रै यस्तो पार्टी रह्यो जसले सुरुदेखि नै स्पष्ट भन्यो– यो हाम्रो व्यवस्थामाथिको आक्रमण हो, यो देशमाथिको प्रहार हो ।
 
राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा केही समय हामी पनि सुरक्षित स्थानमा रही समीक्षारत रह्यौं । नेताहरू, समाजका अगुवाहरू मारियून्, समाप्त होऊन् भन्ने चाहना गर्ने कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ; हेलिकप्टर चढेर भागे । महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरुङ खनेर बच्नुप¥यो । इतिहासले दोष कसलाई दियो ? आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई ? प्रश्न त्यत्ति हो । त्यो महाविनाश न हामीले बिर्सेका छौं, न बिर्सनेछौं । त्यस दिनको महाविनाशको छानबिन होस्, दोषी पहिचान होस्, अपराधीले सजाय पाऊन् । 

त्यो असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ । देश अन्योलमा थियो । त्यो अन्योल चिर्न संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू स्पष्ट राख्यौं । यदि संसद्भन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए, दलहरूबीच सहमति हुनुपर्छ– संसद्मार्फत संविधान संशोधन गर्नुपर्छ । प्रतिनिधिसभा विघटन हुनुहुँदैन । यही हाम्रो दृढ अडान थियो । कामचलाऊ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ । तर देशलाई उल्टो दिशामा लगियो, संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो । त्यसैले हामी भन्छौं, अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ । जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीतिबाहिर धकेल्नु हो । यस्तो कामले लोकतन्त्र बलियो हुँदैन । त्यसैले, प्रतिनिधिसभा विघटन मान्य छैन । हाम्रो माग स्पष्ट छ, प्रतिनिधिसभा तुरुन्त पुनस्र्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् ।

सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ ? अहँ देखिँदैन । चुनाव चाहने सरकार के गथ्र्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा, जुलुस खुला गथ्र्यो । दलका गतिविधि प्रोत्साहित गथ्र्यो । चुनावको अनिवार्य शर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गथ्र्यो । तर अहिले के भइरहेको छ ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थानहद । निषेधाज्ञा । 

यसरी चुनावको वातावरण बन्छ कि डरको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतंक बढ्छ ? जनताले चाहेको कुरा स्पष्ट छ– साँचो प्रतिस्पर्धा, स्वतन्त्र चुनाव र निष्पक्ष वातावरण । हाम्रो पनि भनाइ यही हो– डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ? तर अहिले कहाँ चुनाव हुँदैछ र ? चुनावको कुरा मात्र भइरहेको छ । त्यसैले हाम्रो अडान छ, प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ ।

म हाम्रा युवाहरूलाई यो पनि स्मरण गराउन चाहन्छु, प्रविधि जति अगाडि बढे पनि तपाईंहरूको सुरक्षित भोलि लोकतन्त्र, संविधान, शान्ति र राजनीतिक स्थायित्वमाथि नै निर्भर छ । यसका लागि दलहरू अनिवार्य पक्षहरू हुन् । कुनै दल मन नपर्न सक्छ, अर्कोमा जोडिन सकिन्छ । या आफैं दल खोल्न पनि सकिन्छ । तर विचारका आधारमा स्थापना भएका, लामो इतिहास भएका र आन्दोलनको अग्निपरीक्षामा खारिएका दलहरूलाई कमजोर गरेर देश बन्दैन । विचार बिनाका दल र उत्तरदायित्वबिनाका पात्रहरूले अन्ततोगत्वा मुलुकलाई संकटको भुँमरीमा होम्छन् ।

हाम्रो महाधिवेशन लोकतान्त्रिक अभ्यास, वैचारिक गन्तव्यप्रतिको स्पष्टता र एकताको एउटा उदाहरणका रूपमा आयोजना भइरहेको छ । यस्तो परिस्थितिमा हामी हरेकले गहिरो जिम्मेवारीबोधका साथ पार्टीलाई कुनै प्रकारको क्षति हुन नदिनु र उन्नत एकता कायम गर्नु जरुरी छ । हामी कसैको कुनै पनि कार्यक्रम बिथोल्ने, बाधा व्यवधान पु¥याउने काम गर्दैनौं । कसैले पनि अरूका कार्यक्रममा व्यवधान उत्पन्न गर्नु सभ्य र लोकतान्त्रिक आचरण होइन । मैले विश्वास लिएको छु, एमालेका कार्यक्रमहरू बिथोल्न कसैले पनि प्रयास गर्ने छैन । 

म नेपालका सम्पूर्ण राजनीतिक दलहरू, अन्य संघसंस्थाहरू, नागरिक समाज, मिडिया र आम जनसमुदायलाई आजको असहज परिस्थितिको मिलेर समाधान गर्न यस मञ्चबाट आग्रह गर्दछु । साथीहरूलाई स्पष्ट हुन म आग्रह गर्छु । आजको हाम्रो संघर्ष, जेनजी पुस्ता र पाको पुस्ताबीचको हुँदै होइन । पुराना दल र नयाँ पुस्ता बीचको पनि हुँदै होइन । संघर्षको केन्द्रबिन्दु त देश बनाउने र देश जलाउने बीचको हो । मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैंभरि देश बनाउने कित्तामा उभिनेछ । निश्चय नै, तपाईंहरूको अपेक्षा र राज्यको डेलिभरी क्षमता बीचमा ग्याप छ । तपाईंहरू प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ, एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरूको भीड र कर्मचारीहरूको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस् । 

अवसरहरू सबैका लागि बराबर होउन् । आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस् । योग्यताका आधारमा छनोट होस् । तपाईंहरूका अपेक्षा बिल्कुल जायज छन् । यस दिशामा केही उपलब्धि पनि भएका छन् । तर थुपै्र काम गर्न बाँकी छ । तर ती बाँकी काम देखेर या अन्याय देखेर आक्रोशित हुनु स्वाभाविकै हो । तर त्यो आक्रोश रचनात्मक ढंगले प्रयोग हुनुपर्छ, जसरी पहाडबाट बगिरहेको खोला बाँधमा बाँधिएर, पेनस्ट्रक पाइपमा छिरेर, टर्बाइनमा पुग्दा ऊर्जाको उज्यालोमा रूपान्तरित हुन्छ । नत्र त त्यसले बाढी बनेर बस्ती बगाउँछ, विपत्ति सिर्जना गर्छ । तपाईंको जायज गुनासोलाई हिंसा र विध्वंशको इन्धन बनाउन खोज्नेहरूबाट जोगिनुहोस् । तपाईंहरूका जायज आवाजको आडमा देशको विरुद्ध हिंसा र सत्तास्वार्थको रोटी सेक्नेलाई चिन्नुहोस् । देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिनुहोस् ।

म युवा पुस्तालाई भन्न चाहन्छु, असहमति राख्नुस्, आलोचना गर्नुस्, जवाफ माग्नुस् । तर एउटा कुरा नबिर्सनुस्, आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने, सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन । यसै मञ्चबाट म सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गर्छु, जहाँ सकिन्छ त्यहाँ, युवालाई अगाडि सारौं उनीहरूको कुरा ध्यान दिएर सुनौं । उनीहरूको जायज एजेण्डालाई उचित स्थान दिऔं । युवापुस्तासँगको हाम्रो सहकार्य भावनात्मक मात्र होइन, यसको आधार छ, सिद्धान्तमा दृढ, अनुशासन र आपसी एकता भएको पार्टी ।

हाम्रो राजनीति केवल सत्ता बदल्ने राजनीति होइन, जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति हो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यको सुरक्षा हो । अर्को शब्दमा सुरक्षा, समृद्धि र सुखको सुनिश्चितता हो । जहाँ नागरिकको ज्यान, अधिकार, सम्मान, देशको अस्तित्व र भविष्य सुरक्षित होस् । यस जटिल परिस्थितिमा अनेक चुनौतीहरूको सामना गर्दै आफ्नो गन्तव्यतर्फ दृढता र सक्रियताका साथ अगाडि बढौं । अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौं । वर्तमान असंवैधानिक सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको छ । त्यसका लागि एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने ‘सरकार–जेनजी सम्झौता’ जस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरूको जालो पनि बुनिरहेको छ । यस स्थितिलाई तोडेर संविधानलाई पुनः लिकमा फर्काउनु छ, जहाँ नेपाल सुरक्षित होओस् ।
एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहमा केपी ओलीद्वारा प्रस्तुत भाषणको सम्पादित अंश । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्