नेभिगेशन
राजनीति

जेनजी म्यान्डेट एमालेमा अस्वीकृत

महाधिवेशनमार्फत् पनि त्यस आन्दोलनको राजनीतिक सन्देश अस्वीकार गरेको संकेत

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई निरन्तर तिरस्कार गर्दै आएको एमालेले पार्टीको जारी ११औं महाधिवेशनमार्फत् पनि त्यस आन्दोलनको राजनीतिक सन्देश अस्वीकार गरेको संकेत दिएको छ । आन्दोलनलाई अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वशैलीको प्रतिफलका रूपमा विश्लेषण भइरहँदा ओलीले त्यसलाई अस्वीकार मात्र गरेनन्, प्रतिक्रान्तिको संज्ञा नै दिएका छन् । आन्दोलनको सामाजिक राजनीतिक सन्देश आत्मसात् गर्नुको साटो ओलीले त्यसलाई घुसपैठ, विध्वंस र बाह्य योजनाको उपज भन्दै निरन्तर अवमूल्यन गर्दै आएका छन् । आलोचना नसुन्ने प्रवृत्ति र नेतृत्व अडानभित्रको अहंकारलाई महाधिवेशनले करेक्सन गर्ने सम्भावना पनि न्यून देखिएको छ ।

यसैबीच, एमालेभित्र उठिरहेको नेतृत्व हस्तान्तरणको माग कुनै भावनात्मक नारा मात्र नभई पार्टीको संरचनागत संकट, बदलिँदो सामाजिक यथार्थ र जेनजी आन्दोलनले उजागर गरेको गहिरो असन्तोषको प्रतिफल भएको विश्लेषण हुन थालेको छ । जेनजी आन्दोलनपछि एमाले अब ओली–केन्द्रित संरचनामा टिक्न सक्छ कि सक्दैन भन्ने प्रश्न तीव्र बनेको छ ।

आत्मआलोचनाको अभाव, अविश्वासको विस्तार

जेनजी आन्दोलनपछि पनि एमाले नेतृत्वबाट औपचारिक रूपमा एकपटक पनि आत्मआलोचना वा क्षमायाचनाका शब्द नआएको आन्दोलनका अगुवाहरूको दाबी छ ।

यद्यपि सल्लाघारीमा भएको अधिवेशन उद्घाटनमा जेनजी आन्दोलनमा दिवंगतप्रति मौन धारण गरिएको थियो । त्यो मौन धारण एमालेले जेनजी प्रदर्शनमा ज्यान गुमाएकाप्रति देखाएको एमात्र संवेदनशीलता थियो । तर, मौन धारण देखाउनका लागि मात्रै थियो, जेनजीका आवाजलाई पार्टीले सुनेको संकेत नेताका अधिव्यक्तिमा आएनन् ।

जेनजी मुभमेन्टका अगुवाहरूका अनुसार, भदौ २३ को घटनामा राज्य र पार्टीसम्बद्ध शक्तिको भूमिकामाथि उठेको प्रश्नलाई सम्बोधन गर्नुको साटो एमाले नेताहरूले आन्दोलनलाई सार्वजनिक रूपमा गिज्याउने, बदनाम गर्ने र धम्कीपूर्ण भाषामा प्रस्तुत गर्ने रणनीति अपनाए । यसले पार्टीलाई झन् अलोकप्रिय र अविश्वसनीय बनाउँदै लगेको टिप्पणी राजनीतिक विश्लेषकहरू गर्छन् ।

एक व्यक्तिमा केन्द्रित शक्ति

बहुपदीय संरचनामा रहे पनि पछिल्ला वर्षहरूमा एमालेभित्र निर्णायक शक्ति एक व्यक्तिमा अत्यधिक केन्द्रित हुँदै गएको आरोप पार्टीभित्रैबाट उठ्दै आएको छ । अध्यक्ष ओलीको वरिपरि नीति, संगठन र निर्णय प्रक्रिया सीमित हुँदा सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्र क्रमशः कमजोर बन्दै गएको छ ।

वैकल्पिक विचार, आलोचना वा सुझावलाई ‘अनुशासनहीनता’ का रूपमा लिने प्रवृत्तिले आत्मसुधारको ढोका बन्द हुँदै गएको भन्दै अब कार्यसमिति परिवर्तनको सम्भावनाबारे विश्वास कमजोर बन्दै गएको छ । एमाले नेतृ उषाकिरण तिम्सिना भन्छिन्, ‘हामीले अपनाएको विधि र पद्धतिलाई बलियो बनायौं भने मात्र जनताको विश्वास बढ्छ । नेतृत्व परिवर्तन हुनुपर्छ ।’

तर, पार्टीको ठूलो पंक्ति जेनजी आन्दोलनलाई अराजक र विध्वंसको संज्ञा दिँदै ओलीको निरन्तरताको पक्षमा उभिएको देखिन्छ । ‘जेनजी आन्दोलन के हो ? कुनै विचार, राजनीति वा दर्शन हो ? यसको परिणति त विध्वंस, आगजनी र लुटपाट हो,’ नेतृ रामकुमारी झाँक्री भन्छिन्, ‘यस्तो कुरालाई एमालेले अनुकरण गर्नुपर्ने विषय होइन ।’

विश्लेषकहरूका अनुसार जेनजी आन्दोलनका मूल कारण बेरोजगारी, भ्रष्टाचार, अवसरको अभाव, विदेश पलायन र नेतृत्वप्रतिको घट्दो विश्वास हुन् । तर, यी कारण स्वीकार्नु भनेको राज्य सञ्चालन र पार्टी नेतृत्वमा असफलता स्वीकार्नु हो । यही कारण ओली आन्दोलनको गहिराइमा जान इच्छुक नदेखिएको विश्लेषण गरिन्छ । एमाले नेतृत्वले जेनजी आन्दोलनपछि पार्टीमाथि भइरहेको आलोचनालाई योजनाबद्ध ‘मिसन’ का रूपमा व्याख्या गरेको छ ।

नेतृ पद्मा अर्याल भन्छिन्, ‘पहिले सरकार वा एमालेविरुद्धको लडाइँ जस्तो देखिन्थ्यो, तर अब राज्यविरुद्धकै अभियान रहेछ भन्ने पुष्टि भएको छ । महाधिवेशनले एमाले कमजोर छैन भन्ने सन्देश दिएको छ ।’

तर, एमालेकै नेताहरू भने आत्मसमीक्षा अपरिहार्य रहेको स्वीकार गर्छन् । ‘सरकारमा भएकाले नैतिक जिम्मेवारी एमालेको पनि हुन्छ । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो। गम्भीर समीक्षा हुनुपर्छ भन्ने फैसला भइसकेको छ ।’ नेता विशाल भट्टराई भन्छन्, ‘विधान संशोधनको मूल कारण पनि जेनजी आन्दोलन नै हो ।’

शुद्धीकरणविना पुनर्जीवन सम्भव छैन

राजनीतिक नेतृत्वमा उमेर मात्र निर्णायक नहुने भए पनि समयसँगै पुस्तान्तरण अपरिहार्य हुने विश्लेषकहरूको तर्क छ । एमालेभित्र नेतृत्व हस्तान्तरणको माग स्वाभाविक रूपमा उठ्नुको कारण यही हो । नयाँ पुस्ताका नेता, कार्यकर्ता र प्रतिनिधिहरू नेतृत्वमा प्रत्यक्ष सहभागिताको अवसर खोजिरहेका छन् । तर, अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणलाई कमजोरीका रूपमा लिँदै आएको आरोप पार्टीभित्रैबाट उठिरहेको छ । यसले पुस्तान्तरण अवरुद्ध हुँदा पार्टी र युवाबीचको दूरी झन् बढाएको महाधिवेशन प्रतिनिधिहरू नै स्वीकार गर्छन् ।

एमालेभित्रको दिग्भ्रम, गुटबन्दी, अवसरवाद र अनुशासनहीनता अन्त्य गर्न शुद्धीकरण अपरिहार्य भएको आवाज व्यापक छ । तर, शुद्धीकरणको पहिलो सर्त नेतृत्व तहबाट उदाहरण प्रस्तुत हुनु हो । नेतृत्व स्वयं आलोचनामाथि उभिन नसक्ने अवस्थामा संगठन सुध्रिन नसक्ने निष्कर्षमा धेरै कार्यकर्ता पुगेका छन् ।

निर्णायक मोडमा एमाले

११औँ महाधिवेशन एमालेका लागि केवल पदाधिकारी चयनको प्रक्रिया होइन, पार्टीको दिशा, मूल्य र भविष्य निर्धारण गर्ने निर्णायक क्षण हो । यदि ब्यालेट बक्सले नेतृत्व हस्तान्तरणको संकेत दियो भने एमालेले नयाँ पुस्तासँग पुनः सम्बन्ध गाँस्ने अवसर पाउनेछ । तर, यदि महाधिवेशनले फेरि पनि यथास्थितिवादी निर्णय दोहोर्‍यायो भने एमालेले जेनजीको म्यान्डेट मात्र होइन, आफ्नो राजनीतिक विश्वसनीयता समेत गुमाउने खतरा बढ्ने विश्लेषकहरूको चेतावनी छ । नेतृत्व हस्तान्तरण अब विकल्प होइन, एमालेको अस्तित्व र पुनर्जीवनसँग गाँसिएको प्रश्न बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्