नेभिगेशन
अर्थतन्त्र

बैंक कर्मचारीमाथि आक्रमणप्रति सीबीफीनको आपत्ति

काठमाडौं । सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि भएको आक्रमण प्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले आपत्ति जनाएको छ । लामो समयदेखि नियमित हुन नसकेको कर्जाको किस्ताबारे समाधान खोज्ने उद्देश्यले ऋणीको आग्रहमा छलफलका लागि पुगेका बैंक कर्मचारीहरूलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेको ऋणीहरूको समूहले घण्टौँसम्म नियन्त्रणमा राखेर दुव्र्यवहार र हिंस्रक आक्रमण गरेको भन्दै सीबीफीनले भत्र्सना गरेको हो ।

घटना अत्यन्तै लज्जास्पद, घृणित र आपराधिक प्रकृतिको भएको सीबीफीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घटनापछि स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै पीडितको जाहेरी दर्ता नगरी मिलापत्रका लागि दबाब दिएको भन्दै सीबीफीनले आपत्ति जनाएको छ ।

संघले बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील र अत्यावश्यक क्षेत्रमाथि गरिएको ज्यादतीले कर्मचारीहरूको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने उल्लेख गर्दै दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ । जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिलाई सहजीकरण गर्दै शान्ति सुरक्षा, सुशासन तथा आर्थिक गतिविधि सुदृढ गर्न सरकार लागिरहेकै बेला बैंकिङ क्षेत्र र कर्मचारीमाथि भएको यस्तो आक्रमणलाई सरकारमाथिर्क आक्रमणको रुपमा लिइनुपर्ने सीबीफीनले जनाएको छ ।

बैंकिङ सेवामा अवरोध सिर्जना गर्ने, अफवाह फैलाउने, कर्जा नतिर्न दुरुत्साहन गर्ने तथा कर्मचारीमाथि भौतिक आक्रमण र मानमर्दन गर्ने कार्यहरूलाई प्रश्रय नदिन सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।

बैंकिङसम्बन्धी गुनासा माथिल्लो व्यवस्थापन वा नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाईमा राख्न सकिने व्यवस्था हुँदाहुँदै कानून हातमा लिनु निन्दनीय भएको सीबीफीनले ठहर गरेको छ । संघले बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूको प्रभावकारी सुरक्षा सुनिश्चित गर्दै बैंकिङ सेवा निर्वाध सञ्चालनका लागि अपील गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्