काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउन–मंसिर) अवधिमा ४३८ वटा उद्योग स्थापनाका लागि ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार यस अवधिमा विभिन्न सात क्षेत्रमा विदेशी लगानीकर्ताबाट प्राप्त भएको लगानी प्रतिवद्धता स्वीकृत भएको छ ।
मंसिर महिनामा मात्रै ५६ उद्योग स्थापनाका लागि एक अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । कात्तिकमा ७१ उद्योगका लागि एक अर्ब ५४ करोड ३९ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो । असोज महिनामा ७५ उद्योगका लागि दुई अर्ब चार करोड ५७ लाख ३२ हजार रुपैयाँ, भदौ महिनामा एक सय नौवटा उद्योगमा आठ अर्ब ९८ करोड ७० लाख र साउनमा एक सय २७ उद्योगका लागि २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बाराबरको लगानी प्रतिवद्धता आएको थियो ।
भदौ महिनामा भएको जेनजी आन्दोलनको क्रममा उद्योग व्यवसायमा आक्रमण भएपछि लगानीको वातावरण विग्रिएको उद्योगी व्यवसायीले बताउँदै आएका छन् । भदौ महिना देखि नै विदेशी लगानीकर्ताले उद्योग स्थापनाका लागि गर्ने लगानी प्रतिवद्धता पनि घट्दै गएको छ । राजनीतिक अस्थिरता र पटक–पटकको आन्दोलनबाट वैदेशिक लगानीमा नकारात्मक प्रभाव पर्नु स्वभाविक भएको विभागका अधिकारीहरू बताउँछन् ।
मंसिर मसान्तसम्म लगानी रकमको आधारमा कृषि तथा वनजन्य उद्योग र परियोजना संख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । कृषिमूलक उद्योगमा १३ वटा उद्योगका लागि २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
उत्पादनमूलक उद्योगका २४ वटा परियोजनामा एक अर्ब ९७ करोड २३ लाख ५८ हजार ५५२ रुपैयाँ, ऊर्जामूलक उद्योगका एउटा परियोजनामा १८ करोड २५ लाख ५० हजार रुपैयाँ, पर्यटनमुलक १३५ उद्योगका लागि १० अर्ब १२ करोड २० लाख ५० हजार रुपैयाँ लगानी प्रतिवद्धता स्वीकृत गरिएको विभागले जनाएको छ । यस्तै, सेवामूलक उद्योगका २८ परियोजनामा तीन अर्ब ३८ करोड ६० लाख रुपैयाँ, सूचना प्रविधिमूलक उद्योगका २३६ परियोजनामा ९९ करोड ८९ लाख ८६ हजार रुपैयाँ र खनिज उद्योगमा चार करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । पूर्वाधारमुलक उद्योगमा भने अहिलेसम्म कुनै पनि उद्योग स्थापनाका लागि लगानी प्रतिवद्धता नआएको विभागको प्रतिवेदनमा उल्लेख छ ।
विभागका अनुसार कुल लगानीमध्ये कृषि क्षेत्रमा ५७ प्रतिशत, पर्यटनमा २६ प्रतिशत, सेवा क्षेत्रमा नौ प्रतिशत, उत्पादनमा पाँच प्रतिशत, सूचना प्रविधिमा तीन प्रतिशत र उर्जामा एक प्रतिशतभन्दा कम लगानी प्रतिवद्धता आएको छ ।
विभागले लगानी स्वीकृत गरेका आयोजनामा कुल ३३ हजार आठ सय १४ जनाले रोजगारी प्राप्त गर्ने प्रतिवदता लगानीकर्ताले जनाएका छन् । मंसिरमा मात्रै प्राप्त लगानीबाट एक हजार चार सय ७० जनाले रोजगारी पाउने छन् ।
विभागले स्वीकृत गरेको प्रतिवद्धता अनुसार वैदेशिक लगानी भित्रिएको भने पाइदैन । हरेक वर्ष अर्बौंको लगानी प्रतिवद्धता आएपनि पछि लगानी नआउने प्रवृति बढी देखिन्छ । केही मानिसहरू नेपालमा लगानी गर्ने बाहनामा केही समय घुमफिर गर्न भिसा पाउने वातावरण बनाउन पनि लगानी प्रतिवद्धता गर्ने गरेको सरोकारवालाहरूको आरोप छ ।
विभागले हालसम्म कुल ७,६७७ वटा परियोजनाका लागि छ खर्ब ७४ अर्ब ८३ करोड ३८ लाख ८३ हजार रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
२०८२ साउन देखि मंसिरसम्मको वैदेशिक लगानी प्रतिवद्धता
