नेभिगेशन
अर्थतन्त्र

मध्य चमेलियाको निर्माण ३० प्रतिशत पूरा

काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुलामा निर्माणाधीन २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य ३० प्रतिशत पूरा भएको छ । जिल्लाको मार्मा गाउँपालिकामा अपि पावर कम्पनीको मुख्य लगानी रहेको आयोजनाको बाँध, पाइप लाइन र विद्युत गृह निर्माणमा यति प्रगति भएको हो ।

अहिले आयोजनाको बाँध, पाइप लाइन, सर्ज ट्यांक, विद्युत गृहलगायतका संरचना निर्माणको काम धमाधम भइरहेको प्रवर्धक दार्चुला पावर लिमिटेडका अध्यक्ष सञ्जीव न्यौपानेले बताए । दार्चुला पावर लिमिटेड अपि पावरको सहायक कम्पनी हो ।

बाँध क्षेत्रमा डिसेन्डिङ, बेसिन इन्टेक गेट लगायत संरचनाको काम भइरहेको उनले जानकारी दिए । न्यौपानेका अनुसार ७ किलोमिटर पाइप लाइन निर्माण गर्नुपर्नेमा एक किलोमिटरको काम पूरा भइसकेको छ । अपि पावरको मुख्य लगानीमा दार्चुलामा निर्माण भइरहेको यो चौथो जलविद्युत् आयोजना हो ।

२०८१ फागुनबाट आयोजनाको सिभिल संरचना निर्माणको काम सुरु गरिएको थियो । चमेलिया नदीको पानी उपयोग गरी विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले यो आयोजना निर्माण भइरहेको हो ।

नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पीपीए)अनुसार आयोजनाबाट २०८६ साल फागुनदेखि उत्पादन गर्ने तालिका छ । तर, प्राधिकरणले दिएको तालिकाभन्दा अगावै अबको एक वर्षभित्र नै आयोजना सम्पन्न गरी उत्पादन सुरु गर्ने गरी निर्माण कार्यलाई गति दिएको कम्पनीका अध्यक्ष न्यौपानेले दाबी गरे ।

आयोजना निर्माण सम्पन्न गर्न पाँच अर्ब ६६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइमा नबिल बैंकले पनि ऋण लगानी गरेको छ । आयोजनाको प्रवर्धक कम्पनी र बैंकहरूबीच भएको वित्तीय व्यवस्थापन सम्झौताअनुसार चार अर्ब २४ करोड पाँच लाख रुपैयाँ ऋण लगानी छ । न्यौपानेका अनुसार बैंकहरूले ऋणबापत गरेको लगानी कुल लागतको ७० प्रतिशत हो । कुल ऋणमध्ये नेपाल बैंकले दुई अर्ब २४ करोड पाँच लाख रुपैयाँ ऋण लगानी गरेको छ । नबिल बैंकका तर्फबाट दुई अर्ब रुपैयाँ ऋण लगानी व्यवस्थापन गरिएको छ ।

‘ब्याजसहित प्रतिमेगावाट २० करोड रुपैयाँ अनुमानित लागतभित्रै आयोजना सम्पन्न गर्ने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘बैंकले गर्ने लगानी कुल लागतको ७० प्रतिशत हो, ३० प्रतिशत स्वपुँजी लगानी गरेका छौं ।’ स्वपुँजी लगानीको ५९ प्रतिशत लगानी माउ कम्पनी अपि पावरले गरिरहेको पनि न्यौपानेले जानकारी दिए । स्वपुँजी लगानीको केही हिस्सा स्थानीय तथा सर्वसाधारणका लागि शेयर निष्कासन गरी व्यवस्थापन गरिने उनले बताए । प्रवर्धक कम्पनीले साधारण शेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने प्राधिकरणले निर्माण गरेको १३२ केभी बलाँच सबस्टेसनमा लगेर जोडिनेछ । आयोजनाको विद्युत् गृहदेखि बलाँच सबस्टेसनसम्मको दूरी ८ किलोमिटर छ । यो आयोजनाको विद्युत् बलाँच सबस्टेसन पुर्‍याउन अपि पावरले नै यसअघि ४० मेगावाटको माथिल्लो चमेलियाको विद्युत् प्रवाहका लागि निर्माण गरेको प्रसारण लाइनमा ट्यापिङ गरिनेछ ।

‘हामीले पहिले नै डबल सर्किट लाइन निर्माण गरिसकेका छौं, मध्य चमेलियाको विद्युत गृहदेखि यो प्रसारण लाइनसम्म २ वटा टावर थप निर्माण गरेर जोड्ने छौं,’ उनले भने । आयोजना सञ्चालनमा आउँदा वार्षिकरूपमा १८५.६२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । वर्षा यामको उत्पादन ११८.५२ गिगावाट घण्टा र सुख्खा यामको उत्पादन ६७.१० गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्