नेभिगेशन
अर्थतन्त्र

शेयरबजारमा सामान्य वृद्धि

काठमाडौं  शेयरबजार बुधबार सामान्य अंकले बढेको छ । कारोबार मापन नेप्से परिसूचक ५.७० अंक बढेर २,६२५.६९ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि मंगलबारको तुलनामा केही बढेको छ । कुल चार अर्ब पाँच करोड ३७ लाख रुपैयाँ बराबरको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५८ कम्पनीमध्ये १४३ वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । बाँकीमध्ये १०४ वटाको शेयरमूल्य घटेको छ भने ११ वटाको बढेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १.१८ अंक बढेर ४५१.८६ विन्दुमा कायम भएको छ । यस्तै, साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक ०.५२ अंक बढेर १७९.७५ विन्दुमा र सेन्सिटिभ फ्लोट ०.४५ अंक बढेर १५३.२२ विन्दुमा कायम भएको छ ।

सूचीकृत १३ समूहमध्ये होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूह घटेका छन भने बाँकी सबै बढेका छन् । होटल तथा पर्यटन र निर्जीवन बीमा समूह ०.३७ प्रतिशत र व्यापार समूह ०.२७ प्रतिशत घटेको छ । लगानीकर्ताहरू बुधबार सबैभन्दा धेरै फाइनन्स समूहमा झुम्मिएका छन् । यो समूह सर्वाधिक १.७५ प्रतिशत बढेको छ । त्यसपछि विकास बैंक ०.७१, जीवन बीमा ०.६६, म्युचुअल फण्ड ०.५०, उत्पादन तथा प्रशोधन ०.४०, बैंकिङ ०.३१, जलविद्युत् ०.१३, लघुवित्र ०.०७, अन्य ०.०५ र लगानी ०.०४ प्रतिशत बढेको छ ।

यसदिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य भने १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै शेयर कारोबार युनियन हाइड्रोपावरको भएको छ । यो कम्पनीको कुल २२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

लगानीकर्ताको सम्पत्ति एक दिनमा नौ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब आठ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयर तर्फको कारोबार मापन गर्ने फ्लोट मार्केट पुँजीकरण पनि पाँच अर्ब रुपैयाँ बढेर १४ खर्ब ९३ अर्ब रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय ब्याजदर सस्तो भए पनि त्यसको प्रभाव शेयरबजारमा पर्न सकेको छैन । खासगरी राजनीतिक स्थिरता नहुनु र लगानीको वातावरण बन्न नसक्दा बजार प्रभावित भएको छ । केही दिन यता लगानीकर्ताले बलियो आधार लाइन मानेको २६ सय विन्दु नजिक नेप्से झरेको छ । त्यसैले लगानीकर्ताहरू पर्ख र हेरको रणनीतिमा देखिन्छन् । त्यसैले नेप्सेमा समान्य उतारचढाव भएको र कारोबार रकम पनि विगतमा जस्तो धेरै हुन सकिरहेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्