नेभिगेशन
अर्थतन्त्र

पोखरामा सडक महोत्सव हुँदै

काठमाडाैं । पोखरा सडक महोत्सवको २७औं संस्करण पुस १३ गतेदेखि हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरा सडक महोत्सव गर्न लागेको हो । पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सास्कृतिक झाँकीहरू, मौलिक भेषभूषा र परम्परागत नृत्यहरूको प्रदर्शन गरिने आयोजकले जनाएको छ । ‘सडकमै खाऔं, सडकमै नाचाैं, सडकमै रमाऔं’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरू राखिने छ ।

महोत्सवमा राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट र मौलिक लोकदोहोरी प्रस्तुति राखिने भएको छ । साथै फेवातालमा बोट रेस, बेटर रेस, टग अफवारलगायतका खेलकुद गतिविधिसमेत राखिएको आयोजकले जानकारी दिएको छ ।

संस्कृति र संगीतलाई प्रवर्धन गर्दै पोखराको पर्यटनमा मात्र नभई समग्र नेपालको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक वसन्त गौतमले जानकारी दिए । ‘एक समय अंग्रेजी नयाँ वर्ष मनाउन नेपाली पर्यटकहरू भारत र थाइल्याण्ड जाने परम्परालाई तोड्दै यो महोत्सवले पोखरालाई प्रमुख गन्तव्यका रूपमा स्थापित गरेको छ’, उनले भने ।

रेवानले विगत २६ वर्षदेखि पोखरा सडक महोत्सव गर्दै आएको छ । राजनीतिक अस्थिरता, आन्दोलन, भूकम्प, कोभिड–१९ महामारी, जेनजी आन्दोलन र विभिन्न सामाजिक चुनौतीजस्ता कठिन परिस्थितिका बाबजुद पनि पोखरा सडक महोत्सवले पर्यटन व्यवसायको पुनरुत्थानमा सञ्जीवनीको भूमिका खेलेको रेवानको भनाइ छ । महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउँदै स्थानीय उत्पादन, हस्तकला तथा घरेलु सामग्रीलाई प्रदर्शन र बिक्री गर्दै स्थानीय एवम् ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउने आयोजकको विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्