एलिसा अर्याल
काठमाडौं, पुस ५
नेपाली कम्युनिष्ट पार्टीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको एकता सभामा नेपालको कम्युनिष्ट आन्दोलनका प्रायः सबै परिचित र पुराना अनुहारहरू एउटै पंक्तिमा देखिए । ३ जना पूर्वप्रधानमन्त्री, ३ जना पूर्वसभामुख र दर्जनौं स्थापित नेताहरूको उपस्थितिले सभा राजनीतिकरूपमा ‘हेभिवेट’ देखिन्थ्यो । तर त्यही भीडभित्र एउटा प्रश्न थियो– यो एकताको सन्देश वास्तवमै जनताका लागि हो कि फेरि नेतृत्वकै पुनर्संयोजन मात्रै ?
माओवादी केन्द्रले एकीकृत समाजवादीसहितका नौ साना दललाई एकीकृत गरेर बनाएको पार्टी हो नेपाली कम्युनिष्ट पार्टी (नेकपा) । जसले नयाँ नाममा पार्टी गठनसँगै विभिन्न जिल्लामा एकता सभा गरिसकेपछि शनिबार काठमाडौंको भृकुटीमण्डपमा ‘एकताको अन्तिम सन्देश सभा’ आयोजना गरेको हो ।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित झण्डै डेढ दर्जन वामपन्थी दलहरू मिलेर बनेको नेकपाले देशव्यापीरूपमा सञ्चालन गर्दै आएको सन्देश सभा शृंखलाको अन्तिम कडीका रूपमा काठमाडौंमा बृहत् सभा गरेको हो । यसअघि मधेश, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यस्ता सभा सम्पन्न भइसकेका छन् । सुरुमा बागमती प्रदेशको हेटौंडामा मंसिर २३ गते गर्ने भनिएको सभा पछि काठमाडौं सारिएको थियो ।
सभामार्फत नेकपाले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने माग दोहो¥याएको छ । सभामा बोल्ने अधिकांश नेताहरूले निर्वाचनबाटै राजनीतिक वैधता पुष्टि हुने दाबी गरे । कार्यकर्ताहरू पनि निर्वाचनकै पक्षमा देखिए ।
सभास्थलमा उपस्थित नेकपा समर्थक प्रदीप राउतले भने, ‘सुशासन र भ्रष्टाचारविरुद्ध तथा नेपाली जनताको न्यायका लागि नेकपा बनेको हो । यसले जनताकै पक्षमा काम गर्छ ।’
नेतृत्वमा हेभिवेट प्रश्न भने जनाधारको
हाल नेपाली कम्युनिष्ट पार्टीमा तीन जना पूर्वप्रधानमन्त्री र तीन जना पूर्वसभामुख आबद्ध छन् । तीनपटक प्रधानमन्त्री भइसकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका प्रमुख कमाण्डर तथा संयोजकको भूमिकामा छन् भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहसंयोजकको जिम्मेवारीमा छन् । नेतृत्व संरचना हेर्दा यो दल एमालेभन्दा पनि ‘हेभिवेट’ देखिन्छ । तर, जनआधार कति छ ? चुनाव जित्न सहज होला ?
लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेका कम्युनिष्ट घटकहरूको एकीकरण प्रयासका रूपमा जन्मिएको नेकपा ‘हेभिवेट नेताहरूको बिसौनी’ जस्तो देखिएको छ । मञ्चमा अनुभवी नेताहरूको लामो सूची भए पनि वास्तविक जनसमर्थन कति छ भन्ने प्रश्न भने यथावत् छ । यद्यपि नेताहरूले पार्टीको पक्षमा पर्याप्त जनाधार रहेको दाबी गर्दै आएका छन् ।
नेकपाका नेता लुमणीप्रसाद दाहाल भन्छन्, ‘कम्युनिष्टको नाममा ढोंग गर्ने, भ्रष्टाचार गर्दा पनि चुप बस्ने प्रवृत्तिका विरुद्ध नेकपा बनेको हो । भोलिको नेतृत्व नेकपाले नै गर्छ र भ्रष्टाचार, बेथिति तथा असमानताको अन्त्य गर्छ ।’
समर्थक भरत दाहालका अनुसार, ‘सातै प्रदेशका नेपाली जनता उत्साहित छन् । नेकपाप्रति आबद्ध हुन चाहनेहरूको लर्को लागेको छ ।’
यता जेनजी आन्दोलनले नेतृत्व परिवर्तनको माग तीव्र बनाइरहेको सन्दर्भमा लामो समयदेखि सत्ता र पार्टी नेतृत्वमा रहेका अनुहारप्रति अस्वीकारको संकेत देखिन थालेको विश्लेषण गरिन्छ । यद्यपि पार्टीले उचित समयमा महाधिवेशन गरी संयोजकले नेतृत्व हस्तान्तरण गर्ने आश्वासन दिएकाले नेता–कार्यकर्ताहरू ढुक्क देखिन्छन् ।
विभाजन र एकताको पुरानो चुनौती
नेपाली कम्युनिष्ट आन्दोलन सधैं विभाजनको सिकार हुँदै आएको इतिहास छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीदेखि २०७५ सालमा बनेको तत्कालीन नेकपासम्म आइपुग्दा कम्युनिष्ट धारणा दर्जनौं टुक्रामा विभाजित हुँदै आएको देखिन्छ । पछिल्लो एकीकरणमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका असन्तुष्ट समूहहरू समेत समेटिएका छन् ।
तर विगतकै जस्तै नेतृत्वको अहंकार, सैद्धान्तिक मतभेद र शक्ति संघर्षले यो एकता कति समय टिक्ला भन्ने प्रश्न अझै अनुत्तरित छ । यद्यपि नेकपाका नेता–कार्यकर्ताहरू भने वर्तमान राजनीतिक परिस्थितिमा एकता अपरिहार्य रहेको बताउँछन् ।
समर्थक मानबहादुर तामाङ भन्छन्, ‘सकेसम्म एउटै भएर जानु राम्रो हो । राजनीतिक अस्थिरताका कारण विकास हुन सकेको छैन । अहिले एकता सबैभन्दा आवश्यक छ ।’ राजनीतिक विश्लेषकहरूका अनुसार दलहरू एकीकृत भए पनि संगठन विस्तार, नीतिगत स्पष्टता र जनतासँग जोडिने विश्वसनीय रणनीति निर्माण गर्न नसके इतिहासले फेरि अर्को असफल अध्याय नदोहो¥याउने कुनै ग्यारेन्टी छैन । नयाँ नाम र नयाँ गठबन्धन भए पनि नेतृत्वको चरित्र र सत्ताकेन्द्रित प्रवृत्ति उस्तै रहेको टिप्पणी पनि सुनिन्छ ।
जेनजी र महिलालाई प्राथमिकता
यसैबीच नेकपाले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीहरूलाई सर्कुलर जारी गरेको छ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना ‘जेनजी’ युवा र एक महिलासहित बढीमा पाँच जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
समानुपातिकतर्फ कम्तीमा दुई महिलाको नाम अनिवार्यरूपमा पठाउनुपर्ने उल्लेख छ । साथै सम्पर्क समन्वय प्रदेश, उपत्यका विशेष प्रदेश, प्रवास प्रदेश तथा जनवर्गीय संगठन र मोर्चाका केन्द्रीय समितिहरूले दुई महिला र दुई पुरुषका दरले चार–चार जना उम्मेदवार सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
वास्तविक परीक्षा मतपेटिकामा
नेपाली कम्युनिष्ट पार्टीको यो एकता मञ्चीय घोषणामै सीमित रहने कि संगठन, नीति र जनविश्वासमा रूपान्तरण हुने भन्ने प्रश्न निर्णायक मोडमा पुगेको छ । विगतमा पटक–पटक नेताहरू एउटै मञ्चमा उभिँदैमा संगठन बलियो रहेको ग्यारेन्टी नहुने घटनाक्रमले देखाएको छ ।
वास्तविक परीक्षा मञ्चमा होइन, मतपेटिकामा हुन्छ । नयाँ अनुहार, जेनजी सहभागिता र महिलालाई प्राथमिकताको घोषणाले केही आशा जगाए पनि नेतृत्वको अहंकार, शक्ति–केन्द्रित राजनीति र पुरानै सत्ताप्रवृत्तिले फेरि एकता भत्किए त्यो आशा छिट्टै निराशामा बदलिन सक्छ । अन्ततः नेकपा साँच्चै नयाँ राजनीतिक विकल्प बन्ने कि अर्को असफल प्रयोगका रूपमा इतिहासमा दर्ज हुने ? त्यसको फैसला आउने निर्वाचनले नै गर्नेछ ।