नेभिगेशन
अर्थतन्त्र

सूचक ओह्रालो, लगानीकर्ता सतर्क

केही कम्पनी र योजनामा सीमित मात्रामा उत्साह देखिनु बजार पूर्ण रूपमा निराशाजनक अवस्थामा नरहेको संकेत

काठमाडौं । साताको अन्तिम कारोबार दिन पुँजीबजारले लगानीकर्तालाई निराश पारेको छ । नेप्से दोहोरो अंकले घट्नुका साथै कारोकार रकम अघिल्लो दिनका तुलनामा घटेको छ ।

बिहीबार नेप्से १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा बजार बन्द हुँदा १३ मध्ये एउटामात्रै उपसमूह हरियो रह्यो । अन्य उपसमूहबाहेक १२ वटै घटेका हुन् । सर्वाधिक गिरावट व्यापार उपसमूहको १.०९ प्रतिशत रह्यो । ६३ कम्पनीको शेयरमूल्य बढ्दा १८९ वटाको घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रह्यो ।

१ करोड १ लाख ५३ हजार २२६ कित्ता शेयर ४ अर्ब ७१ करोड ३९ लाख५ हजार ४७० रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिनका तुलनामा सूचक र कारोबार दुवै घटेको हो । यसअघि बुधबार नेप्से १०.८७ अंकले बढेर २,६३३.७६ विन्दुमा कायम रहँदा १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार ग्लोबल आइएमई समुन्नत योजना–२ का इकाइका इकाधनी बढी नोक्सानमा परेका छन् । उक्त योजनाको इकाइ मूल्य ओह्रालो लाग्दै नेगेटिभ सर्किट नै लागेको छ ।

शेयरमूल्य बढ्दा वीन नेपाल लघुवित्तका लगानीकर्ताले आकर्षक नाफा गरेका छन् । उक्त संस्थाको शेयरमूल्य बढेर पाजेटिभ सर्किट नै लागेको छ । यस्तै एसवाइ प्यानल नेपालको शेयरमूल्य ९.०९ र हिमस्टार ऊर्जा कम्पनीको ८.०९ प्रतिशतले बढेको छ । बजारमा सर्वाधिक कारोबार हुने कम्पनीमा एसवाइ प्यानल नेपाल पहिलो नम्बरमा रह्यो । उक्त कम्पनीको शेयर २३ करोड ४१ लाख रुपैयाँ बराबरको किनबेच भएको छ भने शेयरको अन्तिम मूल्य प्रति कित्ता १ हजार ५६ रुपैयाँ कायम रह्यो ।

यस्तै शिवम् सिमेन्टको १३ करोड ८० लाखको शेयर किनबेच हुँदा अन्तिम मूल्य प्रति कित्ता ६०७ रुपैयाँ ५० पैसा कायम भएको छ । बुटबवल पावरको १२ करोड २३ लाख, बन्दिपुर केबलकारको ११ करोड ६७ लाख र बुंगल हाइड्रोको ११ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

साताको अन्तिम कारोबार दिन देखिएको समग्र प्रवृत्तिले नेपालको शेयर बजार अझै पनि अनिश्चित र दबाबमा रहेको संकेत गरेको  छ । लगानीकर्तामा स्पष्ट विश्वास नबढ्दा बजारले स्थायित्व लिन सकेको छैन । सूचक घट्नु र कारोबार रकम खुम्चिनुबाट बजारमा सक्रिय सहभागिता कमजोर भएको बुझिने विश्लेषक बताउँछन् । धेरैजसो उपसमूह ओरालो लाग्नुले बजारमा व्यापक नकारात्मक मनोविज्ञान हाबी रहेको देखिन्छ, जसको प्रभाव खुद्रा लगानीकर्तामा बढी परेको छ ।

यद्यपि केही कम्पनी र योजनामा सीमित मात्रामा उत्साह देखिनु बजार पूर्ण रूपमा निराशाजनक अवस्थामा नरहेको संकेत हो । यसले बजार चयनात्मक रूपमा अघि बढिरहेको देखाउँछ, जहाँ लगानीकर्ता सुरक्षित र सम्भावनायुक्त शेयरमा मात्र आकर्षित भइरहेका छन् । दीर्घकालीन लगानीकर्ताका लागि यस्तो अवस्था अवसरको रूपमा पनि लिन सकिन्छ, तर छोटो अवधिमा उतारचढाव कायम रहने सम्भावना उच्च छ । समग्रमा नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र बजारमा विश्वास बढेपछि मात्र शेयर बजारले दिगो सुधारको गति लिन सक्ने देखिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र