नेभिगेशन
साहित्य

विमर्शमा डायस्पोराको सैद्धान्तिक स्वरूप

समग्रमा डायस्पोराको सैद्धान्तिक र ऐतिहासक स्वरूप, डायस्पोरा निर्माणका युगीन कारक, डायस्पोराका विशेषता, डायस्पोरा वा आप्रवासी साहित्य, नेपाली आप्रवासी साहित्य आदि विविध कोणबाट अध्ययन गरिएको लुइटेलको यो पुस्तक संग्रहणीय सामग्री बनेको छ ।

खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित डायस्पोराको सैद्धान्तिक स्वरूप (२०७९) शीर्षक पुस्तक पैरवी प्रकाशनबाट हालै प्रकाशित भएको छ । यस नवीनतम कृतिमा नेपाली साहित्य समालोचनाका क्षेत्रमा डायस्पोराको सैद्धान्तिक स्वरूपबारेका विविध भ्रममाथि विमर्श गरिएको छ । मूलपाठ र परिशिष्ट खण्ड गरी दुई भागमा आधारभूत रूपले संरचित यस कृतिको विस्तृत कलेवरका विविध शीर्षक डायस्पोराबारे अध्ययन अनुसन्धान, विमर्श, छलफल तथा सामग्रीको खोजीमा रहेका पाठकका निम्ति सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने देखिन्छ । डायस्पोराको ऐतिहासिक सन्दर्भ र अर्थ, डायस्पोराको परिभाषा र स्वरूप, डायस्पोराको निर्माणप्रक्रिया, डायस्पोराको विकासप्रक्रिया, डायस्पोरा र डायस्पोराबारे व्याप्त अन्योल र निराकरण, डायस्पोरा र डायस्पोरा साहित्यका विशेषता, डायस्पोराको वर्गीकरण, नेपाली डायस्पोराको वर्गीकरण, आप्रवासी नेपाली साहित्यको अवस्था, नेपालबाहिर नेपाली साहित्य र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण, नेपाली जाति, नेपालीत्व र नेपालीपन, उत्तरआधुनिकताको सैद्धान्तिक स्वरूप, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका गतिविधि र भावी कार्यदिशा र सारांश तथा निष्कर्षमा यस पुस्तकको मूलपाठको पहिलो भाग संरचित छ । त्यसैगरी परिशिष्ट खण्डमा नेपाली भाषामा बल्झाइएका समस्या र सुल्झाइएका समाधान शीर्षक नेपाली भाषाको मानकीकरण अभियान सम्बद्ध सामग्री संरचित गरिएको छ ।

डायस्पोराबारे सैद्धान्तिक विमर्श गरिएका प्रारम्भिक तीन शीर्षकमा नेपाली समालोचना, विमर्श, विश्लेषण र प्राज्ञिक वृत्तमा डायस्पोराको नामकरण, अर्थतात्विक द्विविधा तथा अन्योल, विवादको तर्कसम्मत पुष्टि तथा यसको संस्थागत स्थिरता तर्फको चासोलाई सूक्ष्मरूपले विश्लेषण गरिएको छ । परम्परागतरूपमा यहुदीमाथि भएको अमानवीय व्यवहार तथा विश्वमानव समुदायमा तिनले गुमाउनुपरेको स्वत्वको सन्दर्भमा डायस्पोरा शब्द प्रयोग गरेर आजको युगीन परिवेशमा देखिएको चलायमान जनसंख्याको सम्बोधन नहुने निष्कर्ष छ । यसका निम्ति डायस्पोराबारे अध्ययन, अनुसन्धान गरेका विज्ञ तथा तिनका सामग्रीको पनि समीचिन आधार प्रस्तुत गरिएको छ । आजको समय प्रतिभा, योग्यता, सीप, शैक्षिक उन्नयन, व्यावसायिक लगानी तथा त्यसको प्रवर्धन, मनोञ्जन, रोजगारी जस्ता विविध आयामले एक देशमा रहेको जनशक्ति अर्को देशको मानवसंसाधनको स्रोत बनेको छ । त्यसैले गृहभूमिबाट परभूमिमा, घरदेशबाट परदेशमा, स्वदेशबाट विदेशमा, पुख्र्यौली भूमिबाट परभूमिमा प्रवेशलाई नागरिकको योग्यता, स्वतन्त्रता, पेसा तथा शैक्षिक स्वावलम्बनका कोणबाट हेनुपर्ने समीचिन तर्क लुइटेलको छ । डायस्पोराको अर्थविस्तार भई विस्तार तथा फैलावट नै अहिलेको स्थिर प्रचलित अर्थ हो भन्ने निष्कर्ष लुइटेलले दिएका छन् ।

डायस्पोरा निर्माणको प्रक्रियालाई लुइटेलले विस्थापन वा निर्वासन, बसाइँसराइँ, प्रवासन र आप्रवासन, राजनीतिक शरण, दैवी वा प्राकृतिक प्रकोप, सैन्य सेवा, श्रम वा रोजगारी, व्यापार व्यवसाय, डीभी चिट्ठा र पीआर, विवाह, अध्ययन र देखासिकी तथा अवसरको खोजीलाई कारण मानेका छन् । आजको भूमण्डलीकृत विश्वसमाजमा सञ्चार र प्रविधिको पहुँचका कारण विविध प्रयोजनले नागरिकहरू चलायमान अवस्थामा रहने र राष्ट्रियताका साबिकका मूल्य र मान्यतामा पनि समयानुकल परिवर्तन भएको विचार लुइटेलको छ । यसले समग्र डायस्पोराको निर्माण तथा नेपाली डायस्पोराका आधारलाई पुष्टि गरेको छ । आर्थिक तथा सञ्चार जगत्मा आएको अभूतपूर्व परिवर्तनसँगै डायस्पोरा निर्माणका कालक्रमिक स्वरूप पनि विकसित भएका र लुइटेलले यस सम्बन्धमा डायस्पोराको विकासप्रक्रियाअन्तर्गत अध्ययन गरेका छन् । स्वदेशबाट विदेशको यात्रा किन तय गरिन्छ र बसाइलाई स्थिररूपले विदेशी भूमिमा केन्द्रित किन गरिन्छ भन्ने कोणबाट यस उपशीर्षकमा अध्ययन गरिएको छ । रोबिन कोहेनको अध्ययनलाई सन्दर्भित गरी लुइटेलले पहिलो चरण सन् १९६० देखि १९७० को दशक परम्परागत (यहुदीप्रति गरिएको व्यवहार र त्यसको समानार्थी दृृष्टि),  दोस्रो चरण सन् १९८० को दशक (फैलावट र विस्तार सम्बद्ध आर्थी दृष्टि), तेस्रो चरण सन् १९९० (राष्ट्रियताको बदलिदो अर्थ र परिवेश सम्बद्ध दृष्टि) र चौथो चरण सन् २००० (दृढीकरण वा स्वमूल्य र पहिचानको संस्थागत स्थिरताको दृष्टि) मा केन्द्रित गरेर अध्ययन गरेका छन् । डायस्पोराको विकासबारे लुइटेलको यस अध्ययमा चलायमान जनसंख्याको हेतु तथा अर्थबारे विमर्श गरिएको छ । समायको परिवर्तनसँगै विदेशी भूमिमा बस्नुका औचित्य तथा प्रयोजन पनि फरिएको निष्कर्षमा लुइटेल पुगेको देखिन्छ ।

डायस्पोरा साहित्यबारेका अन्योल र त्यस्ता अन्योल निराकरणका विषय निकै वस्तुगत तथा तर्कसम्मत रूपले प्रस्तुत भएको छ । कस्तो व्यक्तिले, कहाँ बसेर, कस्तो भाव, कति समय बसेर, कताबाट प्रकाशित गरेर, कति प्रकाशित गरेर डायस्पोरा सहित्य हुने भन्ने विषयको भ्रमलाई निवारण गर्ने उद्देश्यमा लुइटेलको अध्ययन केन्द्रित देखिन्छ । मूलभूतरूपमा विकसित देशका आर्थिक, सामाजिक तथा पेसागत सुरक्षाको व्यवस्थाले विश्वस्त तुल्याएपछि त्यहीँको सेवासुविधामा केन्द्रित भएको अवस्था तथा जन्मदेशका प्राकृतिक, सांस्कृतिक तथा आर्थिक गतिविधिको न्यास्रो (नेस्टालजिया) मा पुगेको अनुभूति सघन भएको अवस्था नै डायस्पोरिक साहित्य हुने विचार लुइटेलले प्रस्तुत गरेका छन् । त्यसैगरी लुइटेलले डायस्पोरा र डायस्पोरा साहित्यका विशेषतामा निकै विस्तृत विवेचना गरेका छन् । डायस्पोरिक सहित्यको स्वरूप र विशेषता मूलतः व्यक्ति डायस्पोराको भौतिक तथा मानसिक अवस्थाको प्रतिफलन हो । त्यसैले डायस्पोरिक साहित्यमा अभिव्यक्त हुने अनुभूति तथा संवेग विदेशिएका व्यक्तिको जीवन भोगाइ तथा भोगाइ निसृत उत्साह, निराशा, कुण्ठा, स्मृतिपीडा (मातृभूमि स्मृति, जन्मघरको स्मृति, भौगोलिक तथा सांस्कृतिक स्मृति, पुर्खा तथा वंश एवं वंशवृत्त स्मृति, साझा व्यवहार तथा चालचलन स्मृति) जस्ता स्मृतिदंशका परिणामका रूपमा रहने विचार लुइटेलको छ । वास्तवमा कुनै पनि सृजना स्रष्टाको मानसतहको अभिव्यक्ति कलात्मक माध्यममा प्रकटन हुने प्रक्रिया हो । स्रष्टाले आफ्ना मानसिक अवस्था र त्यस्तो अवस्था सिर्जनमा भौतिक परिवेशले पारेको प्रभावलाई नै रचनाामा प्रतिविम्बित गरेको हुन्छ । त्यसैले यसैको केन्द्रीयतामा डायस्पोरिक साहित्यको विश्लेषण, मूल्यांकन तथा स्वरूपको पहिचान गर्नुपर्ने हुन्छ ।

डायस्पोराको कारणका आधारमा रोबिन कोहेनले प्रस्तुत गरेको वर्गीकरणलाई नै लुइटेलले प्रस्तुत गरी पीडित, श्रमिक, साम्राज्यिक आदि प्रकार उल्लेख गरेका छन् । विदेशिएका नागरिक किन विदेशियो भन्ने कारण उत्खनन गरेर त्यसैको आलोकमा यस्तो वर्गीकरण तयार गरिएको देखिन्छ । नेपाली डायस्पोराको ऐतिहासिक सन्दर्भका सम्बन्धमा हरेकका आफ्ना ढिपी र तर्क बाहिर आउने गरेका प्रति लुइटेलको विमति छ । कुनै ऐतिहासिक व्यापक परिवेश वा विश्वपरिवेशले सिर्जना गरेको अवस्थालाई आधार बनाए स्वीकार्य हुने अन्यथा त्यो व्यक्तिको निजी धारणा मात्र हुने विचार स्वाभाविक हो । यिनले सुगौली सन्धि (१८७२) पछि बेलायती सेनामा भर्ती भएका नेपाली नागरिकले तत्–तत् स्थानमा नै आफ्नो पारिवारिक सुरक्षणको अनुभूति गरेर बनेका बेलायत, हङकङ, बर्माका डायस्पोरालाई नेपाली डायस्पोराको आरम्भ स्वीकारेका छन् । यो संस्थागत तथा पेसागत सुरक्षाको विषय थियो । आजको डायस्पोरा यस्तै पेसा र जीवन सुरक्षणका विविधता (श्रम, धर्म, विवाह, अध्ययन) मा केन्द्रित भई बनेको विचार छ ।

आप्रवासी नेपाली साहित्यको अवस्थाअन्तर्गत लुइटेलले विविध देशमा पुगेका नेपाली डायस्पोराका साहित्य सिर्जना तथा तिनका प्रवृत्तिगत निरूपणलाई आधार बनाएर प्रस्तुत गरेका विविध शीर्षकका कार्यपत्र, प्रकाशित लेख र अनलाइन लेख, कृतिका भूमिकामा प्रस्तुत डायस्पोराको ऐतिहासिक तथा सैद्धान्तिक सन्दर्भ, विविध डायस्पोराका प्रकाशित सृजनामाथि गरिएका स्नातकोत्तर शोधपत्र र डायस्पोरा विषयक सामग्रीको सम्पादनसम्बन्धी विवरण प्रस्तुत छ । यसमा नेपाली डायस्पोराबारे अध्ययन र अनुसन्धान गर्न चाहने अध्येताका निम्ति निकै उपयोगी सामग्रीका रूपमा यस पुस्तकको स्थान भएको पुष्टि हुन्छ । आप्रवासी नेपाली साहित्यको आरम्भका विषयमा हाल देखा परेका विकृतिको पनि यिनले स्पष्ट रूपले छिनोफानो गरेका छन् । यसमा भूमण्डलीकरणको प्रभाव नागरिकका जीवनमा नपरेको अवस्थामा लेखिएका र प्रकाशित भएका सामग्रीलाई आप्रवासी साहित्य कसरी भन्न सकिन्छ भन्ने तर्कसम्मत प्रश्नले आप्रवासी नेपाली साहित्यबारेका भ्रम निवारण गरिएको छ । त्यसैगरी नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका बारेमा उत्पन्न भ्रम चिर्न पनि लुइटेल अग्रसर देखिन्छन् । नेपाली भाषामा वा राष्ट्रभाषामा प्रकाशित सिर्जनालाई विदेशिएका नेपालीले आफूसँगै लिएर जानु नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण होइन । नेपाली साहित्यको अनुवाद विश्वका विविध भाषामा गरेर फरकभाषी पाठकका सामु विस्तार गर्नुचाहिँ अन्तर्राष्ट्रियकरण हो भन्ने विचार लुइटेलको छ । वास्तवमा नेपालबाट गएका आप्रवासी मात्र अन्तर्राष्ट्रिय समुदाय होइनन् । त्यहाँ फरक समुदाय छ । तिनलाई समेत प्रभाव पर्नेगरी नेपाली कलाको अनुवाद हुनु नै अन्तरसमुदायका बीचको विस्तार हो । विदेशिएका नेपाली जातिको अस्तित्व र नेपालीत्वको विषयमा पनि यस पुस्तकले सामयिक विचार प्रस्तुत गरेको छ । फिजीका पूर्वमन्त्री तथा हालका प्रधानमन्त्री महेन्द्रपाल चौधरीको उदाहरण दिई विदेशिएका नेपालीलाई प्रवासी भनी केही समयका निम्ति सम्बोधन गरिए पनि अन्ततः तिनको राजनीतिक, प्रशासनिक संलग्नता बलियो र प्रभावकारी बन्न पुग्दा त्यही देशका पहिलो दर्जाका नागरिकमा परिणत हुने तथा प्रवासी नभई मूल नागरिक बन्ने अवस्था हुने तर्क छ । यसमा कुनै पनि जातिको पहिचान र अस्तित्व स्थिर नहुने र कानुनी तथा प्रशासनिक अधिकार सापेक्ष हुने मान्यता पुष्टि गरिएको छ । उत्तरअधुनिकता पाश्चात्य समाजले महत्त्व नदिएको शैली भएको र त्यसले नेपाली साहित्यमा अधुनातन स्थान पाएकोप्रति लुइटेलको प्रतिवाद छ ।

नेपाली साहित्य वास्तवामा आधुनिकताको कोटिमा नै नपुगेको अवस्थामा उत्तरआधुनिकताको रट लगाउनु व्यर्थ हो भन्ने विचार छ । वास्तवमा नेपाली साहित्यलाई गुणवत्ताका दृष्टिले अन्तर्राष्ट्रिय जगत्का पाठकले महत्त्व दिने आधुनिकसमेत हामीले बनाउन नसकेको यथार्थ हो । हामीमा हाम्रै आत्मश्लाघामा रमाउने प्रवृत्ति भएकाले आधुनिक लेखिसकियो अबको पालो उत्तरआधुनिक भन्ने लहर छ । केही समालोचक विश्व परिवेशका प्रभावलाई कलामा प्रवेश गराउनु पुँजीवादी संस्कृतिको पृष्ठपोषक भएको भन्ने आरोपको तल्लो तहमा पनि झर्छन् । तिनैले विदेशिएका सन्तानका आधारमा आफ्नो प्रतिष्ठाको उच्चता पनि प्रदर्शन गर्छन् । अन्त्यमा लुइटेलले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका गतिविधि र भावी कार्यदिशा शीर्षक अध्ययन समावेश गरी अनेसासको विधान संशोधन, केन्द्रीय समितिले च्याप्टरका अभिलेखन, उपशाखाका अभिलेख, पुस्कारका राशि तथा सामग्रीको छनोट, अधिवेशनलगायतका संस्थागत कर्यसञ्चालनलाई प्रभावकारी बनाउने सम्बन्धमा गरेका गतिविधिको विवरण प्रस्तुत गरेका छन् । यसमा अनेसास हिजोदेखि आजसम्म जान्न चाहनेका निम्ति सूचना तथा विवरण प्रस्तुत गरिएको छ ।

पुस्तकको परिशिष्ट खण्डलाई डायस्पोराभन्दा पथक् तर नेपाली भाषाको मानकीकरण अभियानको दस्ताबेज बनाइएको छ । ‘नेपाली भाषामा बल्झाइएका समस्या र सुल्झाइएका समाधान’ शीर्षक सामग्री नेपाली भाषाको संस्थागत स्थिरता तथा भाषिक प्रयोक्ताले अपनत्व ग्रहण गर्ने कोणबाट तयार गरिएको छ । नेपाली भाषा नेपाली नागरिकको साझा सम्पर्क भाषासमेत भएकाले यसका बारेमा गरिने कुनै पनि संसोधन, परिवर्तन र नियमन लहडमा अधारित हुनु हुँदैन । भाषाकै अस्तित्व जगेर्नाका निम्ति पनि यसो गर्नु किमार्थ उचित हुन्न भन्ने विचार लुइटेलको छ ।

समग्रमा डायस्पोराको सैद्धान्तिक र ऐतिहासक स्वरूप, डायस्पोरा निर्माणका युगीन कारक, डायस्पोराका विशेषता, डायस्पोरा वा आप्रवासी साहित्य, नेपाली आप्रवासी साहित्य आदि विविध कोणबाट अध्ययन गरिएको लुइटेलको यो पुस्तक संग्रहणीय सामग्री बनेको छ । डायस्पोराबारे अध्ययन गर्न चाहने अध्येताका निम्ति विस्तृत सन्दर्भ समग्रीका रूपमा यो पुस्तक उपयोगी हुने देखिन्छ ।

सहप्राध्यापक त्रिवि नेपाली केन्द्रीय विभाग ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्