भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने पर्यटकको कुल संख्या सन् २०२५ मा घटेको छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा लुम्बिनी घुम्न जाने पर्यटकको संख्या ४.९५ प्रतिशत (५८ हजार १७ जना)ले घटेको छ । कोषको तथ्यांकअनुसार सन् २०२४ मा आन्तरिक र बाह्य गरी कुल ११ लाख ७२ हजार २८२ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२५ मा यो संख्या घटेर ११ लाख १४ हजार २६६ मा सीमित भएको छ । यसमा नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटक समावेश छन् ।
तथ्यांकले देखाएअनुसार स्वदेशी तथा भारतीय पर्यटकको आगमन घटे पनि तेस्रो मुलुकका पर्यटक भने बढेका छन् । सन् २०२५ मा नेपाली पर्यटक ७.५१ प्रतिशत र भारतीय पर्यटक १०.१४ प्रतिशतले घटेका छन् । यस अवधिमा नेपाली ७ लाख २ हजार ९१० र भारतीय २ लाख ७० हजार ३८७ पर्यटक लुम्बिनी पुगेका छन् । अघिल्लो वर्ष सन् २०२४ मा भने नेपाली ७ लाख ५९ हजार ९९० र भारतीय ३ लाख ८८९ पर्यटक आएका थिए ।
तेस्रो मुलुकका पर्यटकको आगमन २६.५४ प्रतिशतले बढेको छ । सन् २०२५ मा १०० भन्दा बढी देशबाट १ लाख ४० हजार ९६९ पर्यटक लुम्बिनी पुगेका छन् । सन् २०२४ मा यो संख्या १ लाख ११ हजार ४०३ थियो ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार नेपाली र भारतीय पर्यटक घटे पनि तेस्रो मुलुकका पर्यटक बढ्नुले ‘गुणस्तरीय पर्यटक’को आगमन बढेको संकेत गर्छ । ‘अन्तर्राष्ट्रिय तीर्थयात्री र सांस्कृतिक पर्यटकको आकर्षण बढ्दै गएको देखिन्छ,’ उनले भने ।
सन् २०२५ मा लुम्बिनी आउने अन्तर्राष्ट्रिय पर्यटकमध्ये बौद्ध बहुल देशहरूको वर्चस्व देखिएको छ । कोषका अनुसार श्रीलंकाबाट सबैभन्दा बढी ३२ हजार २८७ पर्यटक आएका छन् । त्यसपछि थाइल्याण्डबाट १९ हजार ८९१, म्यान्मारबाट १८ हजार ५२८ र चीनबाट १० हजार ७८९ पर्यटक लुम्बिनी पुगेका छन् ।
लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठले तेस्रो मुलुकका करिब ३० हजार पर्यटक थपिनुले स्वदेशी तथा भारतीय पर्यटक घट्दाको असर केही हदसम्म सन्तुलनमा ल्याएको बताए । ‘आगामी वर्ष पर्यटक संख्या बढाउन पूर्वाधार विकास, डिजिटल सेवा विस्तार, प्रचार–प्रसार तथा धार्मिक–आध्यात्मिक गतिविधिलाई थप प्रवर्धन गरिनेछ,’ उनले भने ।
यद्यपि, पूर्व–पश्चिम राजमार्गको दूरी, जेनजी आन्दोलन, तथा अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरताले यात्राको आत्मविश्वास घटाएको र योजनाबद्ध भ्रमणमा अवरोध सिर्जना गरेकाले सन् २०२५ मा समग्र पर्यटक आगमन घटेको जानकारहरू बताउँछन् ।