मुगु । खानेपानीको चरम अभाव भोग्दै आएको मुगु सदरमुकाम गमगढी बजारले बल्ल राहत पाउने सम्भावना देखिएको छ । खानेपानी सुधार विस्तार आयोजनाको निर्माण कार्यले तीव्रता लिएसँगै आपूर्ति प्रणाली सुध्रिने देखिएको हो । यसले स्थानीय बासिन्दामा आस जागेको छ ।
गमगढी बजार मुगु जिल्लाको प्रशासनिक केन्द्र हो । कर्णालीको हिमाली भूगोलमा रहेको यो बजारमा भौगोलिक कठिनाइ, सीमित पूर्वाधार र मौसमी जटिलता छन् । गमगढी खानेपानी उपभोक्ता समितिका अनुसार बजारमा करिब ५ सय ८६ घरधुरी बसोबास गर्छन्, तर खानेपानीको पुरानो प्रणाली माग धान्न पर्याप्त छैन । हालको प्रणालीअन्तर्गत २ लाख ५० हजार घनमिटर क्षमताको रिजर्भ ट्यांकीबाट मात्र ४ सय ५० घरधुरीले पानी नियमितरूपमा पाउँदै आएका छन् ।
धाराबाट आउने पानी पर्याप्त नभएपछि स्थानीय बासिन्दाले दैनिक जीवनमा ठूलो समस्या भोग्दै आएका छन् । विशेषगरी फागुनदेखि जेठ–असारसम्म पानीको चरम संकट जस्तै स्थिति कायम रहँदा टाढाका कुवा र परम्परागत धाराबाट पानी बोकेर ल्याउनुपर्ने बाध्य छ । स्थानीयका अनुसार धारामा पानी कम आउँदा कार्कीबाडा र चैनखोलाबाट आधा घण्टा हिँडेर पानी ल्याउनुपरेको छ ।
खानेपानी आपूर्तिको प्रणाली सुधारका लागि संघीय खानेपानी आयोजना सुर्खेतमार्फत ८ करोड २३ लाख ६९ हजार ९ सय ६७ रुपैयाँ लागतमा सुधार विस्तार आयोजनामा काम भइरहेको छ । यसअनुसार १४ किलोमिटर टाढाबाट पानीको मुहान ल्याई १ लाख ४५ हजार लिटर क्षमताका चार नयाँ रिजर्भ ट्यांकी निर्माण गरिँदैछ ।
निर्माणको ठेक्का आरयु मैनाली केटीएस जेभीका अनुसार मुख्य पाइपलाइन बिछ्याउने काम आधाभन्दा बढी सम्पन्न भइसकेको छ । आयोजनाअन्तर्गत छायानाथ रारा नगरपालिका–७ स्थित झ्यारी खोलाबाट पाइपमार्फत पानी ल्याउने, साथै कालिका– मालिका मन्दिर नजिक ४५ हजार, ठिनीमा २५ हजार र डिमुखाडामा २५ हजार घनमिटर क्षमताका तीन रिजर्भ ट्यांकी निर्माण हुने योजना छ ।
यो आयोजना २०८४ असार २४ भित्र सम्पन्न गर्नुपर्ने भए पनि कम्पनीले आगामी असारभित्रै काम सक्ने लक्ष्य लिइएको बताएको छ । निर्माण कम्पनीका प्रतिनिधि केशव चौलागाईंका अनुसार निर्धारित म्यादभन्दा अगाडि नै आयोजना पूरा गर्ने प्रयास तीव्ररूपमा भइरहेको छ ।
गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोरखबहादुर मल्लले भने, ‘आयोजना सम्पन्न भएपछि दिनमा तीन पटकसम्म प्रत्येक घरधुरीमा पानी वितरण गर्ने लक्ष्य राखिएको छ ।’ बजारका उपभोक्तालाई सहज र पर्याप्त खानेपानी उपलब्ध गराइने उनले बताए ।