मैदानमा खेल सुरु हुनु एक महिना बाँकीछँदा क्रिकेट महाउत्सव टी२० विश्वकप २०२६ भूराजनीतिक तनावबाट प्रभावित हुने देखिएको छ । भारतमा आयोजना हुने आईसीसी पुरुष टी२० विश्वकप २०२६ का लागि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले टिम पठाउन अस्वीकार गरेको छ । सुरक्षा चिन्ताका कारण बीसीबीले आफ्ना सबै समूह चरणका खेलहरू भारतबाहिर, विशेषगरी श्रीलंकामा स्थानान्तरण गर्न आईसीसीसँग अनुरोध गरेको छ । यो विवादले विश्वकपको तालिका र अन्य टिमहरूलाई प्रभाव पार्न सक्ने सम्भावना बढेको छ ।
मस्तफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले आईपीएल २०२६ बाट हटाएपछि यो विवाद चर्किएको हो । बीसीसीआईले ‘हालका घटनाक्रम’ र सुरक्षा कारण उल्लेख गर्दै यो कदम चालेको थियो, जसलाई बंगलादेशले राजनीतिक तनावसँग जोडेको छ । बीसीबीको आपतकालीन बैठकपछि जारी विज्ञप्तिमा बंगलादेशी खेलाडी, अफिसियल र समर्थकको सुरक्षालाई जोखिममा नपार्ने उल्लेख छ । बंगलादेशका खेल सल्लाहकार आसिफ नजरुलले फेसबुकमार्फत सरकारको निर्देशनमा यो निर्णय भएको पुष्टि गरे ।
बीसीबीले कोलकाता र मुम्बईका खेलहरू स्थानान्तरण मागेको छ, जसमा फेब्रुअरी ७ मा वेस्टइन्डिज, ९ मा इटाली र १४ मा इङ्ल्याण्डसँगका खेलहरू छन् । आईसीसीको प्रतिक्रिया आउन बाँकी छ भने बीसीसीआईले पनि बंगलादेश भ्रमण रद्द गरेको छ । बंगलादेशको टी–२० विश्वकप बहिष्कारको घोषणाले आयोजकहरूमा चुनौती थपिएको छ । यसपटकका खेलहरू भारत र श्रीलंकामा हुने तालिका छ । बीसीबीको असहमतिले समूह चरणका खेलहरूमा नेपालसँगको तालिका पनि प्रभावित हुने देखिएको छ ।
.jpg)
आईसीसीले बंगलादेशको मागमाथि छलफल गरी खेल तालिका संशोधन गर्न सक्छ, तर पूर्ण बहिष्कारले बंगलादेशलाई जरिवाना वा अर्को संस्करणबाट वञ्चित गर्न पनि सक्छ । राजनीतिक तनावले क्रिकेट कूटनीतिमा असर पार्न सक्छ । हालसम्म आईसीसीको आधिकारिक प्रतिक्रिया आएको छैन ।
नेपालले एसिया/पूर्वी एसिया प्रशान्त क्षेत्रीय छनोटमा उज्बेकिस्तानलाई हराएर टी२० विश्वकप २०२६ मा स्थान पक्का गरेको छ । समूह ‘सी’मा बंगलादेशसँग फेब्रुअरी १७ मा मुम्बईमा खेल्नुपर्ने छ । बंगलादेशले नखेल्दा यो खेल स्थगित वा स्थानान्तरण हुन सक्छ, जसले नेपालको तयारी र रणनीतिमा असर पार्छ ।
यदि आईसीसीले श्रीलंकामा स्थानान्तरण गर्छ भने नेपालले पनि यात्रा र अभ्यासमा समस्या भोग्न सक्छ । तर, नेपालका लागि यो अवसर पनि हुन सक्छ किनकि बंगलादेशको अनुपस्थितिमा समूहबाट अगाडि बढ्ने सम्भावना बढ्छ । नेपाल क्रिकेट संघ पनि आईसीसीको निर्णयको पर्खाइमा देखिएको छ ।
भारत र श्रीलंकाले फेब्रुअरी ७ देखि मार्च ८ सम्म संयुक्तरुपमा आयोजना गर्ने विश्वकपमा २० टिम सहभागी छन् । भारत–पाकिस्तान बीचका खेल कोलम्बोमा हुनेछ । बंगलादेशको बहिष्कारले आईसीसी अध्यक्ष जय शाहले तालिका पुनरावलोकन गर्नुपर्ने भएको छ ।
बीसीबीले मस्तफिजुरको एनओसी रद्द गरेको छ भने द्विपक्षीय शृंखला पनि प्रभावित छ । यो विवादले दक्षिण एसियाली क्रिकेटमा भूराजनीतिक तनाव बढाएको छ ।