काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयरबजारमा सूचकमा झिनो बढोत्तरी भए पनि कारोबार रकम घटेको छ । बिहीबार नेप्से ४.५९ अंकले बढेर २६४०.५४ को विन्दुमा रहँदा कुल कारोबार रकम ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँ रह्यो ।
कारोबार रकम अघिल्लो दिनका तुलनामा २७ करोड रुपैयाँले घटेको हो । यसअघि बुधबार नेप्से परिसूचक १३.३५ अंकले घटेर २,६३५.९५ विन्दुमा रहँदा कारोबार रकम पनि मंगलबारको तुलनामा करिब दुई अर्ब रुपैयाँ घटेको थियो । मंगलबार ७ अर्ब १२ करोड हुँदा बुधबार कारोबार ५ अर्ब १७ करोड रुपैयाँमा खुम्चिएको थियो ।
बिहीबार फाइनान्स, लगानी, लघुवित्त, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहका सूचक घट् दा कारोबार रकममा असर परेको हो । सूचक हरियो भएका वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा कुनैको पनि बढोत्तरी ०.४० प्रतिशतबाट माथि उक्लन सकेन ।
कुल बजार पुँजीकरण ४४ खर्ब ३३ अर्ब रुपैयाँ हाराहारीमा कायम भएको छ । यसमध्ये संवेदनशील बजार पुँजीकरण २० खर्ब ४१ अर्ब रुपैयाँ नाघेको छ भने फ्लोट बजार पुँजीकरण १५ खर्ब ६ अर्ब रुपैयाँ आसपास देखिएको छ । पछिल्ला केही दिनमा बजार पुँजीकरणमा सामान्य उतारचढाव देखिए पनि स्पष्ट सुधारको संकेत भने देखिएको छैन ।
बजारमा १२९ कम्पनीको शेयरमूल्य बढ्दा ११५ को घटेको छ । १५ कम्पनीको शेयरमूल्य स्थिर रह्यो । घटेका कम्पनीमध्ये सुपर मादी हाइड्रोपावरको शेयरमूल्यमा ३.९० प्रतिशतको गिरावट रह्यो ।
शेयरमूल्य बलियो भएका कम्पनीको सूचीमा ८.१६ प्रतिशतको बढोत्तरीले सान्भी इनर्जी पहिलो नम्बरमा रह्यो । एसवाइ प्यानल नेपालको शेयरमूल्य ५.७१ प्रतिशतले बढेको छ । सर्वाधिक कारोबार हुने कम्पनीहरूमा एसवाई प्यानल नेपाल बिहीबार पनि पहिलो नम्बरमा रह्यो । उक्त कम्पनीको २० करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार पनि पहिलो थियो ।
यस्तै बन्दीपुर केबलकारको १७ करोड ६० लाख, सान्भी इनर्जीको १५ करोड ८९ लाख, सागर डिष्टिलरीको १५ करोड ३ लाख र शिवम् सिमेन्टको १४ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
शेयरबजार पछिल्लो समय दिशाविहीन अवस्थामा देखिएको छ । नेप्से परिसूचक कहिले झिनो बढोत्तरी त कहिले सामान्य गिरावटसहित सीमित दायरामा घुमिरहेको छ, तर कारोबार रकममा बढोत्तरी फराकिलो अंकमा भइरहेको छैन । सूचक बढ्दा पनि कारोबार नबढ्नुले बजारमा लगानीकर्ताको आत्मविश्वास कमजोर रहेको संकेत गरेको छ । अधिकांश लगानीकर्ता दीर्घकालीन नीतिगत स्पष्टता र आर्थिक सूचकमा सुधारको प्रतीक्षामा छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षित रूपमा हुन सकेको छैन । बढ्दो खराब कर्जा, कर्जा असुलीमा कडाइ र जोखिम न्यूनीकरणमा केन्द्रित बैंकिङ नीतिले नयाँ लगानी प्रवाह रोकिएको छ । यसले उद्योग–व्यवसायको विस्तारमा असर पुर्याउँदै शेयरबजारमा पनि दबाब सिर्जना गरेको छ ।
उपसमूहगत रूपमा हेर्दा केही बैंकिङ, बीमा र जलविद्युत् समूह हरियो देखिए पनि ती समूहको वृद्धि दर न्यून रहनुले बजारमा बलियो ट्रेन्ड विकास हुन नसकेको देखिन्छ । अर्कोतर्फ फाइनान्स, लगानी र लघुवित्त समूहमा देखिएको गिरावटले समग्र बजारको गति कमजोर बनाएको छ ।
विश्लेषकहरूका अनुसार राजनीतिक स्थिरता, बजेट तथा विकास खर्चको प्रभावकारी कार्यान्वयन, लगानीमैत्री मौद्रिक नीति र ब्याजदरमा थप स्पष्ट संकेत नआएसम्म शेयरबजारमा अपेक्षित सुधार आउन कठिन देखिन्छ । हालको अवस्था ‘पर्ख र हेर’ रणनीतिमा सीमित रहेको देखिन्छ ।