नेभिगेशन
अर्थतन्त्र

भन्सार राष्ट्रको अर्थतन्त्रको आधार हो : चेम्बर अध्यक्ष

काठमाडौं, माघ ११

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार राष्ट्रको अर्थतन्त्रको आधार भएको बताएका छन् । ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा चेम्बरले आइतबार आयोजना गरेको कार्यक्रममा भन्सारबाटै आर्थिक गतिविधि सुरु हुने, राजस्व संकलन हुने र सरकार सञ्चालन सम्भव हुने भएकाले भन्सार सुधार आजको आवश्यकता भएको बताए ।

अध्यक्ष अग्रवालले निजी क्षेत्र, सरकार र भन्सार प्रशासनसँग साझेदारी, उत्तरदायित्व एवं समाधानमुखी सहकार्य हुनुपर्नेमा जोड दिए । ‘देशको कूल राजस्वमा भन्सारको योगदान करिब ४८ प्रतिशत छ । निजी क्षेत्र कर छल्न र नियम उल्लंघन गर्न चाहँदैन,’ उनले भने, ‘भन्सार प्रणाली छिटो, पारदर्शी र विश्वासनीय भएमा राजस्व पनि बढ्छ ।’

राजस्व प्रणाली पारदर्शी हुँदा अवैध व्यापार घट्ने, लगानी आकर्षित हुने, निर्यात प्रतिस्पर्धी बन्ने र देशमा आर्थिक गतिविधि तथा रोजगारी सिर्जना हुने पनि उनले बताए । वास्तविक कारोबार मूल्यलाई मूल्यांकनको आधार बनाउनुपर्नेमा उनले जोड दिए । भन्सार दर घटाउनुपर्ने, अवैध व्यापार नियन्त्रण गर्नुपर्ने र पारदर्शी कारोबार प्रवर्धन गर्न निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने अध्यक्ष अग्रवालले स्पष्ट पारे । मूल्य अभिवृद्धि कर, भन्सार दर र अन्तःशुल्कको संयुक्त प्रभाव उपभोक्तामा पर्ने भएकाले कर संरचनामा संसोधन आवश्यक रहेको उनको तर्क छ ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार प्रशासनको सुधारात्मक पहल, व्यापार सहजीकरण, डिजिटल भ्यालुएसन प्रणालीको कार्यान्वयन र पारदर्शिता प्रवर्धनमा निजी क्षेत्र र भन्सारबीचको सहकार्य महत्त्वपूर्ण भएको बताए । ‘नेपाल जस्तो भू–परिवेष्ठित देशमा व्यापार लागत उच्च हुन्छ । भन्सारले राजस्व संकलन मात्र नभई आपूर्ति शृंखला निरन्तरता, समाजको सुरक्षा र प्रतिबन्धित वस्तुहरूको नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ,’ उनले भने । यस्तै, नेपाल चेम्बर अफ कमर्सको राजस्व समिति सभापति सुजन दाहालले मुलुकमा भइरहेको अवैध चोरी पैठारी नियन्त्रणका लागि भन्सार दरबन्दीलाई छिमेकी मुलुकसरह परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले व्यावहारिक भन्सार दरबन्दी र मूल्यांकन नहुँदा सीमा क्षेत्रबाट अवैध व्यापार मौलाएको बताए ।

दाहालले नेपालको भौगोलिक अवस्थितिका कारण छिमेकी मुलुक भारत र चीनसँगको व्यापारिक सन्तुलन मिलाउनु चुनौतीपूर्ण रहेको उल्लेख गरे । ‘हामी दुई ठूला मुलुकको बीचमा छौँ । छिमेकी मुलुकमा जुन मूल्यमा सामान पाइन्छ, नेपालमा भन्सार दरबन्दीका कारण त्यही सामान महँगो पर्दा चोरी पैठारी बढेको छ । यसलाई रोक्न सरकारले दरबन्दी र मूल्यांकन प्रणालीमा सुधार गर्नैपर्छ,’ उनले भने ।

चेम्बरले भन्सार ऐन २०८२ ल्याउन, अनलाइन डिजिटल कस्टम भ्याल्युएसन प्रणाली लागू गर्न र अन्य सुधारात्मक कार्यमा गरेको योगदानको कदर गर्दै भन्सार विभागका महानिर्देशक भण्डारीलाई कार्यक्रममा सम्मान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्