नेभिगेशन
धर्म/संस्कृति

‘वेदमा के छ ?’ मत माथिको भिन्न मत

डा. स्वामी प्रपन्नाचार्य वेदान्ताचार्यद्वारा लिखित कृति ‘वेदमा के छ ?’ ले संस्कृत वैदिक कालमा हाम्रो कला, संस्कृति, भाषा, साहित्य, गणित, ज्ञान र विज्ञान, प्रविधि, विश्वसंगको सम्बन्ध आदि बारेमा सबै कुरा सरल नेपाली भाषामा वर्णन गरेको छ । धर्म र आध्यात्म र विज्ञान दुई ध्रुवः धर्म व्यक्तिगत आस्थासंग जोडिएकोले व्यक्ति व्यक्तिमा फरक हुन सक्छ । धर्ममा व्यक्तिले परिवार, माता, पिता, गुरु या धर्म गुरुहरूका उपदेशबाट पाएको ज्ञानलाई पुष्ट्याई गर्नु आवश्यक ठान्दैन । तर विज्ञानले भने तथ्य र प्रमाणहरूलाई आधार मान्ने भएकाले यसलाई सबैले विश्वास गर्छ । 

पुराण र वेदः वेद हिन्दुहरूले मात्र नभई पाश्चात्य विद्वानहरूले समेत मानेको जीवन दर्शन तथा अपार ज्ञानको भण्डारको रुपमा लिएको पाइन्छ । हिन्दु धर्मलाई प्रवर्धन गर्ने उद्देश्यले वेद भन्दा पछि लेखिएका कतिपय काल्पनिक र पत्यार नलाग्ने अन्धविश्वासी मायावी, चमत्कारिक, दैवी शक्ति र लिलाका कथा, उपकथा भरिएका स्वर्ग र नर्कको आस र त्रास देखाएर लेखिएका ग्रन्थ धेरै छन् । तर विभिन्न उपनिषद, श्रुति, स्मृति, पुराण, रामायण, महाभारत आदि ग्रन्थहरूलाई पनि वेदकै कोटीमा राखेर तिनैको उपमा दिँदै ‘वेदमा के छ ?’ भनेर वर्णन गरिनु त्यति उपयुक्त देखिँदैन ।

मानिसको सृष्टिः लेखकले वेदको ऋचा र मन्त्र उद्धरण गर्दै मानिसलाई पूर्ण विकसित मानिसका रूपमा एकैपल्ट परमेश्वरले सिर्जना गर्नु भएको तर विज्ञानप्रति विश्वास राख्ने विश्वले प्रसिद्ध जीव वैज्ञानिक चार्ल्स डार्विनले प्रतिपादन गरेको विकासवादको सिद्धान्तलाई लेखकले वाहियात भन्नुभएको छ । तर, विश्वका अधिकांश मानिसले मानेको कुरालाई बिना प्रमाण अस्वीकार गर्नु स्वामीजीको विद्वत्तालाई सुहाएको मान्न मेरो मनले दिएन ।

विश्वको पुरानो ग्रन्थः यस ग्रन्थको पृष्ठ ६२ अनुसार लेखकले ईसापूर्व १५०० देखि ८०० बीचमा लेखिएका वेदहरूलाई नै विश्वका सबैभन्दा पुरानो साहित्य ग्रन्थ हो भनेर उल्लेख गर्नुभएको छ । तर अभिलेखहरूमा रुजु गर्दा मेसोपोटामिया सभ्यताका समयमा लगभग ३,००० देखि २६०० ई.पू.मा सुमेरियन भाषामा लेखिएको ‘शरुप्पकको निर्देशन’ र ‘केश मन्दिरको प्रार्थना’ विश्वको सबैभन्दा पुरानो साहित्य ग्रन्थ मानिन्छ ।

पृथ्वीको आयुको गणनाः वेदले पृथ्वीको आयुको गणना गर्दा सत्य, त्रेता, द्वापर र कली युगका लागि छुट्याएको समयको योगलाई आधार मानेर ‘परमात्माले मानवको लागि पृथ्वीको समय ४ अर्ब ३२ करोड वर्ष निर्धारण गरिदिए’ भन्नुभएको छ । तर वैज्ञानिकहरूले पनि विभिन्न चार आधारमा पृथ्वीको आयुको साढे ४ अर्ब अनुमान गरेको रहेछ ।

वेदले गरेको गणना र वैज्ञानिकहरूले गरेको गणनाको अनुमान मिल्दोजुल्दो देखिएकोले हाम्रा ऋषि मुनिहरूले के कस्ता ज्ञान, विज्ञान, सीप र प्रविधिहरू प्रयोग गरेर यो निष्कर्ष निकालेका थिए भन्ने कुरा आजका युवा वैज्ञानिकहरू, ज्योतिषी, विद्वानहरूले अनुसन्धान गर्नुपर्नेतर्फ मार्ग प्रशस्त गरेको छ ।

हिन्दु र आर्यहरूबीचको विभेदः पुस्तक पढ्दै जाँदा हिन्दु र आर्य बीचको विभेद छुट्याउन सकिँदैन । हाम्रा पुर्खा मेसोपोटामियाबाट बसाई सर्दै सिन्धु उपत्यका हुँदै धेरै वर्ष पछि गंगा र ब्रह्मपुत्र मैदानमा आइपुगेपछि मात्र वैदिक कालमा हिमालय पर्वत शृंखलाको दक्षिण पट्टिको समग्र भागलाई 'आर्यावर्त’, आफूहरूलाई वैदिक आर्य र आफूले मान्ने धर्मलाई ‘हिन्दु’ शब्दले चिनाउन थालेको पाइन्छ ।

Ghan-Shyam-Khatiwada-1756286279.jpg
घनश्याम खतिवडा

अभिलेखहरू चाहार्दा आर्य शब्द इन्डो–इरानीहरूले आफूलाई कुलीन, संस्कारी भनेर चिनाउन प्रयोग गरेको प्राचीन विशेषण भन्ने पाइन्छ । कालान्तरमा भारतीय उपमहाद्वीपमा बस्ने निश्चित अनुहारको बनौट भएका वैदिक सनातनी हिन्दुधर्मावलम्वीहरूले आफूलाई मात्र आर्य भनेर दाबी गरे तापनि पश्चिमी यूरोपका गैर हिन्दु नव–नाजीहरूले पनि आफूलाई वैदिक कालभन्दा अगाडिदेखि नै आर्य भनेर दावी गर्ने गरेको पाइएकाले यो भनाइ पनि विरोधाभाषपूर्ण लाग्छ ।

हिन्दुहरूले उपनिवेश बनाएको प्रसंगः ग्रन्थको पृष्ठ १५, १६ र १७ मा लेखकले ‘आर्यावर्तबाट गएका आर्य र हिन्दुहरूले पूर्वमा फिलिपिन्स, जाबा सुमात्रा, बोर्नियो, थाईल्याण्ड, उत्तरमा पर्सीयाको खाडी र लालसागर, पश्चिम दक्षिणमा अफ्रिकाको समुन्द्री तट तथा जन्जिवार द्वीप समूहसम्म पनि आफ्नो उपनिवेश बनाएर हिन्दु धर्म प्रचार गरेको’ उल्लेख गरिए पनि यस्तो इतिहास देखिँदैन ।

व्यासजी अमेरिका पुगेकोः यस ग्रन्थको १८ पृष्ठमा ‘ऋग्वेदको आदेशअनुसार विश्वका अरू मानिसहरूलाई पनि आर्य बनाउन आर्यहरू विश्वका अरू ठाउँमा जाने क्रममा व्यासजी पनि अमेरिका पुगेका थिए’ भन्ने लेखिएको छ । यद्यपि यसको प्रमाण वा पुष्टि हुन सक्ने कुरा न त लेखकले दिनुभएको छ न कुनै इतिहासमा पाउन सकिन्छ ।

मानव सभ्यता र बसाइँसराइः लेखकले ‘सिन्धु घाँटी सभ्यता भन्दा वैदिक र हिन्दु सभ्यता जेठो हो’ भनेर ठोकुवा गर्नुभएको छ । तर पुरातत्ववेत्ताहरूका अनुसार आधुनिक मानव विकासको सुरुवात अफ्रिकामा भएर स्थल मार्ग हुँदै मध्यपूर्वको मेसोपोटामियामा बसाइ सरेर त्यहाँबाट पनि सिन्धु घाँटी हुँदै पूर्वतिर आर्यावर्तमा बसाई सरेको अनुमान गर्छन् । इसापूर्व ३३०० को सिन्धु घाँटी सभ्यता भन्दा इसापूर्व १३०० को वैदिक सभ्यता कान्छो भएको कुरा विश्वले स्वीकारेको छ । लेखकको यो दावीमा पनि पुष्टि हुने तथ्यको अभाव देखिन्छ ।

वैदिक भाषादेखि फुटेका हाँगाबिंगाः यस ग्रन्थका विभिन्न पृष्ठहरूमा लेखकले संस्कृत भाषाबाट नै सबै भाषाहरूको विकास भएकाले विश्वका सम्पूर्ण भाषाको जननी लाखौं वर्ष पुरानो संस्कृत हो भनेर दावी गर्नुभएको छ । तर भाषा विज्ञानको इतिहास पल्टाउँदा संस्कृत आफैं पनि इन्डो–यूरोपियन परिवारको एउटा सदस्य भाषा भएको र आफ्नो छुट्टै इतिहास र स्वतन्त्र अस्तित्व भएका अफ्रो–एशियाटिक, सिनो–तीबेटियन, अस्ट्रोएशियन परिवारका भाषाले संस्कृतसँग कुनै साइनो नभएको कुरा इतिहासमा पढ्न पाइन्छ । त्यसैले यसका बारेमा थप अध्ययन हुनुपर्छ भने मेरो ठहर छ ।

भाषाको उत्पत्तिः यस ग्रन्थको पृष्ठ १९ अनुसार लेखकले ‘भाषा सिकाइ मानिसले ईश्वरबाट प्राप्त वरदान हो, जो जन्मजात मानिसले लिएर आएको हुन्छ’ भनेर भाषा वैज्ञानिकहरूको मतभन्दा पूर्ण भिन्न मत राख्नुभएको छ । तर भाषा वैज्ञानिकहरूका अनुसार ‘मानवले शरीरका अंगहरूको चाल र इसारा, ध्वनि संकेतहरूको सहायताले एकआपसमा संचार गर्न सिके । 

उनीहरूको मस्तिस्कको वनौट र विकासको विशेष क्षमताका कारण सरल भाषा निर्माण गरेर संचार गर्दै उनीहरूले जटिल भाषाहरू सिक्दै आए’ भन्ने ठहर रहेको छ । वैदिक कालका प्रविधि र सभ्यताको समाप्ति यस ग्रन्थको ३१८ पेजमा ईसाभन्दा पूर्वका समयमा वैदिक आर्य हिन्दुसँग भएका १० प्रकारका हवाई जहाजहरू आर्यावर्तबाट विश्वभर निर्विवाद उडान भरेर अरू देशहरूमा जाने गरेको उल्लेख छ । ती विमान, विज्ञान, विज्ञानवेत्ताहरू तथा ग्रन्थ र मेशिनहरू राम–रावणको युद्ध र कौरव–पाण्डवको युद्धमा सबै नासिए भन्ने पनि उल्लेख छ ।

यस तर्कका आधारमा प्रमाणहरू खोज्दा ४८ वर्गमाइल क्षेत्रफल भएको कुरुक्षेत्र मैदानमा दुई पक्षका रथ, हात्ती, घोडा, पैदल सेनाहरू आमने सामुने भएर लडिएको युद्धमा विमानहरू प्रयोग भएको प्रमाण पाइन्न । आर्यावर्तभरी रहेका सम्पूर्ण, वैज्ञानिक, वेदभन्दा अगाडिका सम्पूर्ण ग्रन्थहरू एउटा पनि अवशेष नरहने गरी सबै नष्ट भए भन्ने कुरा दन्त्यकथा जस्तो मात्र लाग्छ । 

यो कुरा सत्य हो भने हिन्दु धर्मका अभियन्ता विद्वानहरूले हाम्रो गौरवलाई विश्वसामु ल्याउनुपर्दछ भन्ने लाग्छ । मेरो मत के मात्र हो भने हाम्रा धर्म संस्कृतिका कुराहरू र त्यसका आधारमा लेखिने ग्रन्थहरू तथ्यतर्क र प्रमाणले युक्त हुन् । जसले गर्दा अन्यमतका मानिसले उडाउने र दुत्कार्ने हिम्मत नगरून् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्