नेभिगेशन
अर्थतन्त्र
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

आर्थिक सूचक सन्तोषजनक, कर्जा प्रवाह सुस्त

२०८२ पुससम्ममा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यो सञ्चितिले १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं, माघ १९

अर्थतन्त्रका बाह्य सूचकहरू थप बलिया बन्दै जाँदा आन्तरिक अर्थतन्त्रमा भने कुनै सुधार देखिएको छैन । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्मको तथ्यांकअनुसार अर्थतन्त्रका बाह्य सूचकहरू बलिया देखिएका हुन् ।              

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति पुसमा २.४२ प्रतिशतमा छ भने साउनदेखि पुससम्मको औसत मुद्रास्फीति १.७ प्रतिशत छ । २०८२ पुससम्ममा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा २२ अर्ब १७ करोड छ । विदेशी विनिमय सञ्चितिले १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।              

समीक्षा अवधिमा चालु खाता चार खर्ब २ ९ अर्ब ९१ करोड र शोधनान्तर पाँच खर्ब एक अर्ब २४ करोड बचतमा छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले बढेको छ । पुसमा मात्रै एक खर्ब ९२ अर्ब ६२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।              

वैदेशिक व्यापारतर्फ निर्यात ४३.८ प्रतिशत र आयात १४.२ प्रतिशतले बढेको छ । सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड र राजस्व परिचालन ५ खर्ब ७७ अर्ब ४० करोड पुगेको छ ।                

मौद्रिक सूचकतर्फ विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १४.२ प्रतिशतको वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत छ ।                    

ब्याजदरतर्फ बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।              

महँगी वृद्धिदर २.४२ प्रतिशत              

२०८२ पुसमा महँगी वृद्धिदर २.४२ प्रतिशत देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरमा भन्दा पुसमा महँगी २.४२ प्रतिशत देखिएको हो । कात्तिकमा भन्दा मंसिरमा महँगी ०.६३ प्रतिशतले बढेको थियो ।                      

प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ । पुसमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति (वस्तु तथा सेवाको मूल्यस्तर बढ्नु र पैसाको क्रय शक्ति घट्नु) ०.०९ प्रतिशतले ऋणात्मक छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत थियो । आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको औसत मुद्रास्फीति १.७ प्रतिशत छ । गत वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशत थियो ।                  

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६ र गैर–मदिराजन्य पेयपदार्थको ३.०४ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२, मरमसलाको ३.९२ र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको छ ।            

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २१.७५ प्रतिशतले बढेको छ । यस्तै, शिक्षाको ७.५६, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९, सुर्तीजन्य पदार्थको ४.१५ र मदिराजन्य पेयपदार्थको ३.८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.०३ प्रतिशतले घटेको छ ।                        

यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.९९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.५७ प्रतिशतले बढेको छ ।                        

प्रदेशगत रूपमा पुसमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५, मधेस प्रदेशको ३.३७, बागमती प्रदेशको २.१०, गण्डकी प्रदेशको १.७६, लुम्बिनी प्रदेशको २.६२, कर्णाली प्रदेशको १.०८ र सुदूरपश्चिम प्रदेशको १.२७ प्रतिशत छ । यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४८, तराईको २.६५, पहाडको १.९४ र हिमालको २.६६ प्रतिशत छ । पुसमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.१७ प्रतिशत छ । गत वर्ष पुसमा थोक मुद्रास्फीति ४.०१ प्रतिशत थियो । उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.५८ प्रतिशत छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ७.०७ प्रतिशत र २.५८ प्रतिशत छ । यस्तै, निर्माण सामग्रीको थोक मूल्य सूचकांक ३.४८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्