नेभिगेशन
अर्थतन्त्र

हुलास फिनसर्भको खुद नाफामा ९९.३३ प्रतिशत वृद्धि

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासमा खुद नाफा ९९ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ९९.३३ प्रतिशतले बढेर १३ करोड ४४ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६ करोड ७४ लाख थियो ।  

कम्पनीले कर्जा तथा अग्रिम पोर्टफोलियोसमेत दोब्बरभन्दा बढी विस्तार गरेको छ । वित्तीय विवरणअनुसार यस अवधिमा १० अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १०० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।              

ब्याज आम्दानी ४१ करोड ७७ लाख रुपैयाँ अर्थात् २२०.०७ प्रतिशतले बढेको छ । लागत नियन्त्रण र जोखिम व्यवस्थापनमा सुधार गर्दै सञ्चालन नाफालाई २१ करोड ९९ लाख रुपैयाँसम्म पुर्‍याएको वित्तीय रिपोर्टमा उल्लेख छ ।                  

खराब कर्जा अनुपात ४.६८ प्रतिशतबाट घटेर ३.०५ प्रतिशतमा झरेको छ । यसले सम्पत्तिको गुणस्तरमा पनि कम्पनीले सुधार भएको देखाएको छ । ‘विगतभन्दा सुधारिएको रिकभरी प्रक्रिया र क्रेडिट अनुगमन प्रणाली महत्वपूर्ण भूमिका खेलेको छ, प्रमुख वित्तीय सूचकांकहरूमा पनि सकारात्मक सुधार आएको देखिएको छ,’ कम्पनीले भनेको छ ।                    

कम्पनीको प्रतिशेयर आम्दानी ३२.३९ रुपैयाँ, इक्विटी प्रतिफल १६.५६ प्रतिशत र नेटवर्थ प्रतिशेयर खुद सम्पत्ति मूल्य १९५.६२ रुपैयाँ पुगेको छ । बाह्य अवरोध र चुनौतीहरूका बाबजुद पोर्टफोलियोमा गुणस्तर सुधार, सञ्चालन दक्षता र दिगो वृद्धिमा केन्द्रित हुँदै सफलता प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्