नेभिगेशन
दृष्टिकोण

तीज : मौलिकता जोगाउन चुनौती

तीज, आमा दिदी बहिनीहरूको एकलौटी र मौलिक चाड । तर मौलिकता हराएको अनुभूति भइरहेछ । महिनौं अघिदेखि दर खानाले खाएको भोलिपल्ट तीज पर्ने हुँदा अहिलेको तीज साताव्यापी मात्रै होइन महिनाव्यापी भएको छ । तीज आयो, जान पनि लाग्यो । तर, विगत केही वर्षदेखि नै तीज लामो भयो भन्ने प्रश्नहरू आउन थालेका छन् ।

नेपाली दिदी बहिनीहरूका लागि पार्टी प्यालेस कहिलेसम्म माइती बन्छ ? कम्मर मर्काइ मर्काइ बाबु दाजुभाइकै घर आँगनीमा नाचिनुपर्ने हो, तर देश गरिबीको पीडामा छ र महिला, पुरुषहरू धेरै खाडीमा छन् । कोही युरोप, अमेरिकामा पनि छन् । यत्ति हो गाउँघर खाली छ, सहरियाहरू मन्दिर गएर दिन बिताउनुपरेको छ । काम छैन, आय आर्जन छैन । सामाजिक सञ्जालको रोजगारी छ ।

बाबुको मुख हेर्ने  पर्व कुशेऔशी सकिनासाथ हिन्दु नारीहरूको एकलौटी पर्व तीज विशेषरूपमा सुरु हुनुपर्ने  हो । दर, व्रत बस्ने अघिल्लो रात्रिमा खाने हो । तर धेरै समय अघिदेखि नै दर खाइयो । दर दरिलो वस्तु हो र तीजमा पर्वतराज हिमालय र मेनका पुत्री पार्वतीले शिवसँग बिहे गर्ने  इच्छाले निष्ठापूर्वक हरितालिका व्रत बसेर सो उद्देश्य पूरा गर्नका लागि अघिल्लो दिन तीन अँजुली पानी पिएर दर खाएकी थिइन् । जसकारण तीज आरम्भ भयो भन्ने मानिन्छ । तर, हिजोआज त्यसको मौलिकता सकिनेगरी काम भइरहेको छ ।

एकान्त स्थलमा गई शिवको प्रार्थना गरेको कारण ‘सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका’ को अर्थमा यस दिनलाई हरितालिका भनिएको कुरा भविष्य पुराणमा वर्णित छ । भाद्रशुक्ल तृतीया नै तीज वा हरितालिका हो, अन्य दिन भोज भतेरमात्र हुन्छ, आहार पनि सात्विक हुनुपर्छ, हिजोआज धेरै विकृति देखियो आहारमा पनि, यो हाम्रो संस्कृतिविरुद्ध छ ।

यस पर्वभरि प्रायशः विवाहित स्त्री आफ्नो माइतीघरमा बसेर पूर्ण स्वतन्त्ररूपमा तीजपर्व मनाउने गरिनुपर्ने  हो । छोरीबेटीहरूलाई तीज विशेषमा दाजुभाइहरूले माइतीमा विशेष निम्ता गर्ने  चलन रहेको हो बाबुको मुख हेरेपछि तीजको निम्तो लिने हो । वर्षभरिका दुःख, कष्टलाई बिर्से र हँसी, ठट्यौली गर्दै  श्रीशिवको अनुष्ठान गर्दै  मनाइने पर्व तीजमा रसिला, मीठो र व्यंग्यात्मक गीत गाउने, नृत्य गर्ने  पनि चलन हो ।

तीजका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गर्ने  हो, साँझ साथीहरूसाथ बालुवाको शिवलिंग बनाई महादेव–पार्वतीको पूजा गर्ने  हो । दीप, कलश, गणेश र बालुवा प्रतिमासहितको शिवलिंगमा उमामहेश्वरको पूजा गर्ने, सके षोडशोपचार विधिले, नसके यथाशक्ति यथाभक्तिले ।

Achyut--1756175653.jpg
अच्युतप्रसाद पौडेल ‘चिन्तन’


तीजका दिन रंगीन, सौभाग्यका कपडाहरूले सजिने हो, ठाँटिएर देवस्थल शिवमन्दिरमा जाने हो । पशुपतिनाथ मन्दिर, कुम्भेश्वर, गोकर्णे श्वर त्यसैका लागि तय भएका हुन्, काठमाडौ उपत्यका बाहिर पनि यत्रतत्र मठ, मन्दिरहरू बनेका छन् ।

तीजको व्रतले पतिको दीर्घायु, परिवारको कल्याण र आफ्नै पनि सुख, समृद्धिको आशिष मिल्नेछ । यसको चलन आज होइन पौराणिक कालदेखि सुरु भएको हो, वीज तत्वलाई मर्न दिनुहुँदैन । तीजको पूर्णता चौथीमा अगस्त्य र लोपामुद्रालाई अर्घ दिएर, चौथीकै दिन गणेश जयन्तीको विशेष उपासना गरेर र पञ्चमीका दिन विशेष स्नान गरी सप्तर्षिको पूजा र कथा श्रवणबाट हुन्छ । 

भाद्र शुक्ल चतुर्थी श्रीगणेशको धर्ती अवतरित दिन हो । सती–अरुन्धतीसहित सप्तर्षिहरू कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, जमदग्नि, गौतम एवं वशिष्ठ ऋषिहरूको विशेष व्रत उपासाना, दर्शन पूजन गरिने हुनाले तीज समापनको दिनलाई ऋषिपञ्चमी भनिएको हो । काठमाडौको टेकुस्थित सप्तर्षि थानमा सो दिन पाइला राख्ने ठाउँ हुन्न, व्रतालुहरू ओइरिएरै त्यहाँ पुग्छन्, नाच, गान त भव्य नै हुन्छ ।

प्रकृतिको विधान छ, नारीधर्म, रजस्वला भनौ, मासिक धर्म । सिर्जनालाई निरन्तरता राख्न निश्चित विधानहरू तोकेको छ धर्मशास्त्रले र त यस्तो अधिकार केवल महिलामा मात्र छ । अघि ब्रह्महत्या दोष देवताका राजा इन्द्रबाट झिकी विभिन्न ४ स्थानहरूमा राखियो, नदीको पहिलो छाल, जमिनको अग्लो शिखर, आगोको पहिलो ज्वाला र स्त्रीको रजस्वलामा । नारी रजस्वलाका समयमा स्पर्श दोष लाग्ने भयो, पानीको पहिलो छालमा नुहाउन नहुने, अग्लो भागमा अक्सिजन नहुने, आगोको पहिलो ज्वालामा खाना पकउन नहुने कारण यसैले गर्दा हो ।

रजस्वलाको समय खाद्यान्न सामग्रीहरूबाट पर रहनुपर्ने  र चार दिनमा स्नान गरेपछि मासिकधर्म दोष निवारण हुने कुरा शास्त्रमा वर्णित छ । नारी रजस्वलाले रक्त शुद्धि गराउने हुन्छ, र रजस्वलाको ४ दिन पछिको जोर रात्रिको सम्भोगले पुत्र र बिजोर रात्रिले पुत्री पैदा हुन्छन्, यो क्रम १६ दिनसम्म मात्र जारी रहन्छ र सन्तानोत्पादनका लागि अर्को  मासिक धर्म आवश्यक पर्छ । हिजोआज टेष्टट्यूब बेवीका लागि यो नमिल्न सक्छ ।

स्त्रीहरूको रजोधर्म दोषको निवारणहेतु ऋषिपञ्चमीको व्रत र सप्तर्षिहरूको पूजा, कथा श्रवण गर्नुपर्ने  हुन्छ । पूजा गर्नुअघि नदीमा गई विशेष स्नान गर्ने , वर्षभरिका अशुद्धिहरू हटाउन ३६५ वटा दतिवन लगाउने, पञ्चगव्यले स्नान गर्ने  विधान छ । मन्दिर जान नसक्नेले घरमै पनि सामूहिक पूजा र कथा श्रवण गर्ने  गर्छन् ।

नारीजातिमा प्रतिमास देखा पर्ने  रजोधर्ममा ब्रह्महत्या दोष रहने र त्यसको निवृतिहेतु ऋषिहरूको दर्शन, पूजा गर्नुपर्ने  हुन्छ । मानिसले ऋषिऋण चुक्ता गर्न सकेको हुँदैन, जनैपूर्णिमामा सप्तर्षि पूजा गर्छन् पुरुषहरूले र नारीहरूले तीजमा । नारीहरूको गलामा ब्रह्मसूत्र हुन्न र त्यसको विकल्प भनेको तीजको सप्तर्षि पूजा नै हो । माता अरुन्धतीले ब्रह्मसूत्र खोज्नुभएन र उहाँकै नाममा सौभाग्य अर्पण गरिन्छ, ऋषिपञ्चमीको पूजा गर्दा । 

ऋषिपञ्चमी व्रतीले यसदिन एकछाक खाने, नरोपीकनै उम्रने अन्न सामा, कागुनो, कन्दमूल (कर्कलो) आदिले हविष्यान्न भोजन गर्नुपर्छ । महिनावारी भएका बखत अञ्जानमा भएका त्रुटिहरूको प्रायश्चित गर्ने  एकमात्र सरल उपाय हो यो । यसले तेज वृद्धि हुने, दीर्घायु, निरोगीे र पूर्ण सौभाग्यवती गराउँछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्