नेभिगेशन
अर्थतन्त्र

उद्योग वाणिज्य महासंघमा ढकाल प्यानल घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि हेमराज ढकाल समूहले प्यानल घोषणा गरेको छ । महासंघको ६०औं वार्षिक साधारणसभाबाट चुनिने वरिष्ठ उपाध्यक्ष पदमा ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
चैत २८ गते हुने निर्वाचनका लागि ढकालले सोमबार एक कार्यक्रमका बीच आधिकारिक प्यानल सार्वजनिक गरे । उनको प्यानलबाट उपाध्यक्षको प्रत्यासीमा ज्योत्सना श्रेष्ठ छिन् । त्यसैगरी, एसोसिएट उपाध्यक्ष पदमा उमेश डालमियाले उम्मेदवारी दिने भएका छन् ।
जिल्ला नगर उपाध्यक्षतर्फ कल्पना गैरे र नरेशलाल श्रेष्ठ छन् भने उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठले उम्मेदवारी घोषणा गर्ने तयारी छ । चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुँदैछ ।
साधारण सभाबाट हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् । अन्य पदका लागि भने चुनावी प्रतिस्पर्धा हुनेछ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरेका छन् । उपाध्यक्ष ढकालले नेतृत्व गरेको प्यानलको उम्मेदवारी घोषणा सभामा उनले उद्योगी, व्यवसायीका आवाजलाई थप सशक्त बनाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।
‘उद्योगी व्यवसायीका समस्या समाधान गर्न र आवाज सम्बन्धित ठाउँमा पु¥याउन सबैलाई मिलेर जान मेरो आग्रह छ,’ अध्यक्ष ढकालले भने, ‘अर्को टिमबाट पनि प्यानल घोषणा हुने खबर पाएको छु तर मेरो आग्रह छ सबै एक भएर अघि बढ्नुस् ।’
उम्मेदवारी घोषणा गरेका व्यवसायी सबै अनुभवी र अब्बल रहेको पनि उनले बताए । ‘सम्भव भएसम्म मिल्नुहोस्, मिल्न नसक्ने भए स्वस्थ प्रतिस्पर्धा गर्नुहोला । दुवै पक्षलाई मेरो शुभकामना,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्