नेभिगेशन
अर्थतन्त्र

‘कता हो’ एपमा निर्वाचन लक्षित निःशुल्क सुरक्षा सुविधा

काठमाडौं । नेपालमा डिजिटल ठेगाना प्रणाली विकास तथा सञ्चालन गर्दै आएको एड्रेसग्राफ नेपाल प्रालिले ‘कता हो’ एपमार्फत निर्वाचनमा खटिने जनशक्तिका लागि लक्षित विशेष निःशुल्क सुरक्षा सुविधा सुरु गरेको छ ।
एड्रेसग्राफ नेपाल निर्वाचन अवधिमा उत्पन्न हुन सक्ने सम्भावित सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकले आकस्मिक अवस्थामा परिवार वा आफन्तलाई छिटो र सुरक्षित रूपमा सूचना दिन सकून् भन्ने उद्देश्यले सेवा सुरु गरेको हो ।
कम्पनीका निर्देशक लक्ष्मणप्रसाद रिमालले निर्वाचनजस्तो संवेदनशील समयमा सुरक्षालाई प्राथमिकता दिँदै प्रविधिमार्फत सहयोग पु¥याउने उद्देश्यले यो सुविधा सुरु गरिएको जानकारी दिए । उनका अनुसार यो सुविधाअन्तर्गत प्रयोगकर्ताले आफ्नो विवरणमा उल्लेख गरिएको आकस्मिक सम्पर्कमार्फत आपतकालीन सूचना पठाउन सक्नेछन् । 
सूचना पठाउँदा साइरनसहितको चेतावनी सन्देश र प्रयोगकर्ताको डिजिटल ठेगाना वा अवस्थिति विवरण सम्बन्धित व्यक्तिसम्म पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले भीडभाड, होहल्ला वा प्रत्यक्ष रूपमा टेलिफोनमा संवाद गर्न नसकिने अवस्थामा यो सेवा प्रभावकारी हुने दाबी गरेको छ । हाल प्रत्येक प्रयोगकर्ताले दुईवटा मोबाइल नम्बरमा आपतकालीन सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ ।
यो सेवा प्रयोग गर्न सर्वप्रथम एन्ड्रोइड वा एप्पल मोबाइल अनुप्रयोग भण्डारबाट ‘कता हो’ एप डाउनलोड गरी विद्युतीय हुलाक ठेगाना (जिमेल) र मोबाइल नम्बरमार्फत एकपटक प्रयोग हुने संकेत नम्बरबाट प्रमाणीकरण गर्नुपर्नेछ । त्यसपछि सूचीमा गई आफन्त वा समूह नेतृत्वकर्ताको नम्बरलाई आकस्मिक सम्पर्कका रूपमा राखेपछि सुविधा तुरुन्त प्रयोग गर्न सकिनेछ । सुविधा प्रभावकारी रूपमा सञ्चालन हुन दुवै पक्ष उक्त एपमा दर्ता भएको हुनुपर्ने कम्पनीले स्पष्ट पारेको छ ।
‘कता हो’ले विश्वस्तरको वल्र्ड समिट अवार्ड, एसिया–प्रशान्त क्षेत्रीय एपिआइसिटिए अवार्ड र नेपालको प्रतिष्ठित आइसिटी अवार्डलगायत विभिन्न सम्मान प्राप्त गरिसकेको छ । नेपालमै विकसित यस डिजिटल समाधानको अधिकतम् उपयोग गरी सुरक्षित र व्यवस्थित सेवा लिन कम्पनीले सबै सरोकारवालामा अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्