धर्मकर्म गर्नै नसकिने भयो । जुटाउनुपर्ने सामग्रीदेखि पुरोहितसम्म सब महँगो भयो’ । अचेल धेरैको यस्तै गुनासो सुनिन्छ । बजार अचाक्लीसँग महँगिएको छ । महँगिएको बजारको तुलनामा आम्दानी बढेको छैन । धार्मिक कार्य गरेर मात्र भएन, आफन्त र छिमेकीलाई बोलाउनै पर्यो । खानपान र दानदक्षिणाका कुरा छन् ।
अरु त ठिकै थियो, ब्राह्मण-पुरोहितले समेत ‘बार्गेनिङ’ गर्न थाले । ‘यति दक्षिणा नभए त कर्म गराउन सकिँदैन है !’ भनेर भाउ तोक्न थाले । पुर्ख्यौली सम्पत्ति प्रशस्त भएका, व्यापार - व्यवसायमा संलग्न, ‘मालदार’ कार्यालयका जागिरे र गैरसरकारी संस्थाबाट राम्रो तलब बुझ्नेले बाहेक मन फुकाएर धार्मिक कार्य गर्नै नसक्ने देखिन्छ ।
भावना ठूलो हो, श्रद्धा ठूलो हो, देखासिखी होइन भन्ने तथ्य नबुझ्दा धार्मिक कार्य बोझिला बनेका छन् । आफन्त वा छिमेकीलाई देखाउने रूपमा परिणत भएका कारण पनि यी कर्मको मर्म मर्दै गएका छन् । धार्मिक कार्य गरेको देखाउनेले आफ्नो धर्मचाहिँ ख्याल गरेको पाइँदैन ।
धर्मको मर्म के हो ? अन्याय–अत्याचार–अनियमितताबाट भएको पाप कटाउने माध्यम मात्र हो त धर्म ? आगोले पोल्ने वा डढाउने धर्म कहिल्यै छाड्दैन । तलतिर बहने धर्म पानीले जस्तै अवस्थामा पनि छाड्दैन ।
सूर्य, चन्द्र र पृथ्वी आदि प्रकृतिका सबैले आफ्नो धर्म निर्वाह गरिहेका हुन्छन् भने एक मात्र विवेकशील प्राणी मानिसले चाहिँ पालना गर्नु पर्दैन ? आफ्नो पेशाअनुसार भूमिका निर्वाह गर्नुपर्दैन ? नेता, व्यापारी, कर्मचारी, शिक्षक, प्रहरी र चिकित्सक आदि समाजका सबैले पालना गर्नुपर्दैन, आफ्नो धर्म ?
राजनीतिक नेतृत्वको आडमा नेताले गर्ने अनियमितता र दण्डहीनता अभावमा कर्मचारी आफ्नो धर्म पालनामा चुकेको कुरालाई एकछिन पर राखौँ । एउटा व्यापारीले पनि एउटा सामानमा यतिसम्म नाफा खाएर बेच्ने भन्ने धर्म त होला नि !
खानेकुरामा अखाद्य वस्तु मिसाउनु हुँदैन । विषादी हालेर जनस्वास्थ्यमा खेलबाड गर्नुहुँदैन भन्ने त होला नि ! त्यो पालना भएको छ त ? यो प्रवृत्ति ठूलादेखि साना व्यापारीसम्म देखिन्छ । ‘अहिल्यै कमाउनुपर्छ’ भन्ने प्रवृत्ति ठूला वा नाम चलेकामा मात्र होइन, साना व्यापारीमा पनि देखिन्छ । न त राज्यको प्रभावकारी कानून, न त ईश्वरको डर । निर्वाध रूपमा जति लिए पनि, जतिमा बेचे पनि हुने भयो ।
रामप्रसाद धिताल
अझ बढी नाफाको लोभमा खाद्य वस्तुलाई अखाद्य बनाए पनि भयो । ठूला मात्र होइन गाउँघरतिर साना व्यवसाय गर्नेहरू पनि यो प्रतिस्पर्धामा सहभागी छन् । सबैलाई चाँडै धनी, अझ बढी धनी बन्ने लालसा छ । यसरी आर्जन गरेको पैसाले धर्मकर्म गरेको देखाउने चलन पनि बढेको छ ।
सनातन धर्मावलम्बी महत्वपूर्ण कर्म श्राद्धको मर्म के हो ? श्रद्धा ! श्रद्धापूर्वक गर्ने कर्म, श्राद्ध । यसमा शुद्ध हुनुपर्ने सात कुरामध्ये एक हो धन । अर्थात् श्राद्ध सामग्री जुटाउन आवश्यक पर्ने रुपैयाँसमेत कुनै आपराधिक कर्मबाट आर्जित वा कसैको मन नदुखाई प्राप्त भएको हुनुपर्छ भन्ने मान्यता छ ।
सनातन धर्मावलम्बीको व्रतबन्ध संस्कारको मर्म कतिले बुझेका छन् ? विवाह संस्कारको आदर्श कतिलाई थाहा छ ? यी त अचेल देखाउन बाध्यतामा गरिने विधिमा परिणत भएका छन् ।
यी संस्कार गर्दा कसले कति खर्च गर्यो ? खानपान कस्तो थियो ? कसले के दियो ? जस्ता विषय चासो गरिन्छ । माघ महिनामा नेपाली सनातन धर्मावलम्बीका घर–घरमा पढिने स्वस्थानी व्रतकथामा एउटा सन्दर्भ आउँछ, स्वर्गबाट आएका अप्सराले सबै सामग्री जुटाएर श्रीस्वस्थानी परमेश्वरीको व्रत गरे ।
वषौँदेखि दुःखमा परेकी चन्द्रावतीले पनि व्रत गर्न चाहिन् । तर लामो समयदेखि नदीको किनारमा अलपत्र अवस्थामा रहेकी उनले सामग्री जुटाउनसक्ने अवस्था थिएन । बालुवाकै देवता बनाइन् । बालुवाकै सामग्री बनाइन् । बालुवाले बनाएका जे–जे सामग्री भनेर कल्पना गरिन्, त्यहीमा परिणत भयो अर्थात् सामग्री सिद्ध भयो । अप्सराको पूजाविधि पछ्याइन् । व्रतको फल पनि चाँडै पाइन् ।
यो कथाको मर्म के हो भने, सबैभन्दा ठूलो कुरा त श्रद्धा हुनुपर्ने रहेछ । भावना शुद्ध हुनुपर्ने रहेछ । सामग्रीका कुरा तपशीलका भए । फेरि सामग्री पनि कसरी तयार पारिएको छ भन्ने कुरा पनि महत्वपूर्ण हो ।
त्यसो त सनातन धर्ममा अहिले पनि नसकिने कतिपय वस्तु प्रतीकका रूपमा सम्पन्न गरिन्छ । उदाहरणका लागि, कुनै पनि कर्म गर्दा गोदान (गाईदान) गर्ने परम्परा छ, हजारौँ मूल्य पर्ने गाईको दान थोरै मूल्यमा (तन्मूल्योपकल्पितं द्रव्यम्... भन्दै) सम्पन्न हुन्छ ।
दैनिक गर्नुपर्ने सन्ध्या आदि कर्म र संस्कारका कार्य महत्वपूर्ण हुन् । अरु कर्म सके गर्ने हो, नसक्दा नगरे हुन्छ । मातापिता गुरुको सम्मान, सानालाई माया–उचित शिक्षा र परोपकारका कार्य महत्वपूर्ण हुन् । सबैभन्दा ठूलो कुरा आफ्नो पेशागत धर्म निर्वाह गर्नु हो ।
यजमानलाई यस्ता कुराको स्मरण गर्न लगाउन ब्राह्मण–पुरोहित कति गम्भीर छन् त ? चोरी– अनियमितता–भ्रष्टाचार गरेर वा अरुलाई चोट पुर्याएर ल्याएको पैसाले गरेका कर्मले फल दिँदैन है भनेर कर्तालाई सम्झाउँछन्, उनीहरू ? अनियमितता–भ्रष्टाचार र समाजमा अन्याय गर्नेहरूको घरमा म आउँदिन भन्न सक्ने कति ब्राह्मण–पुरोहित होलान् ?
ब्राह्मण–पुरोहितले परिश्रमअनुसारको पारिश्रमिक पाउनुपर्नेमा दुईमत छैन । धार्मिक कार्य मोलमोलाइ गर्ने विषय होइन । कर्ता (यजमान) को क्षमताले गर्ने हो । दानदक्षिणा उनीहरूको गच्छेअनुसार गर्ने हो ब्राह्मण– पुरोहितले यो ‘बार्गेनिङ’ गर्ने विषय बनाउनु हुँदैन । ‘हुनेखाने’ले आफ्नो संस्कार पूरा गर्न जति आवश्यक हुन्छ, त्यति नै ‘हुँदा खाने’लाई पनि । यो तथ्य बिर्सनु हुँदैन ।
अर्को महत्त्वपूर्ण पक्ष, पुरोहित बनेर हिँडेकै धेरैसँग अब खानपान, व्यवहारलगायत आचरण शिला खोज्नुपर्ने भएको छ । ब्राह्मण–पुरोहितले पनि ‘हामीले धर्मपालना गरिरहेका छौं त’ भनेर सोच्ने बेला आएको छ ।
केहीअघि पञ्चाङ्ग निर्णायक विकास समितिले कर्मकाण्ड गराउने वा पुराणका कथा भन्नेहरूको परीक्षा लिने र लाइसेन्स बाँड्ने योजना ल्याएको छ । यो सन्दर्भमा उनीहरूको आचरणको अनुगमनचाहिँ कसले गर्ला भन्ने प्रश्न पनि ज्वलन्त रूपमा छ ।