नेभिगेशन
अर्थतन्त्र

बिनाधितो कर्जा पाउनु अवसर होः गीता तिवारी, खजुरा शाखा प्रबन्धक (बाँके), उपकार लघुवित्त

म उपकार लघुवित्तको खजुरा शाखा प्रबन्धकको रूपमा कार्यरत छु । म यो सम्मेलनमा बाँके क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला सदस्यलाई लिएर आएकी छु । मैले महिला सदस्यलाई प्रोत्साहन र सहभागिताका लागि सम्मेलनमा लिएर आएकी हुँ । यस प्रकारका कार्यक्रमले सदस्यहरूलाई सिकाइ, अनुभव आदानप्रदान र आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहभागी गराउनु आवश्यक ठानेर नै लिएर आएकी हुँ । हाम्रो शाखाबाट ९ जना महिला सदस्यले यो सम्मेलनमा सहभागिता जनाएका छन् ।
बाँकेका गाउँघरमा केही वर्ष अघिसम्म वित्तीय पहुँच अत्यन्तै सीमित थियो । धेरैजसो स्थानीय महँगो ब्याजदरमा साहु–महाजनसँग ऋण लिएर व्यवहार चलाउँथे । त्यस्तो अवस्थामा लघुवित्त संस्थाहरू गाउँ–गाउँ पुगेर बिनाधितो १० हजार रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउनु आफैंमा ठूलो अवसर हो । यसले विशेष गरी महिलालाई आर्थिक रूपमा सक्रिय बन्न, साना–साना व्यवसाय सुरु गर्न र आत्मनिर्भर बन्न मद्दत गरेको छ । तर, कर्जाको सदुपयोग अत्यन्तै महत्त्वपूर्ण पक्ष हो । सदस्यहरूले लिएको कर्जालाई सही उद्देश्यमा जस्तो कि कृषि, पशुपालन, साना व्यापार वा उद्यममा लगानी गरे भने त्यसले उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउँछ । उनीहरूले आम्दानी बढाउन सक्छन्, परिवारको खर्च व्यवस्थापन गर्न सक्छन् र बचत गर्ने बानी पनि विकास हुन्छ । साथै, बाहिर उच्च ब्याजमा ऋण लिनुपर्ने बाध्यता हटेर आर्थिक दबाब कम हुन्छ ।
केही अवस्थामा समस्या पनि देखिने गरेका छन् । कतिपय सदस्यहरूले कर्जा लिँदा एउटा उद्देश्य देखाए पनि व्यवहारमा अन्यत्र खर्च गर्ने प्रवृत्ति पाइन्छ । व्यवसायका लागि लिएको ऋण घरायसी खर्च वा अन्य अनुत्पादक क्षेत्रमा खर्च गर्दा आम्दानी सिर्जना हुँदैन र त्यसले कर्जा तिर्न कठिन बनाउँछ । यस्तो अवस्थामा समस्या उत्पन्न हुनु स्वाभाविक हो । त्यसैले, कर्जाको सही उपयोगबारे निरन्तर सचेतना आवश्यक छ । नियमनको पक्ष पनि अहिले निकै सुदृढ बनाइएको छ ।
हालको व्यवस्थाअनुसार एउटै लघुवित्त संस्थाबाट ७ लाख रुपैयाँभन्दा बढी कर्जा दिन पाइँदैन । साथै, एउटै व्यक्तिले दुईभन्दा बढी संस्थाबाट कर्जा लिन नपाउने व्यवस्था छ । यसले अनावश्यक ऋणको बोझ बढ्न नदिने र सदस्यहरूको क्षमताअनुसार मात्र कर्जा लिन प्रोत्साहित गर्ने उद्देश्य राखेको छ । यी व्यवस्थाले समग्र लघुवित्त प्रणालीलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउन मद्दत गरिरहेका छन् । समग्रमा, लघुवित्तले ग्रामीण क्षेत्रमा आर्थिक पहुँच विस्तार गर्ने, महिलालाई सशक्त बनाउने र उद्यमशीलता विकास गर्ने महत्त्वपूर्ण माध्यमको रूपमा काम गरिरहेका छन् । तर, यसको दीर्घकालीन सफलताका लागि कर्जाको सही उपयोग, सदस्यहरूको सचेतना र प्रभावकारी नियमन अत्यावश्यक छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्