नेभिगेशन
अर्थतन्त्र

महिलालाई स्वावलम्बी बनाउने माध्यम नै लघुवित्त होः वसन्ती सहानी, लघुवित्त सदस्य, झापा

म मेचीनगर–१५, इँटाभट्टा, झापाकी बासिन्दा हुँ । म लघुवित्त सम्मेलनमा सहभागी हुन पहिलो पटक काठमाडौं आएकी हुँ । मेरो काठमाडौंसम्मको यात्रा आज लघुवित्त सदस्य भएकै कारणले सम्भव भएको हो । लघुवित्त संस्थाबाट ऋण लिएर व्यापार व्यवसायमा लगानी गरेर म आत्मनिर्भर हुन सकेकी छु । लघुवित्तको सहयोगले नै व्यापार व्यवसाय राम्रो हुँदा त्यहाँबाट भएको आम्दानीले मैले घर बनाएकी छु । छोरालाई विदेश पठाउन सकेकी छु ।
सुरुमा मैले ५ हजार रुपैयाँ कर्जा लिएर सुरु गरेकी थिएँ । त्यसपछि बचत सुरु गरें, ऋण चलाएँ, आफ्नो व्यवसाय अघि बढाएँ । अहिले मैले लघुवित्तबाट ७ लाख रुपैयाँसम्म ऋण लिएर आफ्नो व्यवसायमा लगानी गरिरहेकी छु । लघुवित्त भनेको स्वावलम्बी बनाउने यस्तो माध्यम हो, जसलाई महिलाले मात्र होइन, घरको सबै सदस्यले बुझ्नुपर्छ । मेरो श्रीमान् व्यवसाय सञ्चालन गर्छन् । मेरो पार्लर छ । छोराको आफ्नो व्यवसाय छ । पहिले हाम्रो सानो घर थियो, लघुवित्तको सहयोगले त्यसलाई भत्काएर टिनको घर बनाएँ, अहिले चार कोठे छतवाला घरमा बस्दैछु । साँच्चै भन्नुपर्दा, लघुवित्त संस्थाले जीवन बचाउने काम गरेको छ । बिना धितो ७ लाख रुपैयाँसम्म कर्जा दिएकोमा इमानदारीपूर्वक चलाए २० लाखसम्म पनि भोलिको दिनमा दिनेछ । यी सबै अवसरहरूका लागि लघुवित्त संस्थालाई म धन्यवाद दिन चाहन्छु ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्