नेभिगेशन
अर्थतन्त्र

महत्वपूर्ण कुरा पनि सिक्ने अवसर मिल्योः धनमाया थापा, लघुवित्त सदस्य, काठमाडौं

मैले कर्जा लिएको नेशनल फाइनान्सको इमाडोल शाखाबाट हो । मैले यहाँबाट लिएको कर्जा व्यापार व्यवसायमा लगानी गरेकी छु । कर्जाले व्यापार व्यवसाय विस्तारमा सहयोग पुगेकाले आर्थिक गतिविधि पनि बढेको छ । मैले १२ वर्षदेखि कर्जाबापत लिएको पैसा लगानी गरेर साना–साना उद्यम सञ्चालन गर्दै आएकी छु । यसले हाम्रा लागि धेरै अवसर सिर्जना गरेको छ । हामीले अरूसँग सरसापट गर्नुभन्दा, हाम्रो समूह र लघुवित्त संस्थाबाट बिनाधितो उपलब्ध गराइने कर्जालाई सदुपयोग गर्नु धेरै लाभदायक छ । विशेष गरी महिलाहरूका लागि लघुवित्त संस्थाको भूमिका महत्वपूर्ण छ । महिला नै सम्मेलनको मुख्य हिस्सा हुनुहुन्थ्यो ।
सुरुमा मैले ७ हजार रुपैयाँ कर्जा लिएकी थिएँ । अहिले हाम्रो समूहले ७ लाख रुपैयाँसम्मको कर्जा बिनाधितो सञ्चालन गर्दै आएको छ । यसले महिलालाई आर्थिक रूपमा सशक्त बनाउन ठूलो सहयोग पु¥याएको छ । आफूले कर्जा लिएको संस्थाको सदस्य भएको नाताले नै म पनि लघुवित्त सम्मेलनमा सहभागी हुन आएकी हुँ । यहाँ आएर निकै कुरा सुन्ने र बुझ्ने अवसर मिल्यो । धेरै महिला दिदीबहिनीले सफलताको कथा सुनाउनुभएको छ । दुई दिनसम्म भएका विभिन्न सत्रमा सहभागी हुन पाउँदा धेरै कुराहरू जान्ने र बुझ्ने अवसर मिलेको छ ।
कसरी कर्जा लिएको, लगानी कसरी गरिएको, कति कर्जा कहाँ र के प्रयोजनका लागि प्रयोग गरिएको भन्ने विषयमा छलफल हुँदा सम्मेलनमा धेरै कुरा बुझ्यौं । यहाँ बुझेका कुराले भोलिको दिनमा व्यापार व्यवसाय विस्तार गर्नमा ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास बढेको छ । साथै, सम्मेलनमा जुन उद्देश्यले कर्जा लिइएको हो, त्यही उद्देश्य अनुसार नै लगानी गरेर सदुपयोग गर्नुपर्छ भन्ने महत्वपूर्ण कुरा पनि सिक्ने अवसर मिलेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्