झापा, १६ भदौ - कोरोना महामारीको बेला निर्माण गरिएको दमक–२, बेलडाँगीस्थित अस्थायी कोभिड अस्पताल अहिले प्रयोगविहीन अवस्थामा खण्डहरमा परिणत भएको छ । करिब ७० लाख रुपैयाँ खर्च गरिएको सो अस्पतालको संरचना जीर्ण हुँदै गएका छन् भने अस्पताल परिसर झाडीले छोपेको छ ।
२०७८ सालको कात्तिकसम्म सञ्चालनमा रहेको ३० शड्ढयाको उक्त अस्पताल तत्कालीन कोभिड संकटलाई मध्यनजर गर्दै भुटानी शरणार्थी शिविर क्षेत्रभित्र दुईवटा अस्थायी भवन मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । तर, महामारीको अन्त्यसँगै राज्य र स्थानीय तहले त्यसको उपयोगबारे कुनै दीर्घकालीन योजना नबनाउँदा अहिले यो संरचना बेवारिसे बनेको हो ।
भवनभित्रका अधिकांश संरचनाहरू भत्किइसकेका छन् । उपकरणहरू हराइसकेका छन् र कतिपय सामानहरू चोरी भएको स्थानीयहरू बताउँछन् । अस्पतालका प्रयोगशालासहितका उपकरण, मेसिन तथा बिरामी सुत्ने बेडहरू नगरपालिकाअन्तर्गत रहेको दमक अस्पतालमा सारिएको भए पनि अन्य सम्पति स्थानीय स्तरमै हराएको जनाइएको छ ।
स्थानीय बासिन्दा र टोल विकास संस्थाका पदाधिकारीहरूले यो संरचना अब लागू औषध प्रयोगकर्ताहरूको आडमा परिणत भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बेलडाँगी टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र संग्रौलाले सार्वजनिक सम्पत्तिको संरक्षणमा नगरपालिका उदासीन देखिएको भन्दै तत्काल उपयोगमा ल्याउन सामुदायिक वनसँग सहकार्य गर्नुपर्ने धारणा राखेका छन् ।
अस्पताल स्थापनाकालमा यसलाई कोभिडपछि दमकको उत्तर क्षेत्रका बासिन्दाका लागि आधारभूत स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्ने योजना बनाइएको थियो । त्यसैअनुसार संरचना पनि तयार पारिएको थियो र राज्यका तीन तहबाट करोडौं लगानीसमेत भएको थियो ।
तर वनको जग्गामा स्थायी संरचना निर्माण नगर्न मिल्दैन भन्ने कानूनी जटिलता र नगरपालिकासँग सामुदायिक वनबीचको समन्वय अभावका कारण संरचना प्रयोगविहीन रहन पुगेको हो । मानव सेवा आश्रमले केही समय सो भवन प्रयोग गर्ने प्रयास गरे पनि अनुमति नपाउँदा निष्क्रिय रहनुपरेको थियो ।
डिभिजन वन कार्यालय, झापाका अनुसार, आपतकालीन समयमा बनाइएका संरचनाहरूको निरन्तरता दिन आवश्यक प्रक्रिया पूरा गरी भूमि उपयोगको अनुमति लिन सकिने कानूनी व्यवस्था छ । तर, राज्य पक्षबाट अपेक्षित चासो र पहल नहुँदा अहिले संरचना जीर्ण बन्दै गएको हो ।
यसैबीच, दमक नगरपालिका–२ का वडाध्यक्ष प्रजापति सापकोटाले भने अस्पताल पुनः सञ्चालनका लागि चासो दिइएको जनाएका छन् । उनका अनुसार आगामी असोज महिनाभित्र नगरपालिका र सामुदायिक वनबीच आपसी समझदारी गरी अस्पताल वा मानव सेवा आश्रम पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ ।
राज्यको करदाता र नागरिकको आशामा बनेको संरचना लामो समयसम्म यत्तिकै खेर जानु लगानीको दुरुपयोग मात्र नभई विपद्का बेला बनाइएका पूर्वाधारको महत्वप्रति राज्यको लापरवाही पनि हो । यसतर्फ सरोकारवाला निकायहरू सचेत भई यसको पुनः उपयोग र संरक्षणमा सक्रिय हुनु अत्यावश्यक देखिन्छ ।