नेभिगेशन
राजनीति

संसद्को सर्वोच्च पदमा अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डीपी) राजनीति थालेको ४२ महिनामै  सभामुख बन्न सफल भएका छन् । सभामुख पदका लागि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा अर्यालको एकल उम्मेदवारी परेको हो ।
नवनिर्वाचित सभामुख अर्यालले चैत २२ मा पद तथा गोपनीयताको शपथ लिनेछन् । राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारीअनुसार उनको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ । सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।
प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ नजिक छ । सत्तापक्षको स्पष्ट बहुमत भएकाले प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी नै दिएनन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिष्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ सांसद छन् ।

को हुन् अर्याल ?
अर्याल २०४९ सालतिर मजदुरी गर्न धादिङबाट काठमाडौं आएका हुन् । केही वर्ष मजदुरी गरेपछि उनले व्यवसायमा हात हाले । सफल व्यवसायीका रूपमा स्थापित हुँदै गर्दा उनी २०७९ असारमा तत्कालीन सञ्चारकर्मी रवि लामिछानेलाई साथ दिँदै राजनीतिमा होमिए ।
सहकारी मुद्दामा प्रतिशोध साँधेर सभापति लामिछानेलाई तत्कालीन सरकारले हिरासतमा राखिरहँदा पार्टीका लागि बलियो खम्बा बनेर अर्याल उभिएका थिए । भदौ २३ र २४ को जेनजी आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्त भएपछि फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपालाई अप्रत्याशित उपलब्धि हासिल भयो ।
प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन्, जुन झण्डै दुई तिहाइ बहुमत हो । बिहीबार संसदीय दलले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय ग¥यो भने । शुक्रबार उनी देशकै चौथो सर्वोच्च पदमा पुग्न सफल भए । अर्थात् राजनीति थालेको ४२ महिना १३ दिनमै उनी सभामुख जस्तो गरिमामय भूमिकामा पुगेका छन् ।
अर्याल २०३१ भदौ ६ गते धादिङको मैदीमा जन्मिएका हुन् । करिब ३३ वर्षअघि उनी काठमाडौं आएका हुन् । उनले केही वर्ष रेस्टुरेन्टमा मजदुरी गरे । पछि पर्यटन क्षेत्रमा लागे । केही समय टुरिष्ट गाइडका रूपमा पनि काम गरे ।
२०५४ सालतिर उनी अध्ययन र अनुभवका लागि जापानको ओसाका पुगे । त्यहाँको विकास र समृद्धि देखे । तर, लामो समय बसेनन् । उनी २०५८ सालतिर नेपाल फर्किए । नेपाल फर्किएपछि उनले भाषा शिक्षण, शिक्षा र उत्पादन क्षेत्रमा व्यवसाय सुरु गरे । इजिलिंक रेमिटेन्समार्फत विप्रेषण क्षेत्रमा पनि आबद्ध भए । सुमिरे टुर्स एन्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्वेज इन्स्टिच्युट र हेम्स स्कूलजस्ता संस्थासँग उनी संलग्न भए ।
व्यावसायिक यात्राकै क्रममा सभापति लामिछानेसँग उनको चिनजान भएको थियो । त्यो चिनजानले कोभिड १९ महामारीका बेला थप फस्टाउने अवसर पायो । झांगिदै गएको त्यही सम्बन्ध २०७९ असार ७ देखि राजनीतिक सहकार्यमा परिणत भएको हो । उनी रास्वपाका उपसभापतिको जिम्मेवार भूमिकामा रहे ।
२०७९ सालको निर्वाचनमा रास्वपाले २० सिट जित्दा अर्याल समानुपातिक सांसद बने । त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भए । पहिलो कार्यकाल २० दिनमा सीमित रह्यो । दोस्रोपटक भने उनले करिब चार महिना काम गरे । फागुन २१ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष चुनाव लडेर विजयी बनेका अर्याललाई पार्टीले सभामुख बनाउने निर्णय गरेको हो ।
सभामुख व्यवस्थापिकाको प्रमुख पद हो, जसले राज्यका अंगहरूबीच सन्तुलन कायम गर्ने भूमिका खेल्छ । संविधानअनुसार सभामुख बनेपछि दलीय आबद्धताबाट अलग रहनुपर्छ, त्यसैले अर्यालले उपसभापति पद त्याग्नुपर्ने हुन्छ ।
यसअघिका सभामुखमाथि निष्पक्षता कायम गर्न नसकेको आरोप लाग्दै आएको छ । अर्यालले आफूलाई कत्तिको तटस्थ राख्छन् भन्ने कुरा उनको अबको कार्यशैलीले नै पुष्टि गर्नेछ । अहिलेसम्म भने उनलाई सन्तुलित विचार, शान्त स्वभाव र संवाद क्षमताका कारण पार्टीभित्र र बाहिरबाट पनि समान दृष्टिले हेरिँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्