नेभिगेशन
अर्थतन्त्र

पूर्वनासु घिमिरेविरुद्ध अख्तियारद्वारा पुनरावेदन

काठमाडौं । एक जना पूर्वनासुका विरुद्धको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । भन्सार विभागका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्धको गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा पुनरावेदन लिएर सर्वोच्च पुगेको हो । आयोगले बुधबार पुनरावेदन दर्ता गराएको छ । 
आयोगद्वारा दायर मुद्दामा विशेष अदालतले २०८१ वैशाख २० मा घिमिरेलाई आंशिक सफाइ दिएको थियो । दुई वर्षपछि उक्त फैसलालाई चुनौती दिँदै आयोगले पुनरावेदन सर्वोच्चमा पुनरावेदन गरेको हो । 
अख्तियारले सुरुमा घिमिरेले २ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०७९ चैत १९ मा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा घिमिरेले कुल ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेको पाइएकोमा ५ करोड २५ लाख रुपैयाँ मात्र वैध आम्दानी देखिएको आयोगको दाबी छ । २०५२ कात्तिकदेखि २०७९ पुससम्म सरकारी सेवामा रहँदा उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती शारदा गौतमको नाममा राखेको भन्दै आयोगले उनलाई पनि प्रतिवादी बनाएको थियो ।
घिमिरे ती पात्र हुन् जो २०७९ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा बजेट निर्माणका क्रममा अनधिकृत रूपमा अर्थ मन्त्रालय प्रवेश गरेको आरोपमा विवादमा आएका थिए । व्यवसायीको मिलेमतोमा करका दर हेरफेर गर्न उनलाई सहभागी गराएको भन्दै प्रश्न उठेपछि मन्त्री शर्माले पदबाट राजीनामा समेत दिनुपरेको थियो । यद्यपि संसदीय छानबिन समितिले अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि गर्न नसकेपछि शर्मा पुनः मन्त्री बनेका थिए । पूर्वनासु घिमिरेमाथि विमानस्थल भन्सार र राजस्व अनुसन्धान विभाग जस्ता निकायमा बसेर राजस्व छल्ने र गैरकानूनी काम गरी अकुत सम्पत्ति कमाएको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र