नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

मिडिया, स्वतन्त्रता र उत्तरदायित्व

कुनै पनि प्रजातान्त्रिक समाजमा मिडियाको महत्व कति हुन्छ भन्ने विषय दोहोर्याइरहनु पर्ने आवश्यकता नै छैन। मिडिया अर्थात सञ्चार माध्यमलाई प्रायः “चौथो अंग” भनिन्छ, किनभने यसले राज्य सञ्चालनलाई सहज बनाउने मात्र होइन, जनताको आवाजलाई मुखर बनाउने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दछ। देशका दुर्गम कुनाकाप्चादेखि अन्तर्राष्ट्रिय परिवेशसम्मका विषयलाई जोड्ने पुलका रूपमा मिडियाले काम गर्दै आएको छ । विशेषगरी निमुखा, सीमान्तकृत र आवाजविहीन समुदायका मुद्धालाई उठाउने माध्यमका रूपमा मिडियाको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ ।
प्रजातान्त्रिक मुलुकमा मिडियाले समाजको ऐनाको भूमिका निर्वाह गर्दछ । यसले राज्यका गतिविधिहरूलाई निगरानी गर्दै जनतालाई सूचना प्रवाह गर्ने मात्र होइन, सरकारका निर्णय र कार्यप्रणालीमाथि प्रश्न उठाउने कार्य पनि गर्दछ । जब राज्य सञ्चालनमा पारदर्शिता र उत्तरदायित्व आवश्यक हुन्छ, तब मिडिया एक सशक्त माध्यमका रूपमा अघि आउँछ । यसैले लोकतन्त्रको सुदृढीकरणमा मिडियाको योगदान अपरिहार्य मानिन्छ ।
वाक स्वतन्त्रता प्रजातन्त्रको आधार स्तम्भ हो । जुन समाजमा बोल्ने स्वतन्त्रता हुँदैन, त्यो समाज स्वतः निरंकुशतातर्फ उन्मुख हुन्छ । जब जनताले आफ्ना विचार व्यक्त गर्न पाउँदैनन्, तब उनीहरूले आफ्ना माग र आवश्यकताहरू कसरी राख्ने? विचार विमर्श कसरी गर्ने? आफ्नो भविष्यको दिशा कसरी निर्धारण गर्ने? यी सबै प्रश्नहरूको उत्तर स्वतन्त्र अभिव्यक्तिसँग जोडिएको हुन्छ। नेपालको राजनीतिक इतिहासले पनि यही सत्यलाई प्रमाणित गरेको छ। पञ्चायती शासनकालमा अभिव्यक्तिको स्वतन्त्रता सीमित हुँदा जनताको असन्तुष्टि चुलिँदै गयो, जसले अन्ततः जनआन्दोलनमार्फत बहुदलीय प्रजातन्त्र पुनःस्थापना गरायो । २०४६ सालअघिको समाज अपेक्षाकृत बन्द थियो । घोषित तथा अघोषित सेन्सरसिपका कारण जनताको आवाज स्वतन्त्र रूपमा सार्वजनिक हुन सक्दैनथ्यो। तर समय परिवर्तनसँगै सञ्चार माध्यमहरूमा आएको विकास र विशेषगरी सामाजिक सञ्जालको विस्तारले अभिव्यक्तिको दायरा निकै फराकिलो बनाएको छ । आजका दिनमा प्रत्येक नागरिकसँग आफ्नो धारणा व्यक्त गर्ने प्लेटफर्म छ । यही स्वतन्त्रताले तानाशाही प्रवृत्तिलाई चुनौती दिने काम गरेको छ । यसको उदाहरणका रूपमा दोस्रो जनआन्दोलनलाई लिन सकिन्छ, जसले प्रेस स्वतन्त्रताको महत्वलाई अझ प्रष्ट पारेको छ । तर यसो भन्दैमा मिडिया पूर्ण रूपमा निर्दोष छ भन्न सकिन्न । नेपाली समाज अझै सुदृढ संस्थागत विकासको चरणमा रहेको, साक्षरता दर क्रमशः बढ्दो अवस्थामा रहेको सन्दर्भमा मिडियाबाट पनि गल्तीहरू भएका छन्। कतिपय अवस्थामा तथ्यपरकता कमजोर भएको, सनसनी फैलाउने प्रवृत्ति देखिएको वा गैरजिम्मेवार सामग्री प्रसारण भएका उदाहरणहरू पनि छन् । तर सकारात्मक पक्ष के हो भने मिडियाले आफ्ना त्रुटिहरू स्वीकार गर्दै सुधारका लागि प्रतिबद्धता जनाएको छ । यसले सत्यको खोजी निरन्तर रहने आशा जगाएको छ ।
आज हामी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा एउटा गम्भीर प्रश्न उठ्छ—के हामी मिडियाको मूल मर्मबाट विचलित त भइरहेका छैनौं? सामाजिक सञ्जालमा लाइक, सेयर र भ्युजको होडमा लाग्दा तथ्य खोजी, गहिरो विश्लेषण र सशक्त प्रश्न उठाउने जिम्मेवारी कमजोर त बन्दै छैन? यो आत्मालोचना आवश्यक छ। किनभने मिडियाको वास्तविक शक्ति लोकप्रियतामा होइन, सत्यप्रति प्रतिबद्धतामा निहित हुन्छ। सूचना प्रविधिको तीव्र विकाससँगै आज सूचना र जानकारीको बाढी आएको छ। यस्तो अवस्थामा सत्य र असत्य छुट्याउने जिम्मेवारी अझ जटिल बनेको छ। यहीँ मिडियाको भूमिका अझ संवेदनशील र महत्वपूर्ण हुन्छ। मिडियाले तथ्यको पुष्टि गर्दै विश्वसनीय सूचना प्रवाह गर्नुपर्छ। यदि मिडिया कमजोर भयो भने समाज भ्रमित हुन्छ र लोकतन्त्र पनि कमजोर बन्छ ।
नेपालजस्तो भौगोलिक विविधता भएको देशमा सञ्चार माध्यमको पहुँच अझ महत्वपूर्ण छ । शहरी क्षेत्रमा सूचना प्राप्ति सहज भए पनि दुर्गम क्षेत्रहरूमा अझै पनि स्थानीय मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण छ। यदि निजी सञ्चार माध्यमहरूलाई कमजोर बनाइयो भने त्यहाँका नागरिकहरू सूचना पहुँचबाट वञ्चित हुने खतरा रहन्छ । यसले समाजको समग्र विकासमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले राज्यले सञ्चार क्षेत्रलाई प्रोत्साहन र संरक्षण गर्नुपर्छ। अन्ततः मिडियाको मूल दायित्व भनेको प्रणालीमाथि निरन्तर प्रश्न उठाउनु हो। के राज्य सही दिशामा अघि बढिरहेको छ? के निर्णयहरू जनहितमा छन्? यस्ता प्रश्नहरू उठाएर मिडियाले सरकारलाई उत्तरदायी बनाउँछ । तर मिडियाले न्यायाधीशको भूमिका निर्वाह गर्नु हुँदैन; यसको काम जनतालाई सूचना, विश्लेषण र दृष्टिकोण प्रदान गर्नु हो, ताकि उनीहरूले स्वयं निर्णय लिन सकून्। यथार्थ के हो भने तानाशाही प्रवृत्तिका शासकहरू प्रश्न रुचाउँदैनन्। तर प्रश्न नै लोकतन्त्रको आत्मा हो । जब मिडियाले प्रश्न उठाउँछ, तब उसले जनताको अधिकारको रक्षा गरिरहेको हुन्छ । यसैले मिडियालाई स्वतन्त्र, जिम्मेवार र सत्यनिष्ठ बनाउनु आजको आवश्यकता हो । लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि मिडियाको भूमिका सदैव केन्द्रमा रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

अमरताको खोजी

अमरताको खोजी

जनताको आशाको बजेट

जनताको आशाको बजेट