नेभिगेशन
साहित्य

आरोग्य मार्ग हो मान्छेका कथा

मेरा अगाडि कक्षा दुईमा पढ्ने एउटा बालकको चिसो–नीलो–धमिलो शव लडिरहेको थियो । आफू पढ्ने विद्यालयको होस्टेलमा झुन्डिएर मृत अवस्थामा भेटिएको थियो ऊ । उसको मृत्युको कारण आत्महत्या रहेको भर्खरै मात्र प्रमाणित भएको थियो ।

झुण्डिइरहेको बालकको मुखबाट लत्रिरहेको जिब्रोलाई केन्द्र बनाएर कसैले तस्बिर खिच्न भ्याइसकेको थियो । तस्बिर सामाजिक सञ्जालमा ‘नमीठो भाइरल’ हुने क्रममै थियो । तस्बिरले उसका साथीहरूका कोमल हृदय कम्पित भएको थियो । तर त्यो शव, त्यो घटना अनि यी त्रस्त बालमानसपटलको कस्तो साहित्य होला ?

आचार्य विश्वनाथले भनेका छन्— वाक्यं रसात्मकं काव्यम् । अर्थात् रसयुक्त वाक्य नै काव्य हो । म कुन लेखौं ? जीवन प्रति ती बालकको क्रोधले कुँदिएको रौद्ररस कि उसका बाआमा र साथीसँगीको करुण रस ? धेरै सोचें । वास्तवमा म रिस, करुणा र आँसु होइन आँसु पुछ्ने बलिया हातका बारेमा लेख्न चाहन्थें ।

Dr-Nawaraj-KC-1757123860.jpg
डा. नवराज केसी

साहित्यमा यस्तो रस या विधा होला– नहोला, लेखिहालें भने पनि मिल्ला–नमिल्ला ! तर मेरो प्रयत्न सामान्य छ । मेरो कलमको पौरखले पाठकलाई बाँच्न मन लागोस्, मेरो चाह बस् यत्ति मात्र हो । बाँच्ने क्रममा जीवनको गोरेटोमा सहजता होस्, अनि होस् उमङ्ग पनि ।

आफूले बाँचेको जीवनले अरुलाई पनि बाचूँ– बाचूँ लागोस् । सोचें, ती भुइँमान्छेहरूको जीवन कथा लेखूँ, जो धरतीमा केवल बाँच्दैनन्, बुद्ध– विज्ञानको जीवन–उत्सव मनाउँछन् । तर के एउटा मान्छेको कथा अर्को मान्छेको आरोग्य मार्ग हुन सक्छ ? ओखती हुन सक्छ ? जीवन जोगाउने जीवनोपहार (लाइफ सेभर) हुन सक्छ ?

यस प्रश्नको उत्तर भेट्न पृथ्वीमा मानव विकासभित्र मानव मस्तिष्कमा कथा मनोविज्ञानको भुइँ खोतल्नु पर्छ । अर्बाैं प्राणी जिउने पृथ्वीमा केवल मान्छे मात्र हो जसले कथा भन्न सक्छ । कथा सुन्न, बुझ्न र तिनमा विश्वास गर्न सक्छ । एउटा कथा भन्दै, सुन्दै र पढ्दै गर्दा मस्तिष्क सक्रिय हुन्छ । 

हाम्रो दिमागको पछिल्लो भाग (अक्सिपिटल लोब्स) ले आँखाको दृष्टिलाई आफूभित्र दृश्यमा बदल्छ र अर्थ निर्माण गर्छ । त्यस भागले यसरी नै कथाका पात्र र परिस्थितिको पनि आकृति निर्माण गरिदिन्छ, जसरी मानिसले आँखाले देखेको दृश्य महसुस गर्छ । कथामा लट्ठिएको मान्छेले आँखा अगाडि अस्तित्व नभएको दृश्य आँखापछाडि मस्तिष्कमा देख्न सक्छ ।

अझ, मानवमस्तिष्कले कान हुँदै दाहिने–देब्रे दिमाग (टेम्परल लोब्स) मा पुगेर ध्वनि जसरी सुन्छ, त्यसरी नै कथाका पात्रको संवाद, कथाका चिरबिरदेखि विस्फोटनसम्मका आवाजको अनुभूति निर्माण गर्छ । यसरी नै दिमागमा कथाका पात्र र परिवेशको स्पर्श, स्वाद र सुवासको पनि अनुभूति निर्माण हुन्छ ।

जब कथामा दया, माया, करुणाको आधिक्य हुन्छ, कथा पढ्दै, सुन्दै र भन्दै गरेको मानव शरीरमा पनि ‘अक्सिटोसिन हर्माेन’ बढ्न जान्छ । यो हर्माेन मायाले रुझेको शरीरमा बढेको हुन्छ । त्यस तरंगले मानव शरीरलाई शीतलता प्रदान गर्छ; तनाव मुक्त गर्ने सामथ्र्य राख्छ ।

प्रेरणादायी कथाले मानव शरीरमा ‘डोपामिन हर्माेन’ बढाउँछ; जसले शरीरमा जोस, जाँगर र अझ ठूलो प्राप्तिको पहल पनि गर्न सक्छ । क्रोध र युद्धको कथा सुन्दा मानव शरीरमा तिनै तरंङ अधिक बढ्न जान्छन्, जो स्वयम् कल–झगडा वा लडाइँ गर्दा मानव शरीरमा बढ्ने गर्छन् ।

त्यसैले कथामा मानिस लामो यात्रा गर्न सक्छ । कहीँ पुग्न सक्छ अनि हराउन र भेटिन पनि सक्छ । हरेक मान्छेभित्र आँसु, उल्लास, ज्ञान, अज्ञानका अनन्त कथा हुन सक्छन् । अर्थपूर्ण, उद्देश्यपूर्ण र सजीव कथा कहिलेकाहीँ धर्म कहलिन सक्छ; विश्वास बन्न सक्छ । र, बन्न सक्छ, स्वयम् एउटा राष्ट्र पनि ।

यस्तै क्षमता राख्ने अर्को कथाले फेरि यो धर्म, विश्वास र राष्ट्रको अन्त्य पनि गरिदिन सक्छ । कथा मान्छेका लागि जानकारी मात्र होइन, प्रेरणा पनि हो । कथा मान्छेका विश्वास बन्न सक्छ । धर्म र राष्ट्र नै पनि बन्न सक्छ । उसो भए के एउटा मान्छेको कथा अर्को मान्छेको आरोग्य मार्ग हुन सक्छ ? ओखती हुन सक्छ ? र, हुन सक्छ के जीवन जोगाउने जीवनोपहार– लाइफ सेभर ?

जीवनमा केही प्रश्नका उत्तर अन्त होइन, आफ्नै हृदयमा भेटिन्छन् । कर्णालीको तीरैतीर डाक्टरी पसिना बगाउन थालेको एक दशक कट्यो । यस अविरल यात्रामा असङ्ख्य बालबालिका, युवक–युवती र अभिभावकसँग जीवनका साना–ठूला मानसिक विकार, लत– कुलत अनि आत्महत्याको असफल प्रयासपछि डाक्टरी मित्रता गाँस्ने कर्म जुर्‍यो ।

Sparsh-final-1757124537.jpgयो कर्ममा मैले उनीहरूलाई कहिलेकाहीँ मात्र ओखती दिएर पठाएँ । कहिले ओखतीसँगै एक–दुई कथा सुनाएँ । धेरै पटक मैले उनीहरूलाई बिनाओखती भुइँमान्छेका बलिया कथा मात्र सुनाएँ । कर्णालीको तीरैतीर समय बग्दै गयो । कथाका बाँधमा अर्थका ऊर्जा थापिँदै गए, अनि केही कथा स्थापित भए ।

भुइँमान्छेका यी कथा, यस सन्दर्भमा स्थापित हुनुको एउटा विशेष कारण थियो । यी कथाका आत्मामा मानसिक समस्या व्यवस्थापनका आधुनिक वैज्ञानिक सिद्धान्त र बौद्ध दर्शन पनि हुन्थे । मानव इतिहासमा लामो समयसम्म मानसिक समस्याका लक्षणलाई पाप–श्राप–देवी–देउतासँग जोडियो । कहिले पूर्वजन्मको कमाइको लाञ्छना लगाइयो । 

दोस्रो विश्वयुद्धपछि पहिलो पटक मानसिक समस्याको पहिलो ओखती बन्यो र नियमित प्रयोगमा आयो । अनि ससानादेखि ठुल्ठूला मानसिक समस्याको समाधान आफ्नै घरमा बसेर आफन्तकै सामीप्यमा समाधान हुन थाले । यसपछि मानसिक समस्याको समाधान र सकारात्मक मानसिकताको विकासबारे अध्ययन अनुसन्धान, आविष्कार चुलिँदै गए । 

ओखती नै खानु नपर्ने केही विधि पनि प्रयोगमा आए, जसको नियमित उपयोगले हाम्रा मानसिक विकारका डोब पुरिन सक्छन् । कमजोर मानसिकताका पाखुरा प्रबल हुन सक्छन् । र, अझ महत्वपूर्ण, यसैको दैनिक उपयोगले स्वस्थ मान्छे पनि दुर्वलताले कहिल्यै गलाउन नसक्ने गरी मानसिक रुपमा बलवान् हुन सक्छ ।

यस पुस्तकका कथा यिनै अत्याधुनिक वैज्ञानिक विधि कग्नेटिभ बिहेभियर थेरापी, साइकोडाइनामिक थेरापी, ह्युमानिस्टिक थेरापी, एक्सपोजर प्रिभेन्सन थेरापी, मेन्टलाइजेसन–बेस्ड थेरापी, माइन्डफुलनेस–बेस्ड थेरापी र इन्टिग्रेटिभ साइकोथेरापीमा आधारित छन् ।

यी वैज्ञानिक विधिभित्र डुब्दै गर्दा मलाई सधै लागिरह्यो— अहो ! यी त महान् बुद्धको वृक्षमा फुलेका अनेक आधुनिक फूल, फल र बुटी पो रहेछन् ! बुद्धभित्र पनि विशाल विज्ञान रहेछ । विज्ञान पनि आफ्नै बुद्धत्वको खोजीमा रहेछ ! मलाई लागिरह्यो, विज्ञानबिनाको बुद्ध अपूरो–अधुरो छ । अनि बुद्धबिनाको विज्ञान अनर्थ ।

एउटा मान्छेको बलियो कथा अर्को मान्छेको बल बन्न सक्छ । बुद्ध गन्तव्य पुग्ने एउटा बुद्धुको विद्याबोधको कथा अर्को मान्छेका लागि ध्यान सरह हुन सक्छ । करुण कथाको प्रवाहमा कठोर पत्थर हृदय पनि पावन् गंगा बन्न सक्छ । 

हो, एउटा मान्छेको कथा अर्को मान्छेको आरोग्यमार्ग, ओखती र जीवनोपहार बन्न सक्छ । पुस्तकमा तीन अध्याय यात्राको छ । अध्याय एक— बुद्ध, विज्ञान र बुद्धु। अध्याय दुई— मान्छे शरीरभित्र समाज बोकेर जन्मिन्छ ! र, अध्याय तीन— स्वशिष्य, स्वशिक्षक र स्वनिर्माण; आफूभित्रको आकाशमा भुरुरु उड्ने जिन्दगी !

यीभित्र दुई चौतारी भेटिनेछन्– कर्मस्थलमा भेटिएका भुइँमान्छेको जीवन–चौतारी र अध्ययनस्थलमा भेटिएका बुद्धविज्ञान–चौतारी । मेरो कामना छ, तपाईंको कथा पनि कुनै दिन कसैले लेखोस् र धेरैका लागि आरोग्यमार्ग, ओखती र जीवनोपहार बनोस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्