काठमाडौं । उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । विधानको व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष बनेका छन् भने अन्य पदहरूका निर्वाचन भएको छ । अध्यक्षको तीन वर्षको कार्यकाल पूरा गरेका चन्द्र ढकालले ब्याच लगाइदिएर श्रेष्ठलाई पद हस्तान्तरण गरेका छन् ।
महासंघको ६०औं साधारणसभामा सोमबार औचारिक समारोह थियो भने मंगलबार निर्वाचन भएको थियो । आर्थिक क्षेत्रले ढकालको कार्यकालमा जहाँ अस्थिर सरकार र नीतिगत संक्रमणकाल भोगेको थियो, श्रेष्ठले नेतृत्व गर्न पाउँदा सुविधाजनक मतसहितको शक्तिशाली जनमतसहितको सरकार छ । निजी क्षेत्रले अब स्थिर र शक्तिशाली सरकार चाहिन्छ भनिरहनुपर्दैन । श्रेष्ठले नेतृत्वमा आउँदा सहज टिम पाउने देखिएको छ । निजी क्षेत्रको सरोकारमा सरकारसँग समझदारी कायम गरेर अघि बढ्न अब श्रेष्ठको परीक्षा सुरु हुने भएको छ ।
उद्योगीव्यवसायीको सबैभन्दा ठूलो संगठनको नेतृत्वमा आउन पछिल्ला कार्यकालमा अन्जन श्रेष्ठजस्तो सहज अरूलाई हुने छैन । वर्तमान कार्यसमितिको नेतृत्वमा भएको विधान संशोधनअनुसार आगामी कार्यकालदेखि भने वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था खारेज भइसकेको छ । अब महासंघको पछिल्ला अधिवेशनसहितको साधारणसभाले भने अध्यक्षसहितको सबै पदाधिकारी निर्वाचित गर्नेछ ।
यसपटक साधारणसभा पूर्वघोषित मितिभन्दा पछि सर्दा केही उम्मेदवारलाई खर्चले चर्को परिसकेको खबर बाहिर आइरहेका थिए । दुई प्यानल चुनावी प्रतिस्पर्धामा थियो । नतिजामा श्रेष्ठसमर्थित प्यानलमा उद्योगी–व्यवसायीको झुकाव देखाएको छ । कडा चुनावी प्रतिस्पर्धा भए पनि अञ्जन श्रेष्ठका लागि तुलनात्मक रूपमा सजिलो हुने टिम बनेको छ ।
निर्वाचनमा जिल्ला–नगर उद्योग वाणिज्य समूहअन्तर्गत दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । वस्तुगत समूहअन्तर्गत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले ६३ र प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत पाए । एसोसिएटतर्फ एक उपाध्यक्षमा प्रबलजंग पाण्डे १ हजार ७९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७ सय ५० मत पाइन् ।
जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फ कार्यसमिति सदस्यमा गीता अमात्य, हिरा भट्टराई, अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । यो कार्य समितिमा १५ जना निर्वाचित हुने व्यवस्था छ ।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत जिल्ला–नगर समूहबाट १४ जना कार्यसमिति सदस्य चयन भएका छन् । कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भएका छन् ।
वस्तुगत समूहतर्फ कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन् । जसमा अरनिको राजभण्डारी, नानीराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे छन् । वस्तुगतको एक महिला सदस्यमा सुनिता न्हेम्हाफुकी विजयी भएकी छन् । वस्तुगत महासंघबाट कार्यसमिति सदस्यका लागि विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भएका छन् ।
यस्तै एसोसिएटतर्फ कार्यसमिति सदस्यमा १७ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा छन् । एसोसिएट महिलामा दुई कार्यसमिति सदस्य अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट मनोज पौडेल विजयी भए । संस्थापक सदस्य समूहबाट दुई कार्यसमिति सदस्यमा गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ विजयी भएका छन् ।
महासंघ प्रवेशको २४ वर्षपछि नेतृत्वमा
महासंघको अध्यक्षको जिम्मेवारी अञ्जन श्रेष्ठले बुधबारदेखि सम्हालेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन् ।
महासंघमा सक्रिय बनेको करिब २४ वर्षपछि उनी नेतृत्वमा पुग्न सफल भएका छन् । २०५९ सालमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका श्रेष्ठले त्यसयता विभिन्न जिम्मेवारीमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति तथा रोजगारदाता परिषद् सदस्यको रूपमा काम गरिसकेका छन् ।
महासंघको ५७औं वार्षिक साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । व्यावसायिक रूपमा श्रेष्ठ लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक हुन् । उनको परिवारिक घरानाको कन्फेक्सनरी उद्योगमा उनले २०४५ सालदेखि काम सुरु गरेका थिए, जुन हाल ‘सुजल फुड’ का रूपमा सञ्चालनमा छ ।
लक्ष्मी ग्रुपअन्तर्गत उनले प्याकेजिङ, ट्रेडिङ, स्टिल तथा अटोमोबाइल क्षेत्रमा व्यवसाय विस्तार गरेका छन् । अटोमोबाइल क्षेत्रमा उनी हुन्डाई गाडीको आधिकारिक वितरकका रूपमा सक्रिय छन् । ग्रुपअन्तर्गत स्टिल उत्पादन र सवारीसाधन एसेम्बलसम्बन्धी उद्योगहरू पनि सञ्चालनमा छन् । यस समूहअन्तर्गतका विभिन्न उद्योगमा तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।