रङ्गमञ्चमार्फत चलचित्रमा उदाएका अधिकांश कलाकार हाल रजतपटमा अग्रपङ्क्तिमा छन् । अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धि तामाङलगायत रंगकर्म हुँदै चलचित्रमा स्थापित भएका कलाकार हुन् ।
उनीहरूलाई रंगमञ्चमा नदेखिएको वर्षौं भइसकेको छ । नयाँ पुस्ताले उनीहरूलाई रंगकर्मी नभई चलचित्रकर्मीका रूपमा चिन्न थालिसकेका छन् । चलचित्रमा स्थापित भएका रंगकर्मी रंगमञ्चमा फर्किन किन कठिन भइरहेको हो ? यो अहम् प्रश्नले स्वयम् रंगकर्मीलाई पिरोलेको छ ।
रंगकर्मलाई पनि निरन्तरता दिन अभिनेता दयाहाङ राईले केही रंगकर्मीसँगको सहकार्यमा मण्डला नाटकघर नै स्थापना गरे । नाटक घरको स्तरोन्नतिका लागि उनले लगानी गरेका छन् तर उनले रंगमञ्चमा समय दिन सकिरहेका छैनन् । ‘समय नमिलेर नाटक नखेलेको पनि निकै भइसक्यो,’ उनले गुनासो भावमा भने ।
चलचित्रको छायांकन सकेर हरेक साँझ नाटक गर्न आइपुग्दा एक दिन त उनी बिरामी नै परे । ‘मैले सोफाको सहारामा त्यो दिन नाटक सकेँ । मञ्चको लाइट निभ्नेबित्तिकै मलाई साथीभाइले मण्डला नाटकघरको माथिल्लो तलामा लगेर उपचार नै गराउनुभयो । त्यसैले अहिले मझैँ धेरै साथीहरू मञ्च अगाडिभन्दा पनि निर्देशन, निर्माणलगायत काममा हुनहुन्छ जस्तो लाग्छ,’ अभिनेता राईले कारण खुलाउँदै भने ।
लेखिएको भूमिकालाई न्याय गर्ने कलाकारको खोजी हुँदा प्रायः लेखक र निर्देशक रंगमञ्चमा धाउने गरेका छन् । अहिले सानो भूमिकादेखि शीर्ष भूमिकासम्म नाटकमा काम गरिसकेका अनुभवी कलाकारहरूको खोजी गर्न फिल्मकर्मीहरू त्यता जाने गरेका छन् । त्यसैले फिल्म उद्योगमा नाटकमा काम गरिसकेका कलाकारको भिड बढ्न थालेको छ । तर चलचित्रमा बढ्दो व्यस्तताले उनीहरूलाई नाटकमा फर्किन असहज भइरहेको छ । कतिपय अवस्थामा कलामाथि व्यापार पनि हाबी भएको रंगकर्मीहरूको भनाइ छ ।
आर्थिक पक्षलाई सबल बनाउन भए पनि रंगकर्मी चलचित्रमा काम गर्ने क्रम बढेको छ । रंगमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद नै हो । रंगकर्मी कुनै न कुनै भूमिकामा रंगमञ्चसँग जोडी रहनुपर्ने धारणा रंगकर्मी आशान्त शर्माको छ । उनले चलचित्रमा काम गरे पनि प्राथमिकतामा रंगमञ्च नै राख्ने गरेको बताउँछन् । नाटक लेख्ने र निर्देशन गर्ने अनुभवी रंगकर्मीको अभाव हुँदै गएकाले पनि स्थापित अनुहार कम देखिएको हुन सक्ने विश्लेषण उनको छ ।
‘स्थापित अनुहारले विश्वास गर्न सक्ने निर्देशक र लेखिएका नाटकमा पनि कमी आएको जस्तो मलाई लागेको छ । म आफैँ पनि सीमित नामभन्दा अन्यसँग काम गर्न तयार हुन धेरै समय लिन्छु । आफूले काम नगरेका निर्देशकले के कस्तो काम गर्लान् भन्ने डर हुन्छ । तर, स्थापित रंगकर्मीले नाटक लेखेर, निर्माण गरेर भए पनि रंगमञ्चसँग जोडिनु पर्छ,’ शर्माको भनाइ छ ।
कुशल रंगकर्मी विजय बराल भने वर्षमा केही समय नाटकलाई नै छुट्याएर काम गर्ने सोचमा छन् । उनी भन्छन्, ‘मेरो चलचित्र ‘पूर्णबहादुरको सारंगी’ प्रदर्शन भइरहँदा नै मैले ‘हरि हजुरबा’ नाटक गरेँ । रंगमञ्चले हाम्रो अभिनयलाई भड्किन दिँदैन भने सफलतालाई ‘ह्यान्डल’ गर्न पनि सिकाउँछ । यसकारण मैले रंगमञ्चलाई समय नै छुट्याएर चलचित्रमा काम गर्ने योजना बनाएको छु ।’
रंगमञ्चले नै पहिचान स्थापित गरेका रंगकर्मी नाटकमा फर्किन नसक्नु दुःखद नै हो । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रंगमञ्चको विशेषता हो । रंगमञ्च अहिले पनि अभिनय सिक्ने मञ्च बनेको छ ।
- रासस