नेभिगेशन
अर्थतन्त्र

नेपाल लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको १९औं साधारण सभा काठमाडौंस्थित होटल एभरेष्टमा सम्पन्न भएको छ । सभाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले गरेका थिए ।
सभामा सेन्टर फर माइक्रोफाइनान्सका अध्यक्ष डा. रेवतबहादुर कार्की, संघका पूर्वअध्यक्ष विष्णुप्रसाद पाठक, रामचन्द्र जोशी, वसन्तराज लाम्साल तथा प्रकाशराज शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै बैंक तथा वित्तीय संस्था परिसंघका रोशन कोइराला र नेपाल चेम्बर अफ कमर्सका टिकाराम शर्माले पनि लघुवित्त क्षेत्रको विकासमा संघको भूमिकाको प्रशंसा गरेका थिए ।
कार्यकारी निर्देशक शाक्यले लघुवित्त संस्थाहरूमा व्यावसायिक सुधार देखिएको उल्लेख गर्दै क्षेत्रका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंक सकारात्मक रहेको बताए । उनले गरिबी न्यूनीकरण, महिला सशक्तीकरण तथा ग्रामीण अर्थतन्त्रको विकासमा लघुवित्त क्षेत्रको महत्वपूर्ण योगदान रहेको धारणा राखे ।
संघका अध्यक्ष रामबहादुर यादवको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको बजेट पारित गरेको छ । सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नयाँ कार्यसमितिमा रामबहादुर यादव अध्यक्षमा दोहोरिएका छन् । साथै, दीपक निधि तिवारी उपाध्यक्ष, सञ्जयकुमार मण्डल महासचिव, विनोद आचार्य कोषाध्यक्ष तथा शिवप्रसाद ज्ञवाली सचिव चयन भएका छन् ।
नेपाल लघुवित्त बैंकर्स संघ २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहितका लागि सक्रिय रहँदै आएको छ । हाल देशभरका ५१ मध्ये ४७ वटा लघुवित्त संस्था संघमा आबद्ध छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र