नेभिगेशन
अर्थतन्त्र

४ हजार २९६ मेगावाट पुग्यो विद्युत्–जडित क्षमता

काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जडित क्षमता ४ हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रले लगानी गरेर निर्माण गरेका जलविद्युत् एवं सौर्य विद्युत् आयोजनाले उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको जडित क्षमता यति पुगेको हो ।
अहिले परीक्षण उत्पादनको चरणमा रहेका जलविद्युत् आयोजना तथा वैकल्पिक ऊर्जा प्रवर्घन केन्द्रको अनुदान सहयोगमा बनेका लघु जलविद्युत् तथा सौर्य ऊर्जाको विद्युत् यसमा जोडिएको छैन । यस्तै, व्यापारिक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण भएका सौर्य विद्युत् आयोजनाको ६२.७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५.३ मेगावाट बराबर विद्युत् उत्पादन भएको छ ।
निर्माणाधीन आयोजनाहरू प्रसारण प्रणालीमा थपिँदै जाँदा विद्युत् जडित क्षमता पनि बढ्दै गएको नेपाल विद्युत् प्राधिकरणको उत्पादन निर्देशनालयले जनाएको छ । प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रसारण प्रणालीमा कूल विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट माथि पुग्ने सम्भावन छ । 
यस्तै, अहिलेसम्म ६६ केभीभन्दा माथिको करिब सात हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । १४ हजार तीन सय २३ एमभिए क्षमताको सवस्टेसन निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । ३३ केभी क्षमताका करिब आठ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन तथा तीन हजार ३०८ एमभिए क्षमताको सबस्टेसन निर्माण भएका छन् ।     
सरकारको पहल तथा विभिन्न समयमा सञ्चालन गरिएको विशेष अभियानका कारण देशभरको विद्युत् चुहावट १२.५ प्रतिशतमा सिमित भएको पनि प्राधिकरणले जनाएको छ । प्राविधिक चुहावटलाई क्रमशः घटाउँदै लैजाने लक्ष्य राखिएको छ । सवस्टेसनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट क्रमशः घटाइने मन्त्रालयले स्पष्ट पारेको छ ।     
यसैगरी, प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा बराबर पुगेको छ । हालसम्म राष्ट्रिय विद्युत् प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत्मा पहुँचमा पहुँच प्राप्त जनसंख्या ९९ प्रतिशत बराबर पुगेको छ । हालसम्म विद्युत् निर्यात २ हजार ९१८ गिगावाट प्रतिघण्टा छ भने विद्युत् आयात करिब ५९० गिगावाट घण्टा भएको छ । 
यस्तै, सिँचाइतर्फ हालसम्म सिँचाइ सुविधा १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा पुगेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सिँचाइयोग्य जमिनमध्ये पाँच लाख ३२ हजार ९० हेक्टरमा भने वर्षभरीमा सिँचाइ सुविधा उपलब्ध रहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय विवरणमा उल्लेख छ ।     
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र