बझाङ । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशु चौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ । यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन् । आहाराको खोजीमा चितुवा, भालु, स्याललगायत वन्यजन्तु बेँसी झर्दा बाली र पशुधन क्षतिका घटना बढ्दै गएका छन् ।
बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका १० वटा वडा, बाजुराको छेडेदह गाउँपालिकाका दुई वडा, अछामको साँफेबगर नगरपालिकाका छ वडा, डोटीका सायल गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाका छ वटा वडा गरी खप्तड फेदीका पाँच गाउँपालिका र एक नगरपालिकाका कुल २४ वटा वडाका बासिन्दाले यस्तै समस्या भोग्नु परेको छ । यहाँ मानव— वन्यजन्तु द्वन्द्वको जोखिमसमेत बढ्दै गएको छ ।
वन्यजन्तुको बढ्दो जोखिम
राष्ट्रिय निकुञ्जबाट आउने चितुवा, भालु, बँदेल, स्याल, दुम्सी र बाँदरबाट स्थानीयवासी हैरान छन् । चार दशक पशुपालनमा बिताएकी खप्तड छेडेदह गापा–१, शेरागाउँकी अम्बादेवी रोकायाले वन्यजन्तुबाट पशुधनको रक्षा गर्न निकै चुनौतीपूर्ण रहेको बताइन् । “चितुवा, भालु, स्यालले हरेक वर्ष मेरै पनि दुईरचार चौपाया मारेकै हुन्छन्”, उनी भन्छिन् ।
रोकायाले बँदेल, स्याल, दुम्सीले बाह्रैमास तथा चितुवा र भालुले प्रायः हिउँदमा बढी नोक्सान पुर्याइरहेका छन् ।
खप्तडछान्ना गाउँपालिकाको पशु शाखाको तथ्याङ्कले पनि जङ्गली जनावरबाट हुने पशुधन क्षति भदौ, असोज र पुस महिनामा बढी हुने गरेको देखाउँछ । दुई वर्षको तथ्याङ्क हेर्दा असोजमा एकै गाउँमा ११, भदौमा आठ र पुसमा पाँच वटा चौपाया वन्यजन्तुले मारेको शाखा प्रमुख अमरराज गिरीले बताए ।
उक्त पालिकाको मेल्तडीमा मात्रै मङ्सिरमा दुई, जेठमा तीन, फागुन, कात्तिक र साउनका एकरएक पशुधनको क्षति भएको उनले बताए । “यो तथ्याङ्क एउटा गाउँ मेल्तडीको मात्रै हो । यहाँ वैशाख, असार, माघ र चैतमा भने यस्ता घटना भएको देखिँदैनन् ”, गिरीले भने ।
तथ्याङ्कअनुसार गत वर्ष पुस १७ गते चितुवाले थलारा, देवस्थलीमा घर नजिकै बाँधेर चराउँदै गरेका तीन वटा बाख्रा मारेको थियो । यस्तै, पुस २५ मा थलारा गाउँपालिका–८, कोइरालकोटमा खडकबहादुर सिंहका १० बाख्रा मारेको थियो । घर नजिकैको डाँडाबाघ मध्यवर्ती सामुदायिक वनको ककनेडी घोडिबिन्ना हलाने वनमा चर्दै गरेका बेला चितुवाले उहाँका बाख्रा मारको हो । सोही महिना आसपास अदुकाली, घोडादाउना, दुवाली, कोइरालकोट र देवस्थलीमा चितुवाले दुई दर्जनभन्दा बढी पशुचौपाया नोक्सान गरेको देखिन्छ ।
त्यसअघि २०८१ सालमा चितुवाले खप्तड छेडेदह–१, शेरागाउँकी अम्दादेवी रोकायाको गोठ नै रित्तो पारिदियो । यस्तै, खप्तड राष्ट्रिय निकुञ्जबाट दशौँ किलोमिटर टाढा थलारा–२ कालापानी बिसौनामा रवीन्द्र खातीका ११ वटा बाख्रा नोक्सान गरेको थियो । भारतमा १२ वर्ष काम गरेर गाउँमै आत्मनिर्भर हुन फर्केका खाती जङ्गली जनावरले क्षति गरेपछि उनी फेरि भारत फर्किन बाध्य भएका छन् ।
सोही वर्ष बर्खे ‘सिजन’ सकिनै लाग्दा खप्तडछान्ना गाउँपालिका–३, लोखाडाका सर्जन रावलका हल गोरुसहित सात वटा गाई र तीन वटा बाख्रा भालुको सिकार भए । पशुचौपाया मात्रै होइन, यहाँ मानिसहरू पनि जङ्गली जनावरको आक्रमणमा पर्ने गरेका छन् ।
गत वर्ष फागुनमा खप्तडछान्ना गाउँपालिकाको खालीगडामा भेडा–च्याङ्ग्रा चराइरहेका राजमल शाहीलाई चितुवाले दिउँसै चितुवाको आक्रमण गरेको थियो । त्यसअघि खप्तडछान्ना गाउँपालिका–३, लोखाडाको माथिल्लो डाँडामा बाख्रा चराइरहेका हिक्मत रावललाई भालुले आक्रमण गर्यो । त्यसबाट उनी डेढ वर्ष थला परे ।
यी त प्रतिनिधिमूलक घटना मात्रै हुन्, खप्तड राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा आउने वन्यजन्तुबाट यहाँका धेरै नागरिक समस्यामा पर्ने गरेका छन् ।
वन्यजन्तुका डरले बसाइसराइ
डोटीको सायल गाउँपालिका, भल्माका धनबहादुर विष्ट जङ्गली जनावरले पशुधनको मात्र नभई खेतीबालीको पनि नोक्सान गर्ने गरेको बताउँछन् । वन्यजन्तुको बढ्दो गतिविधिले पशुधन र खेतीबाली नष्ट हुने क्रम नरोकिएपछि मानिसहरू यहाँबाट बसाइसराइ गर्न बाध्य हुन थालेको उनको गुनासो छ ।
विष्टका अनुसार, केही वर्ष अघिसम्म भल्मा गाउँमा ८२ परिवार थिए, हाल यहाँ करिब १२ परिवार मात्रै रहेका छन् । “निकुञ्जबाट गाउँ पस्ने जनावरहरूकै कारण बस्ती खाली हुँदैछन् । यहाँ रहेका धेरै परिवार बसाइँ सरिसके, हाल १०र१२ परिवार मात्र बाँकी छौँ”, उनले भने ।
डिभिजन वन कार्यालय बझाङका वरिष्ठ अधिकृत ९उपसचिव० शम्भु तिवारीले जङ्गलमा बाघ, चितुवालगायत हिंस्रक जनावरको सङ्ख्या बढ्न थालेकाले समस्या पनि बढेको बताए । बाघ, चितुवा प्रजातिका भाले आहारा र आफ्नो क्षेत्र विस्तारका लागि पनि जङ्गलको बाहिरी क्षेत्रमा आउन थालेको उनले सुनाए ।
“एकापसमा भिडेर हार्ने भाले बाघ वा चितुवाले नयाँ क्षेत्र बनाउँदा बस्ती नजिक पनि पुग्ने गरेको पाइन्छ”, वरिष्ठ अधिकृत तिवारी भन्छन्, “त्यसरी गएको ठाउँमा आफू सुरक्षित हुन र आहारा खोज्दा मानव वा घरपालुवा जनावरलाई सिकार बनाउन खोजेको देखिन्छ ।”
मान्छेबाट वन्यजन्तु पनि असुरक्षित
वन्यजन्तुले मान्छेलाई मात्र होइन, मान्छेले पनि निकुञ्जका संरक्षित वन्यजन्तुलाई नोक्सान पुर्याउने गरेका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०४२र४३ देखि २०८१र८२ सम्म वन्यजन्तुसम्बन्धी १६ वटा मुद्दा दायर भएको तथ्याङ्क छ । यस्तै, आठ वटा वनसम्बन्धी र एउटा अतिक्रमणसम्बन्धी मुद्दा परेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम कडायतले बताए ।
मध्यवर्ती क्षेत्रवासीले हरेक वर्ष वैशाखपछि हजारौँ पशुचौपाया चरिचराउका लागि निकुञ्जमा छाड्ने चलन छ । कतिपयले पोषिलो बुकी घाँस खाऊन् भनेर त कतिले घरमा पाल्नका दुःखले पनि खप्तडमा वस्तु छोडेका हुन्छन् । तीमध्ये कतिपय बाघ, भालु, ब्वाँसोको सिकार बन्छन् । यसरी निकुञ्जभित्र वन्यजन्तुबाट नोक्सान हुने पशुधनको यकिन भने हुँदैन ।
राहतको व्यवस्था
वन्यजन्तुबाट हुने जीउधनको क्षतिबापत राहत उपलब्ध गराई वन्यजन्तु र स्थानीय बासिन्दाबीचको अन्तरसम्बन्ध कायम गर्ने उद्देश्यले वन तथा भू–संरक्षण मन्त्रालयले ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९ ९दोस्रो संशोधन २०७४० बनाई कार्यान्वयन गरिरहेको छ ।
खप्तड राष्ट्रिय निकुञ्जले पनि सोही निर्देशिकाअनुसार क्षति व्यहोरेका र आवश्यक सबै कागजात पुर्याउने पशुधनीहरूलाई राहत दिइरहेको छ । आर्थिक वर्ष २०७६र७७ देखि २०८१र८२ सम्मको अवधिमा चितुवा र भालुको आक्रमणबाट नोक्सान भएका चार सय ६८ पशुधनको राहत दिएको निकुञ्ज कार्यालयले जनाएको छ । यसैगरी, सोही अवधिमा अन्नबाली क्षतिमा पनि एक सय २० वटा घटनाको राहत दिएको देखिन्छ ।
सामुदायिक वनअन्तर्गतको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष खप्तडछान्ना गाउँपालिका–३ मेल्तडीका मेखराज रावल वन्यजन्तुले गरेको क्षतिमा राहत लिन निकै कम गाउँलेले मात्र सिफारिस लिएको बताउँछन् । राहत लिन झन्झटिलो प्रक्रिया भएकाले क्षति बेहोरेकामध्ये धेरैले चासो नराख्ने गरेको उनको भनाइ छ ।
राहत प्रक्रियालाई सहज बनाउन वनले सबै अधिकार स्थानीय तहलाई दिनुपर्ने समाजका अगुवा खप्तडछान्ना गाउँपालिका–५ का दीपेन्द्रकुमार जोशी बताउँछन् । उनले भने, “हालसम्म वन ऐनअनुसार सबै प्रक्रिया पूरा गरेर राहत दिने गरिएको छ । यसको अधिकार स्थानीय तहमा दिए धेरै पीडित नागरिक लाभान्वित हुने थियौँ । ”
खप्तड राष्ट्रिय निकुञ्जका पूर्वप्रमुखसमेत रहेका सरोजमणि पौडेल क्षति न्यूनीकरणका लागि वन्यजन्तुहरू सहजै गाउँ र गाउँका चौपाया पनि निकुञ्ज क्षेत्र पस्ने अवस्था अन्त्य गर्नुपर्ने बताउँछन् । त्यसका लागि बस्ती नजिक भएका ठाउँमा घरपालुवा र वन्यजन्तुको आवतजावत रोक्नका लागि सोलारबाट सञ्चालित करेन्टको झट्का दिने दुईसरो तार लगाउन सके मानव—वन्यजन्तु द्वन्द्व र अन्य क्षति कम गर्न सकिने उनको भनाइ छ ।
“राहत प्रक्रियालाई सहज बनाउने कुरा त छँदै छ । त्योभन्दा पनि वन्यजन्तु र पशुधन क्षति न्यूनीकरणका लागि निकुञ्ज, मध्यवर्ती क्षेत्रका समुदाय र स्थानीय सरकारबिच थप प्रभावकारी समन्वय गरी घरपालुवा जनावरलाई जङ्गलमा नलिने र जङ्गली जनावरलाई जङ्गलबाहिर नआउने अवस्था बनाउन लाग्नुपर्छ”, हाल बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख रहेका पौडेलको सुझाव छ । (रासस)