हालै एकै व्यक्तिमा मिर्गाैला प्रत्यारोपण केन्द्रले तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर नयाँ कीर्तिमान बनाएको छ । तेस्रोपटक प्रत्यारोपण निकै जटिल मानिए पनि त्यो काम नेपालमै हुन सक्छ भन्ने प्रमाणित गरेको छ । यो काममा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सफलता हासिल गरेर नेपालीको क्षमता कम छैन भन्ने दह्रो सन्देश विश्वसामु प्रस्तुत गरेका छन् ।
केन्द्रले भदौ ९ मा लक्ष्मणकिशोर चौधरीको मिर्गौला प्रत्यारोपण गरेर शनिबार २२ भदौमा उनलाई ‘डिस्चार्ज’ गरी घर पठाएको घटना हामी सबैले गर्व लायकको समाचार हो । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री चौधरीले नेपालकै स्वास्थ्य संस्थामा सेवा लिनु पनि अर्को सुखद कुरा हो । चौधरीको पहिलो प्रत्यारोपण भारतमा भएका थियो भने २०७२ सालमा भएको दोस्रो प्रत्यारोपण पनि केन्द्रमै भएको थियो । हाल तेस्रो प्रत्यारोपण पनि केन्द्रमा डा. श्रेष्ठकै नेतृत्वमा भएको हो ।
अन्तिम अवस्थासम्म बिग्रेको कुनै लक्षण नदेखाउने र अकस्मात् बिग्रिएको थाहा हुने हुँदा मिर्गौला रोगलाई जोखिमपूर्ण मानिन्छ । तर नियमित परीक्षणले मिर्गौला रोग गम्भीर हुनुअघि नै संकेत पाउन सकिन्छ । यसो नगरिँदा दीर्घकालीन समस्या आउने र मिर्गौलाले काम नगर्ने जोखिम हुन्छ । जसलाई हामी मिर्गौला फेल भएको भन्छौं । मिर्गौला फेल हुँदा अकाल मृत्यु निम्तिन्छ । विश्वमा एक तिहाइ मानिसमा कुनै न कुनै तहको मिर्गौलाको समस्या हुने गरेको पाइन्छ । विशेषतः दक्षिण एसियाली देशहरूमा मधुमेह तथा उच्च रक्तचापको समस्याले मिर्गौला रोग बढाएको पाइन्छ ।
नेपालमा पन्ध्र वर्षअघिसम्म पनि मिर्गौला फेल भएका मध्ये ९० प्रतिशत भन्दा बढीको संक्रमणको केही महिनाभित्र मृत्यु हुने अवस्था थियो । किनभने त्यो बेला नेपालमा डायलासिस र प्रत्यारोपण सेवा आज जस्तो विस्तार भएको थिएन । हाल देशभर १०० भन्दा बढी डायलासिस केन्द्रमा र ८ हजार मिर्गौलाका रोगीले सेवा लिइरहेका बताइन्छन् ।
नेपालमा हाल १२ वटा अस्पतालले मृगौला प्रत्यारोपणको अनुमति पाएकोमा पाँच अस्पतालले यो सेवा सुचारु गरिरहेका छन् । देशमा प्रत्यारोपणका लागि आवश्यक आधारभूत संरचना र विशेषज्ञ जनशक्ति पनि उपलब्ध भए पनि अझै प्रशिक्षण र स्रोत अभावका कारण केही चुनौतीहरू रहेका छन् ।
तर नेपालमा वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण सुरु भएको हो । हाल मानव अंग प्रत्यारोपण सेवामा केन्द्रित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले डायलसिस र प्रत्यारोपण सेवाको विस्तार गरिरहेको छ । केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गाैला प्रत्यारोपण गरिसकेको र ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको छ । नेपालमा मृगौला प्रत्यारोपण सफलता दर ९९ प्रतिशत रहेको छ, जसमा केन्द्रको योगदान नै अधिक छ । यसले नेपालमा प्रत्यारोपण सेवा निकै प्रभावकारी र विश्वासलायक छ भन्ने देखाउँछ ।
सामान्यतया मिर्गाैला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गाैलाले काम गर्ने गर्दछ । तर इम्युनोलोजिकल कठिनाइ, संक्रमणलगायत विविध समस्याले मिर्गाैला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण हुने गरेको बताइन्छ तर प्राविधिक कठिनाइहरू, दाताको अभाव, र पहिलो वा दोस्रो प्रत्यारोपणले बढाएको जोखिमका कारण विश्वव्यापीरूपमा तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्थालाई अत्यन्तै दुर्लभ मानिन्छ ।
तर केन्द्रले नेपालमा पहिलोपटक तेस्रो मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर नेपालका लागि एक ऐतिहासिक उपलब्धि हासिल गरेको हो । यसले जटिल चिकित्सकीय सेवामा नेपालमा अब्बल छ भन्ने पनि प्रमाणित भएको छ । यस्तो कामलाई प्रश्रय दिँदै आवश्यक सहयोगलाई बढाउँदै स्वास्थ्य क्षेत्रका समस्याहरूलाई निराकरण गर्दै जानुपर्छ ।
नेपालमा मृगौला प्रत्यारोपणको सफलताको मुख्य कारण उपलब्ध आधुनिक प्रविधि, अनुभवी चिकित्सक टोलीको निरन्तरको समर्पण हो । यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण छ, यसमा स्वास्थ्य क्षेत्रका सरोकारवाला निकायले गम्भीरताका साथ लिऊन् ।