काठमाडौं (संवाददाता) – दुई दिनको जेनजी आन्दोलनले मुलुकको राजनीतिक नक्सा नै बदलिदियो । सोमबार सुरु भएको विरोध मंगलबार साँझसम्म हिंसात्मक रूप लिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य मात्र भएनन्, ज्यान जोगाउन लुक्नु परेको छ । किन ओलीले परिस्थितिको संकेत बुझ्न ढिलाइ गरे ?
ओलीको अहंकारी र एकल निर्णय प्रवृत्तिले संकटलाई चर्काएको हो । उनी सधैं आफ्नो कठोर शैली र ‘आत्मविश्वासी’ छविका कारण चर्चित रहँदै आए । अघिल्लोपटक प्रधानमन्त्री हुँदा नाकाबन्दीका समयमा कठोर नेतृत्वका कारण लोकप्रिय बनेका ओली पछिल्लो समय आलोचनाको केन्द्र बने । कारण स्पष्ट छ – उनले जनताका चीत्कारलाई ‘सडकको हल्ला’ भन्दै बेवास्ता गरे । सत्ता मोहमा कांग्रेस उनको साझेदार भयो ।
आन्दोलन सुरु भएपछिको पहिलो प्रतिक्रिया पनि दमन थियो । ओलीले तत्काल कर्फ्यु लगाउन आदेश दिए र प्रहरीलाई कडा कारबाही गर्न निर्देशन दिए । सोमबार १९ युवाको मृत्यु भएपछि आन्दोलन चर्किँदै गर्दा पनि उनले सत्ता जोगाउन हिंसाको बाटो रोजे । यही अहंकार र परिस्थिति नबुझ्ने प्रवृत्तिले उनको पतनलाई छिटो बनायो ।
ओली आफ्नो कठोर बोलीका कारण ‘कडा नेता’को छवि बनाएका थिए । तर सोही छविले उनलाई मात्र घाटा गरेन, संघर्षको लामो इतिहास बोकेको कांग्रेस र सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादीलाई पनि ठूलो नोक्सान गर्यो । ओलीले नागरिक आक्रोशलाई समयमै बुझ्न सकेनन् । उनलाई न देउवाले बुझाए न त पुष्पकमल दाहालले ।
सामाजिक सञ्जालदेखि सडकसम्म उर्लिएको असन्तोषलाई गम्भीरतापूर्वक लिनुको सट्टा ओलीले ‘कर्फ्यु र गोली’लाई समाधान ठाने । प्रधानसेनापति अशोकराज सिग्देलले बालुवाटार पुगेर अवस्था नियन्त्रणबाहिर गएको जानकारी दिएपछि मात्र ओली पछि हटे । तर तबसम्म धेरै ढिलो भइसकेको थियो । सिंहदरबारदेखि राष्ट्रपति निवाससम्म जलेका संरचनाले ओलीको अहंकारको राजनीतिलाई खरानी बनाइदियो । अब मुलुक अस्थिर अवस्थामा छ ।
वर्षौं जोगाइएका संरचना ध्वस्त भएका छन् । कति नोक्सान भयो भन्ने लेखाजोखा नै छैन । देश भनेको भौतिक सम्पति होइन जनता हुन् भन्ने तथ्य स्थापित त भएको छ । यो संकटले एउटा पाठ सिकाएको छ – जनताको आवाजलाई बेवास्ता गर्ने नेतृत्व चाहे जति बलियो देखियोस्, अन्ततः सडककै अगाडि घुँडा टेक्न बाध्य हुन्छ ।