ममुन केसी, काठमाडौं, २५ साउन ।
मध्यबानेश्वरमा एउटा अनौठो र मनमोहक क्याफे सञ्चालनमा छ - क्याट क्याफे । बिरालो मन पराउनेका लागि यो स्थान केवल खानपानको गन्तव्यमात्र होइन, बरु ‘क्वालिटी टाइम’ बिताउने र मायालाग्दा पाल्तु जनावरहरूसँग नजिकिने अवसर हो ।
क्याट क्याफेको सुरुवात रोहन पाण्डे र आकृति श्रेष्ठले गरेका हुन् । यो दम्पतीले एक वर्षअघि झम्सिखेलमा सुरु गरेको क्याफे अहिले मध्यबानेश्वरमा सारिएको हो । क्याफेमा पर्सियन जातका १७ वटा आकर्षक बिराला छन्, जसका लागि खेल्ने, बस्ने र खाने छुट्टै स्थान बनाइएको छ । ग्राहकहरू बिरालोसँग खेल्दै खाजा खान सकून् भन्ने उद्देश्यले वातावरणलाई विशेष र आरामदायी बनाइएको छ ।
आगन्तुकले बिरालो राखिएको क्षेत्रमा प्रवेश गर्नुअघि केही नियमहरू पालना गर्नुपर्छ - आफ्ना जुत्ता खोलेर क्याफेमा राखिएका मेडिकेटेड जुत्ता लगाउने र हात सेनिटाइज गर्ने । यसले बाहिरी फोहोरबाट बिरालोमा रोग सर्ने सम्भावना घटाउँछ । प्रवेश शुल्क प्रतिव्यक्ति ५०० रुपैयाँ तोकिएको छ, जसमा एक प्लेट खाजा र एक बोतल कोल्ड ड्रिंक्स् निःशुल्क पाइन्छ । बिरालोलाई खाना खुवाउन चाहने ग्राहकहरूले त्यहीं बिक्रीमा राखिएका विशेष खाना पनि खरिद गर्न सक्छन् ।
बिरालो नभएको क्षेत्रमा भने बिना अतिरिक्त शुल्क सुलभ मूल्यमा खाना खान सकिन्छ । क्याफेमा अहिलेसम्म ग्राहकहरूको राम्रो प्रतिक्रिया आएको छ । आकृतिका भाइ आर्यन भन्छन्, ‘धेरै ग्राहकको फुटफल राम्रै छ । विशेषगरी युवायुवती र बालबालिकासहितका अभिभावकहरू नियमित रूपमा आउनुहुन्छ ।’ हाल आकृति दम्पती अष्ट्रेलियामा छन्, क्याफेको व्यवस्थापन आमा सुनिता लाकौल र भाइ आर्यनले हेरिरहेका छन् ।
यो क्याफे केवल मनोरञ्जनको स्थान मात्र नभई सामाजिक सन्देश दिने प्रयास पनि हो । नेपाली समाजमा बिरालोलाई अशुभ मान्ने अन्धविश्वास तोड्ने उद्देश्यले यसको सुरुवात गरिएको हो । आमा सुनिताको भनाइमा, ‘बिरालोलाई अलच्छिन ठान्ने गलत धारणा हटाउन र यसलाई माया र मित्रताको प्रतीकका रूपमा बुझाउन क्याफे खोलिएको हो ।’
क्याफेमा रहेका सबै बिरालो थाइल्यान्डबाट ल्याइएका हुन् । प्रत्येकको मूल्य ५० हजार रुपैयाँभन्दा माथि छ । बिरालोको स्याहारका लागि छुट्टै कर्मचारी राखिएको छ, जसको जिम्मेवारीमा खुवाउने, नुहाउने र स्वास्थ्य हेरचाह गर्ने काम पर्छ । बिरामी बिरालोलाई छुट्टै राखेर उपचार गर्ने व्यवस्था पनि छ ।
बिरालो प्रेमीहरूका लागि यो क्याफेमा अर्को विशेष सुविधा हो—बिरालो होस्टेल । यदि, मालिक लामो समयका लागि बाहिर जानुपर्ने भएमा यहाँ प्रतिदिन १५ सय रुपैयाँमा बिरालोलाई राख्न सकिन्छ । एकैपटक ६ वटा बिरालोलाई होस्टेल सेवा दिन सकिने व्यवस्था छ ।
हाल क्याफेमा १२ जनाले रोजगारी पाएका छन् । बिहान ७ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने क्याफेको मुख्य आम्दानी भने खानाका परिकारहरूको बिक्रीबाट हुन्छ । तर, ग्राहकलाई तान्ने प्रमुख आकर्षण भनेका खेलौनाजस्ता प्यारा बिरालोहरू नै हुन् ।