नेभिगेशन
अर्थतन्त्र

नेपाल उद्योग वाणिज्य महासंघद्वारा सल्लाहकारसहित परिषद् र विभिन्न समितिका सभापति मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सल्लाहकारसहित विभिन्न परिषद् तथा समितिका सभापतिहरू मनोनीत गरेको छ । सोमबार बसेको महासंघको दोस्रो कार्यकारिणी समितिको बैठकले महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ सदस्यहरूलाई सल्लाहकार र परिषद् नेतृत्वमा जिम्मेवारी दिँदै विभिन्न क्षेत्रगत समितिहरूको नेतृत्वसमेत पुनर्गठन गरेको हो । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा मनोनीत गरेका छन् । पूर्वअध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनयन गरिएको छ । त्यस्तै, उद्योग वाणिज्य परिषद्को सभापतिमा महासंघका जिल्लानगर क्षेत्रका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सहसभापतिमा सोही क्षेत्रका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठलाई मनोनीत गरिएको छ । वस्तुगत परिषद्को सभापतिमा वस्तुगत संघ समूहका उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा रोजगारदाता परिषद्को सभापतिमा एशोसिएट सदस्य समूहका उपाध्यक्ष प्रबलजंग पाण्डे मनोनीत भएका छन् । कृषि तथा उद्यमशीलता क्षेत्रलाई समेट्ने कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ । कर तथा राजस्व समितिको सभापतिमा अरनिको राजभण्डारी, उद्योग समितिमा उज्ज्वल श्रेष्ठ, व्यापार समितिमा नवीन रिजाल तथा महिला उद्यमी विकास समितिमा सुनिता नेमाफुकीलाई मनोनीत गरिएको महासंघले जनाएको छ । त्यसैगरी, सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा सुनैना घिमिरे, स्थल यातायात तथा पारवहन समितिको सभापतिमा लिलेन्द्र प्रसाद प्रधान, पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा संघर्ष विष्ट, बैंक, वित्तीय तथा बिमा समितिको सभापतिमा हेमन्त गोल्छा, निर्यात समितिको सभापतिमा होमप्रसाद घिमिरे तथा व्यापार मेला समितिको सभापतिमा सबिन श्रेष्ठ मनोनीत भएका छन् । सहरी विकास समितिको नेतृत्वमा विदुर धमला, स्वास्थ्य विज्ञान समितिको सभापतिमा विप्लव अधिकारी, सीप विकास तथा रोजगार समितिको सभापतिमा नानीराज घिमिरे, स्टार्टअप तथा इनोभेशन समितिको सभापतिमा सहारा जोशी, पुँजी बजार समितिको सभापतिमा प्रियराज रेग्मी, सामाजिक सेवा समितिको सभापतिमा राजकुमार कार्की र उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिमा रविन पुरीलाई जिम्मेवारी दिइएको छ । महासंघका अध्यक्ष श्रेष्ठले महासंघको विधानको दफा ३७ बमोजिम कार्यकारिणी समिति सदस्यहरूलाई विभिन्न परिषद् तथा समितिहरूको सभापतिमा मनोनयन गरिएको बताए । उनले मनोनीत पदाधिकारीहरूले महासंघको छवि र प्रतिष्ठालाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । महासंघले यी मनोनयनमार्फत निजी क्षेत्रको नेतृत्वलाई थप प्रभावकारी, समन्वयात्मक र विषयगत रूपमा सबल बनाउने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्