नेभिगेशन
अर्थतन्त्र

नेप्से सामान्य अंकले घट्दा साढे ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्ला दिनहरूको तुलनामा बजारमा केही बिक्री दबाब देखिए पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि कायम रहँदा लगानीकर्ताको सक्रियता अझै बलियो रहेको देखिएको हो । सोमबार नेप्से परिसूचक १.४६ अंक अर्थात् ०.०५ प्रतिशतले घटेर २ हजार ७००.६५ विन्दुमा झरेको छ । दिनभर बजार उतारचढावपूर्ण रहे पनि अन्त्यमा सामान्य गिरावटसहित बन्द भएको छ । बजारमा घट्ने कम्पनीको संख्या बढ्ने कम्पनीको तुलनामा बढी रहेकाले परिसूचक दबाबमा परेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । सोमबार ३५३ कम्पनीका ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँभन्दा बढी पुगेको छ । कुल ९० हजार ८६२ पटक कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएका कम्पनीमध्ये ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
सोमबार पनि २ जलविद्युत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारका क्रममा टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भर्खरै नेप्सेमा सूचीकृति भई कारोबार सुरु भएको यो कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो । सोमबार यो कम्पनीको सेयर मूल्य १५ प्रतिशतले अर्थात ४५ रुपैयाँ बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको छ । यस्तै, याम्लिङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै कित्तामा ४५ रुपैयाँ बढेर ३४५ रुपैयाँ नै पुगेको छ । 
त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य कित्तामा ६० रुपैयाँ अर्थात् ७.३२ प्रतिशतले बढेर ८७९.९० रुपैयाँ पुगेको छ । सोपान फार्मास्युटिकल्स लिमिटेड सेयर मूल्य ५.६६ प्रतिशतले बढेर १ हजार १२० रुपैयाँ कायम भएको छ भने एपोलो हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.२६ प्रतिशतले बढेर ९६४ रुपैयाँ २० पैसामा पुगेको छ । यी कम्पनीहरू दिनभर लगानीकर्ताको विशेष रोजाइमा परेका थिए । कारोबार रकमका आधारमा भने सोपान फार्मास्युटिकल्स लिमिटेड अग्रस्थानमा रह्यो । कम्पनीको ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्ला केही सातादेखि यो कम्पनी लगातार उच्च कारोबार हुने कम्पनीको सूचीमा रहँदै आएको छ । दोस्रो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी रह्यो । यो कम्पनीको ३० करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंक डिबेन्चर २०८५ को २८ करोड ९१ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २० करोड ४३ लाख रुपैयाँ तथा आँखुखोला जलविद्युत् कम्पनीको १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोकारको यो तथ्यांकले जलविद्युत्, लघुवित्त, ऋणपत्र तथा उत्पादनमूलक क्षेत्रका कम्पनीमा समेत लगानीकर्ताको चासो कायम रहेको देखाएको छ । सेयर बजार पूँजीकरणको आकार भने अझै उच्च स्तरमै कायम रहेको छ । सोमबार कुल बजार पूँजीकरण ४६ खर्ब १४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने फ्लोट बजार पूँजीकरण १५ खर्ब ५१ अर्ब ९७ करोड रुपैयाँ रहेको नेप्सेले जनाएके छ । यसले नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र मूल्य अझै बलियो अवस्थामा रहेको संकेत गरेको छ ।
विश्लेषकहरूका अनुसार सेयर बजार २ हजार ७०० विन्दुको मनोवैज्ञानिक तह वरिपरि घुमिरहेको अवस्थामा लगानीकर्ताहरू नाफा सुरक्षित गर्ने र नयाँ लगानीको अवसर खोज्ने रणनीतिमा देखिएका छन् । यही कारण परिसूचकमा ठूलो उतारचढाव नदेखिए पनि कारोबार रकम उच्च रहन सकेको हो । बैंकिङ प्रणालीमा पर्याप्त तरलता, घट्दो ब्याजदर र लगानीयोग्य रकमको उपलब्धताले सेयर बजारलाई समर्थन गरिरहेको उनीहरूको भनाइ छ । पछिल्ला केही सातादेखि बजारले २ हजार ७०० विन्दुको वरिपरि आधार बनाउने प्रयास गरिरहेको छ । आगामी दिनमा सूचीकृत कम्पनीहरूको चौथो त्रैमासिक वित्तीय विवरण, लाभांश सम्बन्धी अपेक्षा तथा मौद्रिक नीतिप्रतिको लगानीकर्ताको धारणा बजारको दिशानिर्धारणका प्रमुख आधार बन्न सक्ने विश्लेषण गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्