नेभिगेशन
अर्थतन्त्र

एलसी खोली प्रक्रिया अघि बढाएका सार्वजनिक सवारीसाधन दर्ता नरोकिने

काठमाडौं । सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गरिएको विषयमा आवश्यक प्रक्रिया पूरा गरिसकेका सवारीसाधनको दर्ता प्रक्रिया नरोकिने भएको छ । यातायात व्यवस्था विभागले प्रक्रियामा रहेका सवारीसाधनको नयाँ दर्ता नरोकिने स्पष्ट पारेको हो ।
विभागले सम्बन्धित मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारीसाधन दर्तासम्बन्धी व्यवस्था स्पष्ट गरेको हो । विभागका अनुसार यसअघि सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने निर्णय भए पनि त्यसअघि नै प्रतितपत्र (एलसी) खोलेर आयात प्रक्रिया अघि बढाएका सवारीसाधनलाई भने दर्ताबाट वञ्चित नगरिने भएको छ । यातायात व्यवस्था विभागले जारी गरेको पत्रमा सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सम्बन्धमा यसअघि जारी गरिएको निर्णयप्रति ध्यानाकर्षण गराउँदै विशेष परिस्थितिमा आयात प्रक्रिया अघि बढिसकेका सवारीसाधनका लागि सहजीकरण गरिएको उल्लेख छ । विभागका अनुसार २०८३ असार ५ गते वा सोभन्दा अगाडि प्रतितपत्र (एलसी) खोलिसकेका तथा सोही आधारमा सार्वजनिक सवारीसाधन नेपाल भिœयाउने प्रक्रिया अघि बढाएका आयातकर्तालाई दर्ता प्रक्रियामा अवरोध नपर्ने व्यवस्था गरिएको हो । त्यस्तै, उक्त मितिभन्दा अगाडि एलसी खोलिएको र सवारीसाधन नेपाल भित्रिइसकेको अवस्थामा आवश्यक कागजातका आधारमा दर्ता गर्न सकिने विभागले जनाएको छ । विभागले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने निर्णय कार्यान्वयन भइरहे पनि व्यवसायी तथा आयातकर्ताले यसअघि नै गरेको लगानी र कानुनी प्रक्रिया प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ । यसबाट एलसी खोली आयात प्रक्रिया अघि बढाएका व्यवसायीले राहत पाउने अपेक्षा गरिएको छ । विभागले सम्बन्धित निकायलाई पत्रमार्फत आवश्यक कागजात परीक्षण गरी मापदण्ड पूरा गरेका सवारीसाधनको दर्ता प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । उक्त पत्र कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई पठाइएको छ । सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्ने निर्णयपछि व्यवसायीहरू अन्योलमा परिरहेका बेला विभागको पछिल्लो स्पष्टीकरणले आयातकर्तालाई केही राहत मिल्ने देखिएको छ । विशेषगरी दर्ता रोक्का हुनुअघि नै एलसी खोलिसकेका र सवारीसाधन आयात प्रक्रियामा रहेका व्यवसायीले अब आवश्यक कागजातका आधारमा दर्ता प्रक्रिया पूरा गर्न सक्ने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्