नेभिगेशन
साहित्य

आत्मखोज र अन्तरपुस्ता सम्बन्धको कथा

ऋषिराम धमलाकृत ‘क्यारिन’ उपन्यासले प्रारम्भमा पाठकलाई अन्योलमा पार्छ । कथा कुनै स्पष्ट ढाँचाबाट नभई रहस्यमय तवरमा अघि बढ्छ । कथाले प्रष्ट गन्तव्य नदे खाए पनि त्यही अनिश्चिततामै पाठक जिज्ञासा गहिरिँदै जान्छ । कथाले लय समात्दै जाँदा पाठक भावनात्मक यात्रा डुबेर अन्त्यसम्म तैरि न पुग्छ ।

‘क्यारिन’ प्रेम, त्याग र पीडाको संवेदनशील चित्रण हो । पात्रहरू बेल्जियमदेखि हल्यान्डको पार्कसम्म, त्यहाँबाट काठमाडौं र अन्तिममा पोखरासम्म पुग्छन् । यो यात्रामा हुने प्रेम, विछोड र पुनर्मिलनको बहुआयामिक कडी पत्र पत्र बनेर बग्दै आउँछ । वीरेन्द्र र ऐश्वर्यबीचको प्रेम निर्मल छ, तर नियति र सामाजिक पूर्वाग्रह बाधक बन्छ । 

झुटा आरोपमा जेल पर्न बाध्य वीरेन्द्रको अनुपस्थितिमा ऐश्वर्यले समाजिक दबाबका बीच मातृत्व स्वीकार्दै क्यारिनलाई जन्म दिन्छिन् । मेटाफिक्सनको झल्को दिनेगरी अर्को कथा सुरु हुँदा १९ वर्षीया क्यारिनले खनमा रमाइरहेकी हुन्छिन् । उनले काका महेन्द्रको सहयोगमा भेटिएको डायरी पल्टाउँदा आफ्ना बुबाआमा र तिनका विगतका प्रेमकथा थाहा पाउँछिन् । अनि कथाक्रम युरोपमा पुग्छ । यसरी उपन्यासले दुई पुस्ताको दृष्टिकोणलाई एउटै सूत्रमा गाँस्छ ।

उपन्यासको लेखनशैली वर्णनात्मक छ । यद्यपि, कतिपय स्थानमा अत्यधिक वर्णनले कथाको प्रवाहमा शिथिलता ल्याउँछ । पात्रहरूको क्रमिक विकास, भावनात्मक गहिराइ र पुनर्मिलनको सशक्त चित्रण भने पाइन्छ । ‘क्यारिन’ केवल प्रेमकथा मात्र होइन, यो त्याग, सामाजिक पूर्वाग्रह र समयको उपचारात्मक शक्तिको दार्शनिक कथन हो । यसले पाठकलाई सम्झाउँछ, ‘सत्य ढिलो भए पनि अन्ततः प्रकट हुन्छ ।’ वियोग भए पनि पुनर्मिलनको आशा कहिल्यै मर्दैन ।

‘क्यारिन’ आत्मखोज, अन्तरपुस्ता सम्बन्ध र महिला चेतनाको दस्तावेज हो । ऐश्वर्यको निस्वार्थ मातृत्व, वीरेन्द्रको मौन संघर्ष, र क्यारिनको विगत खोज्ने जिज्ञासाले उपन्यासलाई बहुआयामिक बनाएको छ । उपन्यास पढ्दा केवल मनोरञ्जन हुँदैन, जीवनको गहिरो अनुभूति जाग्छ । विशेषगरी युवापुस्ताका लागि ‘क्यारिन’ विगत बुझ्दै भविष्य लेख्ने प्रेरणादायी कृति बन्न सक्छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्