नेभिगेशन
अर्थतन्त्र

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन आज

काठमाडौं । देशकै पहिलो बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारबाट सञ्चालनमा आउने भएको छ । निर्माण सुरु भएको ८० महिनापछि औपचारिकरूपमा उद्घाटन गरी यो सुरुङमार्ग सञ्चालनमा ल्याउन लागिएको हो । सुरुङमार्गको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल तथा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोले संयुक्तरूपमा गर्ने कार्यक्रम छ । 
सुरुङमार्ग उद्घाटन भए पनि पूर्णरुपमा सञ्चालनमा आउन अझै तीन महिना लाग्न सक्ने आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले बताए । उनका अनुसार उद्घाटनपछि पहिलो चरणमा यो सुरुङमार्गबाट दमकल, एम्बुलेन्स, सुरक्षा निकाय  लगायतका अत्यावश्यक सवारीसाधनलाई मात्रै प्रवेशको अनुमति दिइनेछ । 
‘सोमबारबाट नै सबै सवारीसाधनलाई प्रवेश दिने भन्ने हुँदैन,’ उनले भने, ‘एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनको आवागमनलाई पहिलो चरणमा राखिएको छ । अत्यावश्यक सवारीसाधनपछि क्रमशः सार्वजनिक तथा निजी सवारी आवागमनलाई पनि गर्ने खुल्ला गर्ने योजना छ ।’ 
दोस्रो चरणमा सार्वजनिक यातायातलाई सुरुङमार्ग प्रवेशको अनुमति दिइनेछ । अत्यावश्यक सवारीसाधनलाई सुरुङमार्ग उपयोगको अनुमति दिएको दुई सातासम्ममा सार्वजनिक सवारीसाधनलाई  पनि अनुमति दिन सकिने पन्थीले बताए । 
सुरुङमार्ग सञ्चालनका लागि कर्मचारीलाई आवश्यक प्राविधिक प्रशिक्षण दिने काम भइसकेको छ । अब सुरक्षा निकाय, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिसहित संयुक्त ‘मक ड्रिल’ सञ्चालन गर्न बाँकी रहेको पन्थीले बताए । यो अभ्यास सम्पन्न भएपछि अन्य सवारीसाधनलाई पनि क्रमिकरूपमा प्रवेशको अनुमति दिइने आयोजनाले जनाएको छ ।
सार्वजनिक यातायातपछि तेस्रो चरणमा निजी सवारीसाधनले सुरुङमार्गबाट आवागमन गर्न अनुमति पाउने छन् । ‘विभिन्न चरणमा गरी सबै प्रकारका चार पाङ्ग्रे सवारीसाधनलाई सुरुङमार्गबाट आवागमन गर्न दिने योजना छ । मक ड्रिलपछि ट्राफिक व्यवस्थापन, चालकको व्यवहार, ट्राफिक नियमको पालना तथा दुर्घटनाको जोखिमको अवस्थालाई मूल्यांकन गरेर ट्राफिक व्यवस्थापन सहज र सुरक्षित देखिएमा प्राइभेट गाडीलाई सुरुङमार्गबाट आवागमन गर्ने अनुमति दिन सकिन्छ,’ उनले भने । नियम उल्लंघन वा दुर्घटनाको जोखिम उच्च देखिएमा भने सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनका लागि सुरुङमार्गबाट प्रवेशको अनुमति दिने समयावधि केही लम्बिन सक्ने पनि उनले बताए । 
सुरुङमार्ग निर्माणको मुख्य काम सबै सम्पन्न भइसकेको छ । वर्षायामका कारण केही सामान्य काम मात्र बाँकी रहेको भए पनि त्यसले सञ्चालनमा कुनै प्रभाव नपार्ने आयोजनाले जनाएको छ । निर्माण कम्पनीले करिब दुई महिनाअघि नै आयोजना औपचारिक रूपमा आयोजनालाई हस्तान्तरण गरिसकेको छ । आयोजनाले पनि व्यवसायिक सञ्चालनको ठेक्का पाएको कम्पनीलाई सुरुङमार्ग हस्तान्तरण गरिसकेको छ ।  सुरुङमार्ग सञ्चालनका लागि चीनको चोङकिङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट र नेपालको एआरटी कन्स्ट्रक्सन जेभीलाई सेवा प्रदायक कम्पनीका रूपमा छनोट गरेको हो । यो कम्पनीले सुरुङमार्गको सेवा प्रदायकका रूपमा काम गर्न वार्षिक १ अर्ब १० करोड ४० लाख ३७ हजार ८०० रुपैयाँमा ठेक्का पाएको छ । 
भिन्नाभिन्नै शुल्क 
सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि छुट्टा छुट्टै शुल्क तोकिएको छ । जसअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनी बस, ट्रक र टिप्परका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ । बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ भने ठूला ट्रक तथा हेभी सवारीका लागि प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका २०८१ चैत २५ मै जारी भइसकेको छ । यो निर्देशिकाअनुसार सुरुङमार्गबाट पैदलयात्री, दुईपांग्रे (मोटरसाइकल), तीनपांग्रे र नन–मोटोराइज्ड सवारीलाई सुरुङमार्ग भएर यात्रा गर्न निषेध गरिएको छ । त्यस्तै, अत्यधिक प्रज्वलनशील पदार्थ (पेट्रोल, डिजेल, ग्यास) र विस्फोटक पदार्थ बोकेका सवारीले पनि सुरुङमार्गमा प्रवेश पाउने छैनन् । 
आयोजनाअन्तर्गत मुख्य र रेस्क्यु गरी दुईवटा सुरुङमार्ग निर्माण गरिएको छ । धादिङको सिस्नेरीबाट सुरु भई काठमाडौंको नागढुंगामा निस्कने मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ । यो सुरुङ २०८१ वैशाख ३ मा खनेर सकिएको थियो । 
लागत बढेर साढे २४ अर्ब पुग्यो
सुरुङमार्ग निर्माण गर्न १६ अर्ब रुपैयाँ लागत अनुमति गरिएको थियो । यो लागत मूल्यवृद्धि बाहेकको थियो । निर्माण अवधि लम्बिँदै जाँदा साढे २ अर्ब रुपैयाँ मूल्यवृद्धिको रकम थपिएको थियो । सबै जोड्दा सुरुङमार्गको संरचना निर्माणका लागि मात्रै साढे १८ अर्ब रुपैयाँ खर्च भएको पन्थीले बताए । यसबाहेक ६ अर्ब रुपैयाँ सुरुङमार्गको जग्गा अधिग्रहण तथा क्षतिपूर्तिमा खर्च भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्